केन्द्रीय संस्करण

गोबरगाढाबासीको कष्टकर दैनिकी

person access_timeसाउन ६, २०७५ chat_bubble_outline0

गोबरगाढाबासीको दैनिकी  निकै कष्टकर छ ।   जानीजानी मृत्युलाई ढुकेर बस्नु कसलाई पो रहर हुन्छ र ? कतिबेला मृत्युले डाक्ने हो थाहा छैन । सारा बस्तीका मान्छे मृत्युलाई हत्केलामा राखेर जाग्राम बाँचिरहेका छन् । गाउँलेहरू भन्छन्– “जानीजानी मृत्यु रोज्नु रहर होइन, हाम्रो बाध्यता हो । यो त हाम्रो पाँच पुस्तादेखिको कर्म हो । यसरी नै हाम्रा पुर्खाहरूको जीवन वितेको छ । हाम्रो पनि जीवन त्यसरी नै वित्नु स्वभाविक हो ।” यो सप्तरीको तत्कालीन गोबरगाढा गाविस हाल हनुमाननगर कङ्कालनी नगरपालिका–१३  को वृत्तान्त हो ।

यो बस्तीलाई चारैतिर सप्तकोशी नदीले घेरेको छ । अविरल वर्षाका करण यतिबेला पूरै बस्ती जलमग्न मात्र होइन, सिङ्गो बस्तीमा कोशी बगिरहेको छ । दैनिक जीवन बाँच्न कठिन छ । सुख्खा चिउरा, मुरही र नुनको भरमा चार महिना बाँच्नुपर्छ । त्यसको जोहो पनि पहिले नै गर्नुपर्छ । कयौँ दिन भोकभोकै बाँच्नुपर्छ । बस्तीमा अथाह कोशीको बहावले शाैचालय  जाँदा र ओल्लो घर पल्लोघर ओहोरदोहोर गर्दा पनि डुङ्गाकै सहारा लिनुपर्छ । अहिले यहाँ कुनै बाह्य मान्छेको आवतजावत छैन । न त कहीँकतैबाट कुनै राहतको आशा छ ।

धेरै मान्छेलाई पत्याउन गारो छ– मधेशमा पनि पहाडको भन्दा विकट र दुर्गम ठाउँछ भनेर तर कुरा सत्य हो । कुनै बनावटी कुरा होइन । यहाँ विकट र दुर्गम पहाडको जस्तै नरकीय जीवन छ । नजिकको बजार हनुमाननगर बजार हो । कुनै सामान किनमेल गर्न यही बजार आउनुपर्छ । हनुमाननगर आउजाउ गर्नुपर्दा डुङ्गामै सिङ्गो दिन खर्चिनुपर्छ । यतिबेला गोबरगाढाको दृश्य दर्दनाक छ । यहाँका नागरिक पेटभरी खान पाउँदैन् । ससाना लालाबाला भोकले चिच्याइ रहन्छन् । बुबाआमाले भने इच्छा पूरा गर्न सक्दैनन् । बरू बाढीको जोखिमबाट जोगिन उनीहरू विभिन्न उपायको खोजीमा व्यस्त देखिन्छन् । बाढीको त्रासले सुत्न पनि पाउँदैनन् । 

गोबरगाढामा पानी परे पनि नपरे पनि पहाडमा वर्षिरहने हुँदा बेलुकातिर सधैँ बस्तीमा बाढीको चाप हुन्छ । सुनसान रातमा खलखल पानीको आवाज आइरहन्छन् । राति बाढीको आवाजबाटै खतरा हुन्छ वा हुँदैन, ठम्याउने गर्छन् । सोही अनुसारको ज्यान सुरक्षाको निर्धारण सबैले गर्छन् । कहिलेकाहीँ  दिउँसो बाढी पनि सुस्ताउँछ । दिनभर जे–जस्तो भए पनि राति बस्तीमा कोही चिच्यायो कि मान्छे बग्यो बुझे हुन्छ । तर अहिलेसम्म त्यस्तो मानवीय क्षति भएको छैन ।  पानी परे वा  नपरे पनि पहाड वर्षिरहने हुँदा बाढीलाई ठम्याउनै गारो हुन्छ ।

बाढी घटेपछि बस्तीका मान्छेहरू हिलोमा त्रिपाल विछ्याएर परिवारका साथ दिन गुजार्ने गर्छन् । ससाना नानीहरू काखीमा च्यापेर हिलोमा विछ्याएको  त्रिपालमै सुत्ने गर्छन् । जुन दिन धेरै बाढीको सङ्केत पाउँछन्, त्यो दिन केही ठूला र मजबुत रूखको टुप्पोमा बनाएको बाँसको कप्टेरा र प्लास्टिकको छाप्रोमा गएर बाँच्ने गर्छन् । सुख्खा चिउरा, भुजा र नुन साथमै बोक्नुपर्छ । जहाँ सहज हुन्छ, त्यहीँ खानुपर्छ । नानीहरूलाई पनि काखीमा च्यापेर खुवाउनुपर्छ । पानी वर्षियो कि पहिला नै ठाउँ चेन्ज गरिहाल्नुपर्छ, नत्र बग्ने खतरा हुन्छ । जसरी विगतमा पुर्खाहरूले बाढीमा बगेर ज्यान गुमाए, अहिले त्यसरी बगेका छैनन् । पहिलाभन्दा अहिले एकता र सचेतता धेरै छ । हामी जोखिम आइपरेको खण्डमा सारा बस्ती एकजुट भएर सुरक्षित गन्तव्यतिर सरेर पनि जान्छौँ, वडाध्यक्ष विन्देश्वरी यादवले बताए । 

डुङ्गा नै यतिबेला गोबरगाडाबासीको बाँच्ने आधार हो । तर गाउँमा डुङ्गा पनि प्रयाप्त छैन । सय घर बढी रहेको मुसहरी टोलमा छिरेपछि खलल बाढी बगिरहेको थियो । एक जना महिला रुँदै गरेको सुनेपछि हामी डुङ्गा लिएर त्यो झुपडीमा पुग्यौँ । बाँसको टाँरमाथि बसेर घरभित्रै रोइरहेकी थिइन् । टाँड मुन्तिरबाट बाढी बगिरहेको थियो । उनी थिइन् शान्तिदेवी सदाय । 'हिजो योभन्दा ठूलो बाढी थियो । प्रशासनलाई फोन गरेर सहारा माग्यौँ, आउनै मानेनन् । यस्तो बाढीमा कसरी आउने भने ।  हामीलाई नै जसो त्यसो हनुमाननगर आउनु भनुभयो । हामी आउँछौँ, डुङ्गा पठाइदिनु भनेको डुङ्गा पनि पठाइदिनु भएन् । अनि हामी कसरी जान्छौँ ? हरियालाई भनेर डुङ्गा मगाएँ, बल्लतल्ल हामी जोगियौँ र नानीहरूलाई पनि जोगायौँ ।' शान्तिले आँशु बगाउँदै भनिन् ।

'कतै सरकारले जीवन बाँच्ने एक चक्ला जमिन दिए हामी यहाँ बस्दैनौँ  । हाम्रो चार पुस्ता यही ठाउँमा वितेको छ तर एक धुर जमिन नम्बरी छैन । सिङ्गो गोबरगाढा ऐलानीमा छ । हामी मुसहरहरूको जीवन बाँच्ने मुख्य आधार बाढीबाट काठ दाउरा छानेर हनुमाननगरमा बजारमा बेच्छौँ । उताबाट फर्किंदा दाल, चामल र तरकारी लिए फर्किन्छौँ । यसरी हाम्रो  दैनिक गुजारा टार्ने गर्छौं तर चार महिना वर्षातमा बाँच्नै मुस्किल हुन्छ ।' अर्की महिला प्रमेश्वरी देवी सदायले भनिन् । 

वडाध्यक्षको अत्तोपत्तो छैन । कुनै राहतको सामग्री आए, टाठाबाठाहरूले नै हत्याउँछन् । गरिबको घरसम्म पुग्दैन् । पीडितहरूको जीवन जस्ताको त्यस्तै रहिरहन्छ । विकासको कामको त कुरै नगरौँ । रोडमा माटो हालेको थियो, त्यो पनि बाढीले लगिहाल्यो ।  भारतीय बोडरमा यो बस्ती छ । नेपाली कमजोर छन् । यहाँ कतिपय मान्छे भारतीय छन् । दुवैतिरका सरकारबाट राहत लिने प्रमाण बनाएर बसेको छ । मतदाता अनुसारको मान्छे बस्तीमा छैन । बाजेहरूको पालामा कोशी धार निकै पूर्वमा थियो । गोबरगाढालाई कुनै असर थिएन । आठ दश वर्षदेखि कोशी बाढी बस्तीमा छिरेर हायलकायल भएको पूर्ववडाध्यक्ष रामचरण यादवले बताए ।

गोबरगाढाको दिनचर्या  दुखद् छ । यो बस्तीमा मुख्यतः यादव, मुसहर, मलाह, मण्डल जातिको बसोवास छ । यहाँ स्कुल छ तर स्कुलमा तीन शिक्षक मात्र छन् । स्वास्थ्य चौकी छ तर स्वास्थ्यकर्मी छैनन् । वडा कार्यालय छ तर सरकारी कर्मचारी छैनन् । यतिबेला सबैतिर जलमग्न छ । यो बस्तीमा कोही आउन मान्दैन । खेतीपाती पनि बाढीले नै बगाउँछ । बाली बगाएपछि मिहिनेतको कुनै उपलब्धि देखिँदैन । यहाँ गाईभौंसी पालेर दूध बेच्ने जीवन बाँच्ने आम्दानीको ठूलो स्रोत छ । केही युवा वैदेशिक रोजगारीमा पनि छन् । कोही कोशीनदीबाट काठ, दाउरा र  माछाबाट आमदानी गर्छन् र जीवन पाल्छन् । जीवन यसरी नै चलिरहेकाे छ । गाउँघरमा स्थानीय सरकार बनिसक्दा पनि नागरिक अझै यस्तो प्राकृतिक जोखिममा बाँच्नु दुखद् कुरा हो । गोबरगाढाका जनता पनि देशका नागरिक हुन् भने नागरिकको सरह व्यवहार होस् । 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ