शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीले एजेन्डा प्राथमिकीकरण गर्न नसकेका कि प्रमुख मुद्दाहरूलाई बेवास्ता गरेका ?

आइतबार, ०६ साउन २०७५, १३ : ०९
आइतबार, ०६ साउन २०७५

काठमाडौं– चिकित्सा शिक्षामा सुधारको माग गर्दै २२ दिनदेखि अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसीको विषयलाई लिएर शनिबार दिनभर तनाव भयो । 

माइतीघर, बानेश्वर र शिक्षण अस्पताल परिसरमा तनाव मात्र थियो ।

देशकै सबैभन्दा जटिल मुद्दा रहेको गोविन्द केसीको अनशनको विषयलाई लिएर नागरिकको टाउको फुटिरहँदा प्रधानमन्त्री केपी शर्मा ओली भने सामान्य कार्यक्रममा सहभागी भए । 

शनिबार दिनभर तनाव भइरहँदा प्रधानमन्त्री ओली आदित्य दाहालको कार्यक्रममा उपस्थित थिए ।

आदित्य संरक्षण प्रतिष्ठानले आयोजना गरेको ‘कलियुगको आदित्य ज्योतिषपथ’ नामक पुस्तकको विमोचन गर्न प्रधानमन्त्री ओलीले लामो समय खर्च गरे ।

कार्यक्रममै ओलीले आदित्यको विषयलाई लिएर भाषण पनि गर्न भ्याए । 

प्रधानमन्त्री ओली मात्रै होइन, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सोही कार्यक्रममा उपस्थित थिए । 

उनले पनि आदित्यको क्षमताको प्रशंशामा समय खर्च गरे । तर यी दुवै नेताले गोविन्द केसीको अनशनको विषयमा चाहिँ केही बोलेनन् । 

शनिबार जुन बाटो भएर प्रधानमन्त्री र नेकपाका अध्यक्ष आदित्य दाहालको कार्यक्रममा गए, त्यही बाटोमा फोहोरको थुप्रो थियो ।

२ साताभन्दा लामो समयदेखि उपत्यकाको फोहोर राम्ररी उठ्न सकेको छैन । 

ओखरपौवास्थित सिसडोलमा गएको पहिरो तथा निरन्तर वर्षाका कारण गाडी जान नपाएपछि त्यहाँ फोहोर फाल्न सकिएको छैन ।

बिहीबार र शुक्रबार केही फोहोर उठे पनि सबै फोहोर उठ्न सकेको छैन । 

अबको ६ महिनापछि सिसडोल ल्यान्डफिल साइट भरिँदै छ । त्यसपछि फोहोर फाल्ने स्थान पनि हुनैछेन र स्थिति थप भयावह बन्दै छ ।

तर प्रधानमन्त्री ओलीलाई यो कुराको पनि कुनै चिन्ता छैन । 

देशमा दिनभर के–के भयो, केही वास्ता नगरी प्रधानमन्त्री ओलीले शनिबार साँझ भारतीय कलाकारको टोलीसँग भने भेटघाट गरेका छन् । 

प्रधानमन्त्री ओलीले एस्सेल ग्रुपका प्रमुख जी इन्टरटेनमेन्ट इन्टरप्राइजका अध्यक्ष सुवास चन्द्रा, भारतीय राजनीतिज्ञ अमर सिंह तथा सिने कलाकार जया प्रदासँग भेट गरे ।

नेपालमा फिल्म सिटी बनाउन तत्पर रहेको भन्दै यी कलाकार र व्यापारीको टोलीलाई प्रधानमन्त्रीले लामै समय दिए ।

तर प्रधानमन्त्रीको प्राथमिकता के कस्ता कार्यक्रममा हुनुपर्ने हो ? यसको प्राथमिकीकरण कसले गर्ने गरेको छ ? गोविन्द केसी जीवन र मरणको अवस्थामा छन् ।

गोविन्द केसीकै विषयलाई लिएर आन्दोनलले हिंसात्मक रूप लिँदै गएको छ । 

राजधानी सहर फोहोरको कारण पूरै दुर्गन्धित छ । ६ महिनापछि सिसडोल पूरै भरिएर फोहोर फाल्ने स्थानको अभाव हुँदै छ ।

प्रधानमन्त्री वा प्रधानमन्त्री कार्यालयले कार्यक्रम वा एजेन्डाको प्राथमिकीकरण गर्न नसकेको कि प्रमुख मुद्दाहरूलाई बेवास्ता गरेको ?

६ महिनामा भरिँदैछ सिसडोल, अनि के गर्ने ?

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप