शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जुम्लाबाट काठमाडौँ आयो तनाव तर अझै भेटिएन समाधानको सूत्र

आइतबार, ०६ साउन २०७५, १२ : ३९
आइतबार, ०६ साउन २०७५

काठमाडौँ– राष्ट्रिय चिकित्सा शिक्षा विधेयक फिर्ताको मागसहित डा. गोविन्द केसीले जुम्लाबाट थालेको अनशन काठमाडौँमा सरेको छ । डा. केसीलाई सरकारले अनशनको २०औं दिनमा काठमाडौँ त ल्याउन सफल भयो तर समस्या ज्युँकात्युँ छ । 

समस्या साँघुरिनुको साटो बेलुन फुलेझैँ बरु फराकिलो बनाइँदैछ, बन्दैछ । अनशनस्थल फेरिए पनि समस्या समाधानमा दुवै पक्षका माग र अडान फेरिएका छैनन् । 
बरु संसदबाट समस्याको समाधान खोज्ने सरकारी अधिकारीहरूको भनाइ रहे पनि यसलाई छल्न लामो समय संसद स्थगित गरिएको छ । 

‘अडानमा आएन परिवर्तन’
डा. केसीलाई काठमाडौँ ल्याएपछि समस्या समाधानतर्फ जान्छ भन्ने धेरैको अनुमान थियो । तर डा. केसी जुम्लाबाट काठमाडाैं आएसँगै समस्या घट्नुको साटो बढ्दै गयो । समस्या बढेपछि तनाव बढ्नु स्वभाविक थियो । 

फरक यति हो– जुम्लाको तनाव काठमाडौँमा सर्यो । केसी र सरकारका कारण जुम्लामा २० दिनसम्म भएको तनाव फराकिलो र झाँगिँदै पनि गयो । 

उनको मागमा प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेससँगै अरू केही साना दल र नागरिक समाजले समेत पूर्णसाथ दिन थाले । 

माइतीघर र बानेश्वर हुँदै आन्दोलनकारीले वसन्तपुरलाई समेत असन्तुष्टि व्यक्त गर्ने स्थान बनाए ।  

पहिला डा. केसीको स्वास्थ्य त्यसपछि वार्ता र छलफलको नीति लिएको सरकार र केसीबीच उनी काठमाडाैं आएको चार दिन हुन लाग्दा पनि सार्थक वार्ताको पहल हुन सकेको छैन । बरु कसले कसलाई गलाउने भन्नेमा दुवैपक्ष अडिग देखिन्छन् । 

माग पूरा नभएसम्म सत्याग्रह नछोड्ने केसीको अडान र यसअघि देउवा सरकारका पालामा ल्याइएको चिकित्सा शिक्षा अध्यादेश परिमार्जनसहित संसदमा दर्ता भएको विधेयक फिर्ता गर्नै नमिल्ने सरकारी हठ परिवर्तन नभएसम्म अनशनका जति दिन बिते पनि समस्या जहाँको त्यही रहने निश्चित छ । 

केसी बलिया, सरकार निरिह
डा. केसी कुनै राजनीतक पार्टीका कार्यकर्ता होइनन्, केवल उनी एकजना व्यक्ति हुन् । तर, उनको पक्षमा देखिएको मास र सहभागीहरूको अनुहारले गर्दा केसीको स्वास्थ्य कमजोर बन्दै गए पनि उनको पक्षमा नैतिक समर्थन थपिँदै गएको छ । 

केसीमा बढेको नैतिक बलले गर्दा सरकारप्रतिको भरोस कमजोर हुँदै गएको छ । डा. केसीका सबै माग नाजायज छैनन् भन्ने धेरैले आत्मासात गरिरहेका छन् । अरू त अरू सरकार स्वयम्ले पनि उनका माग सम्बोधन गर्न आयोग गठन गर्ने कुरामा विमति राखेको छैन । 

केसी प्रकरणले राजनीतिमा  ध्रुवीकरण 
अहिले मुलुकमा कम्युनिस्टहरूको प्रष्ट बहुमतको सरकार छ । समर्थनकै हिसाबमा भन्ने हो भने सङ्घीय समाजवादीसमेत जोड्दा प्रष्ट दुई तिहाईको सरकार छ । 

यस्तो बेला प्रतिपक्षको मोर्चा काङ्ग्रेसले सम्हालेको छ । प्रतिपक्षले केपी ओली सरकार गठनभएलगत्तै सरकारलाई अधिनायकवादी बन्न खोजेको भन्दै सचेत गराउँदै आएको थियो । 

यस क्रममा आफ्नै एजेन्डा नभए पनि अरूका एजेन्डामा प्रतिपक्षले प्रशस्त खेल्ने मौका पाइरहेको छ ।  तर सरकारले आफूलाई लोकतान्त्रिक सरकार भएको दाबी गर्न छाडेको छैन । हुन त डा. केसीका माग राजनीतिसँग सम्बन्धित छैनन् । तर यो प्रकरणमा नेपालको राजनीति प्रत्यक्ष या परोक्ष रूपमा धु्रवीकृत भइरहेको छ । 

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) केसीका मागको विपक्षमा छ भने प्रमुख प्रतिपक्ष काङ्ग्रेससहित बाँकी संसदका मुख्य दल र बाहिरका केही साना दल पक्षमा छन् । 
यही विषयमा राजनीति थप धु्रवीकरण हुँदै जाने हो भने समस्या थप विकराल बन्ने सक्नेतर्फ सचेत हुन जरुरी छ । 

प्रधानमन्त्री ओलीको प्रश्न 
डा. गोविन्द केसी काठमाडौँ ल्याउन बिहीबार सरकारी टोली जुम्ला पुगेको थियो । तर सरकारी टोलीलाई केसी समर्थकले भेट्न नदिएपछि जुम्लामा प्रहरीले हस्तक्षेप नै गर्नुपर्यो । 

त्यस क्रममा दोहोरो झडप नै भयो । झडप हुँदा केसी अनशनरत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठन रणमैदान जस्तै बन्न पुग्यो । त्यही बेला प्रधानमन्त्री केपी शर्मा ओली चार नम्बर प्रदेशमा सम्बोधन गर्दै थिए । 

उनले त्यसक्रमा डा. केसी स्वविवेकले नभई अरू कसैको इसारामा चलिरहेको बताइरहेका थिए ।

‘डा. केसी आफ्नो खुशीमा चलिरहनुभएको छ कि पराधीन हुनुहुन्छ ? बुझ्न सकिएन’, प्रधानमन्त्री ओलीको भनाइ थियो ।  प्रधानमन्त्री ओलीको यो भनाइ केसीलाई समर्थन गर्ने दलहरूप्रति थियो भन्ने प्रष्टै बुझिन्थ्यो । 

प्रधानमन्त्री ओलीले त्यसक्रममा थप भनेका थिए ‘केही राजनीतिक दलहरू आफ्नो दुनो सोझ्याउन गोविन्द केसीको जीवनसँग खेलवाड गरिरहेका छन् ।’ 

पोखरा विश्व विद्यालयको १९औं साधारणसभालाई बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार केसीको स्वास्थ्य अवस्थाप्रति गम्भीर रहेको भन्दै डाक्टर केसीको स्वास्थ्य कमजोर भएको जानकारी पाएपछि सरकारले चिकित्सकको टोली पठाउँदा केसीको छेउमा पुग्न नै अवरोध गर्नु नाजायज काम भएको बताएका थिए ।

 ‘एउटा जमताले जे भन्यो, त्यो सरकारले पत्याइदिनु जायज हुनै सक्दैन । केही–केही मानिसहरू डा. केसीको अनशनलाई देखाएर आफ्नो रोटी सेक्न खोज्दैछन् । अन्य पेसाका पेसाकर्मीलाई आज हड्ताल छ । काम गर्दिनँ भन्दा त्यसले ठूलो घाटा नहोला । तर डाक्टरले बिरामी जाँच्दिनँ भन्दा एकै दिनमा कैयौंको ज्यान जान सक्छ’, प्रधानमन्त्री ओलीले भनेका थिए ।  त्यति मात्रै होइन, प्रधानमन्त्री ओलीले कसैलाई मन नपरेको पार्टीले बहुमत ल्याएर सरकार बनायो भन्दैमा आन्दोलन गर्नुको अर्थ नभएको पनि दाबी गरे । ‘कसैलाई मन नपरेको पार्टीले बहुमत ल्यायो होला ।

कसैलाई मन नपरेको मान्छे प्रधानमन्त्री भयो होला । यो जनताको निर्णय हो । त्यसकारण यस्ता कुरामा आन्दोलन गरेर केही अर्थ छैन’, प्रधानमन्त्रीको आन्दोलकारीप्रति लक्षित यो भनाइबाट पनि केसी प्रकरण राजनीतिकरण भएको छ भन्ने प्रष्ट बुझिन्छ ।   

सरकारी दमनको चर्को आलोचना 
शनिबार काठमाडौँको माइतीघर मण्डलामा काङ्ग्रेसको भातृ सङ्गठन नेपाल तरुण दलले केसीको समथर्नमा पूर्व निधारित कार्यक्रमअनुसार नै प्रदर्शन गर्यो । माइतीघरबाट बानेश्वरतर्फ हिँडेको जुलुसमा नयाँ बानेश्वर चोकमा पुगेपछि प्रहरीसँग झडप भयो । झडपमा केही घाइते समेत हुन पुगे । 

जसलाई ‘सरकारी दमन’ भन्दै पूर्व प्रधानन्यायाधीश सुशीला कार्की मानव अधिकारकर्मी कृष्ण पहाडीलगायतले सरकारको चर्को आलोचना गरे । शान्तिपूर्ण आन्दोलनमा सरकारले दमन गरेको भन्दै काङ्ग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीलाई भेटेरै ध्यानाकर्षणसमेत गराए भने काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति नै जारी गरेर सरकारी दमनको विरोध गरे ।

 आफ्नो रेकर्ड आफै तोड्दै केसी
डा. केसीले अनशन सुरु गरेको आइतबार २३ दिन भएको छ । यसअघि १४ पटकसम्म अनशन बस्दा सबैभन्दा बढी २३ दिनसमम्म अनशनको रेकर्ड बनाएका केसीले पुरानो आफ्नोे रेकर्ड यो पटक तोड्ने देखिएको छ । तत्कालीन काङ्ग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारका पालामा डा केसी यही माग राखेर अनशन बसेका थिए । 

२०७४ साउन नौदेखि ३१ गतेसम्म अनशन बसेका डा. केसी अहिलेसम्म पूर्वप्रधानमन्त्री डा. बाबुराम भटराईको पालमा २ पटक गरी ११ दिन, खिलराज रेग्मीको पालमा दुई पटक गरेर २२ दिन, सुशील कोइरालाको पालमा तीनपटक गरेर ३७ दिन पुष्पकमल दाहाल प्रचडका पालमा दुई पटक ३४ दिन र शेरबहादुर नेतृत्वको सरकारका पालामा चार पटक गरी ४५ दिन अनशन बसेका थिए । हालका प्रधानमन्त्री ओली पहिलो पटक प्रधानमन्त्री हुँदा १६ दिन अनशन बसेका केसी अहिलेको २३ दिन जोड्दा ३९ पुगेको छ ।   
  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप