बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बैङ्गलोरमा बीएस्सी नर्सिङ : भारतमै हुन्न गुणस्तरप्रति विश्वास, नेपाली विद्यार्थीको रजिस्ट्रेसनमा रोक

आइतबार, ०१ साउन २०७४, १४ : २४
आइतबार, ०१ साउन २०७४

गैरीगाउँ काठमाडौँकी सन्ध्या ढकालले सन् २०१४ मै बैङ्गलोरबाट बीएस्सी नर्सिङ पूरा गरिसकेकी छिन् । भारतमा बीएस्सी नर्सिङको पढाइ सकेपछि उनी अस्ट्रेलिया वा क्यानडा जान चाहन्थिन् । तर सन्ध्याको अस्ट्रेलिया वा क्यानडा जाने सपना भने पूरा हुन सकेन । किनभने सन्ध्याले पढाइ सकाए पनि उनलाई भारतमा रजिस्ट्रेसन दिइएन । जुन देशमा पढेको हो, त्यही देशले रजिस्ट्रेसन नदिएपछि उनी अस्ट्रेलिया जान पाइनन् । किनभने अस्ट्रेलियाको कलेज र काम गर्न खोजेको अस्पतालले ‘प्यारेन्ट कन्ट्री रजिस्ट्रेसन’ माग गर्यो । जसको कारण सन्ध्या अहिले नेपाली विद्यार्थीले रजिस्ट्रेसन पाउनुपर्ने भन्दै लबिङ गरिरहेकी छिन् ।


भारतको नर्सिङ शिक्षासम्बन्धी अनुगमन गर्ने सर्वोच्च निकाय भारतीय नर्सिङ परिषद्ले सन् २०१४ को फेब्रुअरीमा एउटा सूचना जारी गर्दै २०१४ को फेब्रुअरीपछि सबै विदेशी विद्यार्थीहरूको नर्सिङ रजिस्ट्रेसन दर्ता बन्द गरेको जानकारी गरायो । इन्डियन नर्सिङ काउन्सिलले रजिस्ट्रेसन दर्ता बन्द गर्नु अगावै नै सन् २०१० देखि भारतमा पढिरहेका विद्यार्थीसमेत यसबाट प्रभावित हुन पुगे । काउन्सिलले जुन दिन यस्तो निर्णय गर्यो, त्यसभन्दा अगाडि पढेका विद्यार्थीहरूलाई यसले कुनै असर नगर्नुपर्ने हो । तर त्यस्तो हुन सकेन । बरु पढाइ सकाएर रजिस्ट्रेसन गर्न खोजेका विद्यार्थीहरूसमेत यसबाट वञ्चित बन्न पुगे । 

के हो प्यारेन्ट कन्ट्री रजिस्ट्रेसन ?


प्राविधिक र स्वास्थ्य शिक्षासम्बन्धी विषयमा अध्ययन हुँदा त्यसलाई प्रमाणीकरण गर्ने काम सम्बन्धित देशले नै गर्ने गरेको छ । नेपालमा एमबीबीएस वा बीएस्सी नर्सिङ पढाइ हुँदा जुन देशका नागरिक भए प्नि मेडिकल काउन्सिल वा नर्सिङ परिषद्ले दर्ता गरिदिने गरेको छ । यस्तो दर्ता भनेको नेपालमा अध्ययन पूरा गरेको, सबै मापदण्ड पूरा गरेको र काम गर्नका लागि योग्य भएको भन्ने हो । तर भारतमा भने सन् २०१४ को फेब्रुअरीपछि यस्तो दर्ता नेपालीलगायतका अन्य देशका विद्यार्थीहरूका लागि बन्द गरियो । जसका कारण नेपाली विद्यार्थीहरूले भारतमै काम गर्न वा निजी अस्पतालमा ‘प्राक्टिस’ गर्न निषेध गरिएको छ । किनभने भारत सरकारको नीतिअनुसार भारतमै स्थायी वा अस्थायीरूपमा दर्ता नभएका नर्सहरूलाई काम गर्न पूर्णत बन्देज छ ।

विदेशमा कसरी भइरहेछ समस्या ?


भारतको नर्सिङ काउन्सिलले नेपालीलगायतका विद्यार्थीहरूको रजिस्टर्ड नर्सको दर्ता नगरिदिँदा विभिन्न युरोपियन तथा अमेरिकन देशहरूमा समस्या परिरहेको छ । मुख्यतः अस्ट्रेलिया, अमेरिका, क्यानडा, नर्वे लगायतका देशहरूमा थप अध्ययन तथा रोजगारीमा जाने खोज्ने नेपाली नर्सहरूले अहिले धेरै समस्या भोगिरहेका छन् । किनभने यी देशहरूका अधिकांश कलेज र अस्पतालहरूले अध्ययन वा कामका लागि प्यारेन्ट कन्ट्री रजिस्ट्रेसन अर्थात् जुन देशमा अध्ययन गरेको हो, त्यही देशमा नर्सका रूपमा दर्ता भएको वा गरिएको प्रमाण मागिरहेका छन् । 
सन्ध्याले पनि अस्ट्रेलियाको एउटा कलेजमा थप अध्ययनका लागि आवेदन गरेकी थिइन् । सबै कुरा मिलेको थियो । तर जब कलेजले उनको प्यारेन्ट कन्ट्री रजिस्ट्रेसन माग्यो, तब उनी समस्यामा परिन् । किनभने भारत सरकारले यसअघि नै निर्णय गरेर विदेशी विद्यार्थीहरूलाई दर्ता रोकिसकेको थियो । 


कलेजले भर्ना लिन नमानेपछि उनले अस्ट्रेलियाकै अर्को एक अस्पतालमा रोजगारीका लागि आवेदन गरिन् । तर उक्त अस्पतालले पनि भारतमै नर्सका रूपमा दर्ता भएको प्रमाणपत्र खोज्यो तर सन्ध्यासँग त्यो कागजात थिएन । उनले यही विषय बैङ्गलोरमा नर्सिङसम्बन्धी अनुगमन र नियमन गर्ने संस्था कर्नाटक नर्सिङ परिषद्लाई पनि जानकारी दिइन् । आफूले विदेशमा अध्ययन र रोजगारी गर्न नपाएको भन्दै उनले दर्ता गरिदिन पटकपटक अनुरोध गरिन् । तर नीतिबाटै हटिसकेको भन्दै उनलाई भारतमा दर्ता नै हुन दिइएन । त्यसपछि उनको अस्ट्रेलियाको सपना चकनाचुर भयो ।


अस्ट्रेलियामा नभएपछि उनले अमेरिकामा प्रयास गरिन् । त्यहाँ पनि उनलाई त्यहीँ दर्ता मागियो । नेपालमा भएको दर्ता देखाउँदा त्यसलाई स्वीकार गरिएन र भनियो, ‘जुन देशमा पढेको हो, त्यही देशको दर्ता ल्याउनु ।’


अमेरिकामा पनि यस्तै समस्या भोगेपछि उनी क्यानडाका लागि बुझ्न थालिन् । तर क्यानडामा पनि त्यही समस्या भोगेपछि उनले बिस्तारै सम्पन्न देशहरूको सपना त्यागिन् र जसरी हुन्छ दर्ता भएरै छाड्ने प्रयासमा लागिन् । 


यो समस्या सन्ध्याको मात्रै होइन, सन् २०१० पछि भारतमा बीएस्सी नर्सिङ अध्ययनका लागि गएका करिब ७ हजार नेपाली विद्यार्थीहरूको साझा समस्या हो । फरक यत्ति छ, कोही मुख खोलेर बोल्छन्, कोही आफ्नो बचाउमा मात्रै लाग्छन् । 


हामी बैङ्गलोरमा पुग्दा भेटिएकी चितवनकी सुमिना अर्यालको चिन्ता पनि त्यही थियो । बैङ्गलोरमा आएर पढियो, तर भारतमै नर्सका रूपमा दर्ता नगरिदिँदा राम्रो देश र आफूले चाहेको विषय पढ्न नपाउने चिन्ता उनमा थियो । पढाइ सकाएर ग्रेजुएसन सेरेमनीमा सहभागी हुँदै गर्दा उनमा खुशी भन्दा चिन्ता बढी थियो । 
बैङ्गलोरकै आइकोन कलेजमा अध्ययन गरिरहेकी भक्तपुरकी सरु कार्कीलाई पनि चिन्ता यसैको छ । आफूहरू पढ्न त आइयो तर भारतमै दर्ता नगरदिएपछि भोलि समस्या पर्ने हो कि भन्ने चिन्ता छ उनलाई । किनभने भारतमै दर्ता नगरिदिएपछि राम्रो देशमा जाने बाटो करिब करिब बन्द नै हुन्छ । 
आइकोनमै अध्ययनरत अर्की विद्यार्थी सरु केसीको चिन्ता पनि यसैमा छ । प्यारेन्ट कन्ट्री रजिस्ट्रेसन नहुँदा दिदीहरूले भोग्नुपरेको समस्याबारे उनी जानकार छिन् । तर आफूहरू बैङ्गलोरमा आउँदै गर्दा यो कुरा कन्सल्टेन्सीले जानकारी नै दिएन । तर जब बैङ्गलोर आइपुगियो, त्यसपछि जानकारी भएर कुनै अर्थ थिएन । 
बैङ्गलोरकै पीआर कलेज अफ नर्सिङमा अध्ययन गरिरहेकी रुपन्देहीकी सुष्मा पौडेलको गुनासो पनि यस्तै छ । सुरुमा कन्सल्टेन्सीले झुक्याएको उनी बताउँछिन् । बैङ्गलोरको नर्सिङ विश्वमै सम्मानित भएको र विश्वभर मान्यता पाउने भनेर उनलाई ढाँटिएको रहेछ । तर जब रजिस्ट्रेसन नहुने र समस्या पर्नेबारे उनले जानकारी पाइन् । त्यो कुरा उनले आफ्ना अभिभावकलाई भनिन् । अभिभावकले कन्सल्टेन्सीमा गएर छोरी फिर्ता ल्याउन चाहे । तर कन्सल्टेन्सी र बैङ्गलोरको कलेजले ४ वर्षको सबै शुल्क तिरेर मात्र फर्कन दिने बताएपछि उनीहरूको बाटो बन्द भयो ।


बैङ्गलोरकै राजाराजेश्वरी कलेजमा अध्ययन गरिरहेका विद्यार्थीहरूको चिन्ता पनि यही छ । भारतले नर्सका रूपमा दर्ता नगरिदिने भएपछि उनीहरूलाई निजी अस्पतालमा प्राक्टिस अर्थात् काम गर्न निषेध छ । त्योबाहेक विदेशमा जान समस्या हुने भएपछि चिन्ता अझै थपिएको उनीहरू बताउँछन् । तर पनि अब विकल्प नभएको भन्दै बाध्य भएर पढिरहनुपरेको उनीहरूको गुनासो छ । 

जब भारतीय नर्सिङ परिषद् अर्थात् आईएनसीले सन् २०१४ बाट विदेशी विद्यार्थीको दर्ता रोकिदियो, यसले भारतको राम्रो निजी अस्पतालमा काम गर्नेदेखि विदेश जानसमेत समस्या परिरहेको छ । जसका कारण नेपाली विद्यार्थीहरू तनावमा त छन् नै भविष्य के हुने हो भन्ने चिन्ता पनि उत्तिकै छ । नेपाली विद्यार्थीहरूका पक्षमा काम गरिरहेका पूर्व विद्यार्थीहरू अनिल महर्जन र कबिन मलेकु यस विषयमा अझ बढी जानकारी राख्छन् । नेप्लिज इन बैङ्गलोर भन्ने फेसबुक पेजमा नेपाली विद्यार्थीहरूलाई जोडेर समस्या लिइरहेका उनीहरू भन्छन्, रजिस्ट्रेसन नहुँदा सबैभन्दा बढी समस्या परेको छ । 

किन बन्द गरियो विदेशी विद्यार्थीको रजिस्ट्रेसन 


बैङ्गलोरको बीएस्सी नर्सिङको गुणस्तर पछिल्ला दिनमा खस्कँदै गएको छ । अहिले पनि बैङ्गलोरका एकाध नर्सिङ कलेज त राम्रा नै छन् तर अधिकांश कलेजहरू भने पैसा कमाउन मात्रै लागिपरेका छन् । जसका कारण विद्यार्थीको गुणस्तर र प्रयोगात्मक सिकाइ ज्यादै कमजोर छ । जब प्राक्टिकल नै कमजोर हुन्छ भने त्यो विद्यार्थीले कति सिक्ला ? हामी सहजै अनुमान लगाउन सक्छौँ । गुणस्तर कायम गर्न नसकेपछि आईएनसीले बैङ्गलोरका धेरै कलेजहरूको सम्बन्धन खारेजसमेत गरिरहेको छ । छिमेकी प्रान्त र विदेशमा समेत बैङ्गलोरको बीएस्सी नर्सिङका विषयमा प्रश्न उठ्न थालेपछि भारतीय नर्सिङ परिषद् आईएनसीले विदेशी विद्यार्थीहरूलाई भारतमै दर्ता गर्ने कार्य बन्द गरेको छ । 


यसरी भारतमै पढेर, भारतमै प्राक्टिकल गरेका नेपाली विद्यार्थीहरूलाई भारतमै दर्ता बन्द गरिएको छ । यसको अर्थ आफ्नै उत्पादनप्रति भारतीय नर्सिङ परिषद्लाई विश्वास छैन भन्ने हो । 

विद्यार्थीको नाम परिवर्तन गरिएको छ । 

बैङ्गलोरमा नेपाली विद्यार्थीका समस्यासम्बन्धी यी समाचार पनि पढ्नुहोस् :

बैङ्गलोरमा नेपाली विद्यार्थीको प्रश्न : कुभिण्डोको झोल खाएर कसरी बाँच्नु ?

बैङ्गलोरमा बीएस्सी नर्सिङ : सुनौलो सपना, दर्दनाक यथार्थ

बैङ्गलोरमा नर्सिङका विद्यार्थीको बिजोग : पढाइ बैङ्गलोरमा, प्रयोगशाला चाहिँ नेपालमा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप