शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कर असुल्न दुई नगरपालिकाको होडबाजी :  ‘डेन्जर जोन’मा नगरकोट

शनिबार, ०५ साउन २०७५, ११ : २३
शनिबार, ०५ साउन २०७५

नगरकोट – भक्तपुर र काभ्रेको सिमानामा रहेको  चर्चित पर्यटकीय स्थान नगरकोटमा जाने बाह्य पर्यटकहरुले दोहोरो कर तिर्नु पर्ने भएको छ । 

भक्तपुरको चाँगुनारायण र काभ्रेको मण्डन देउपुर नगरपालिकाबीच समन्वय नहुदाँ यस्तो अवस्था आएको हो । 

नगरकोट घुम्न जाने बाह्य पर्यटकले भदौको पहिलो सातादेखि दोहोरो कर तिर्नु पर्नेछ । 

भक्तपुरको चाँगुनारायण नगरपालिकाले अघिल्लो आर्थिक वर्षमा ५१ लाख रुपैयाँ नगरकोट जाने पयर्टकसंग प्रवेश शुल्क उठाउन ठेक्कामा दिएको थियो । 

यो आर्थिक वर्ष २०७५/७६को लागि ३ करोडमा ( कर बाहेक) ठेक्का दिएको छ  । अनुमति प्राप्त ठेकेदारले चाँगुनारायण नगरपालिकाको वडा नम्बर ६ तेलकोट र वडा नम्बर ८ को कलमसी भन्ने स्थानमा

बसेर पर्यटकहरुसँग शुल्क लिँदै आएका छन् । जसमा चाँगुनारायण मन्दिर जानेबाट समेत ठेकेदारले शुल्क लिन पाउँछन् । 

काभ्रेको मण्डन देउपुर नगरपालिकाले पनि यस आर्थिक वर्षदेखि नगरकोट जाने पर्यटकसंग प्रवेश शुल्क लिने भनि सूचना प्रकाशित गरेको छ । 

नगरपालिकाको आधिकारी वेवसाइटमा प्रकाशित २०७५ साउन १ को सूचनामा २०७५÷०७६ का लागि नगरपालिका अन्तर्गत नगरकोट क्षेत्र भित्रका काभ्रेचोक, भ्यू टावर चोक र कात्तिके क्षेत्रमा आउने विदेशी पर्यटकहरुसँग प्रवेश शुल्क उठाउने ठेक्का आह्वान गरिएको छ । 

उक्त सूचनामा बोलपत्र स्वीकृत भएका फर्म वा कम्पनीले सार्क राष्ट्र बाहेकका विदेशी पर्यटकसँग प्रतिव्यक्ति ३ सय र सार्क राष्ट्र भित्रका २ सय रुपैया ( कर बाहेक) प्रति पर्यटक प्रवेश सेवा शुल्क उठाउन पाउने छन् । तगत वर्षदेखिनै सोही मुल्य चाँगुनारायण नगरपालिकाले समेत पर्यटकहरुसंग प्रवेश शुल्क लिदैं आएको छ ।

दोहोरो करबारे के भन्छन् दुई नगरप्रमुख ?

दाहोरो कर लिदाँ पर्यटकहरुमा गलत सन्देश जाँदैन् ? भन्ने प्रश्नमा चाँगुनारायण नगरपालिका नगरप्रमुख सोमप्रसाद मिश्रले दुई नगरपालिकाका प्रतिनिधिहरु बसेर समस्याको समाधान गरिने र गलत सन्देश जान नदिने बताएका छन् ।  

उनले दुई नगरपालिकाबीच गतवर्ष समन्वय नभएको समेत स्विकार गरे । ‘छलफल र कुराकानी गर्न खोज्दा खोज्दै समय व्यवस्थापन हुन सकेन’ मिश्रले रातोपाटीसँग भने ‘हामी यो वर्ष मण्डन देउपुरसंग नगरकोटको विकासको लागि समन्वय गर्न तयार छौं । ’

काभ्रेको मण्डन देउपुर नगरपालिकाका नगरप्रमुख टोक बहादुर वाइबाले गत आर्थिक वर्षमा हतार गरेर टेण्डर ननिकाल्न आग्रह गर्दागदै पर्यटक शुल्क लिनको लागि चाँगुनारायणले ठेक्का प्रक्रिया गरेको आरोप लगाए । 

उनले  नगरकोटको विकासको लागि भने चाँगुनारायण नगरले बजेट विनियोजन नगरेको आरोप लगाए ।  उनले भूगोलको हिसाबले हेर्ने हो भने नगरकोट आउने ८० प्रतिशत पर्यटक मण्डन देउपुर भएर आउने तर कर भने एउटाले मात्र लिएकाले बाध्य भएर यो चालू आर्थिक वर्षको लागि ठेक्का प्रक्रिया गरेको बताए । 

वाइबाले भने ‘हामीले नगरकोटमा बसपार्क निर्माण, सार्वजनिक शौचालय निर्माण र अन्य पूर्वाधार विकासका लागि लाखौं रकम विनियोजित गरेको छौं । ’ नगरकोटको नाममा उठेको रकम नगरकोटमै खर्च गर्ने नीति रहेको पनि वाइबाको भनाई रहेको छ । 

दोहोरो करले गलत सन्देश जान्छः व्यवसायी
समस्या समाधान नभए भदौको दोस्रो सातादेखि नगरकोट आउने पर्यटक दोहोरो करको मारमा पर्ने निश्चित देखिएको छ । 

तत्कालिन बालुवापाटी देउपुर गाविसका अध्यक्ष तथा पर्यटन व्यवसायी  राधाकृष्ण बस्ताकोटीले  एकीकृत रुपमा कर उठाइनुपर्नेमा जोड दिए । 

‘विगतमा म जनप्रतिनिधी हुदाँ पर्यटकहरुसंग प्रवेश शुल्क लिने विषयमा तत्कालिन नगरकोट र काभ्रेको बालुवापाटी देउपुर गाविसबीच छलफल भएको थियो ’उनले भने, ‘तर हाल आएर एक स्थानीय तहले तहले मात्र शुल्क उठाएपछि अर्को समेत बाध्यता परेको हुन सक्छ । यसरी कर उठाउदाँ नगरकोट प्रति नै पर्यटकहरुको गलत सन्देश जान्छ, एकीकृत कर उठाउनु पर्दछ ।’ उनले नगरकोटको नाममा उठेको रकम नगरकोटकै विकासमा खर्च गरिनुपर्नेमा पनि जोड दिए । 

नगरकोट नाल्दुम पर्यटन विकास समितिका सचिव धनबहादुर लामाले पनि दोहोरो कर लगाउदाँ नगरकोटको भविष्य नै अन्यौलमा पर्ने खतरा औंल्याए । ‘दुबै नगरपालिका बीच समन्वय गरेर एकिकृत कर लगाएर केही रकम नगरकोटको भौतिक विकासको लागि लगानी खर्च गर्नु पर्दछ’, ‘ गतसाल देखिको कर र सडकको कारणले नगरकोटको भविष्य उज्वल नहुने देखियो ।’

पुर्वाधारको अभावः कर मात्र लगाउने नीति 
नगरकोट जाने पर्यटकको लागि दोहोरो कर लगाइएपनि पूर्वाधारको अवस्था भने दयनीय रहेको छ । नगरकोट जाने मुख्य सडकको रुपमा रहेको कमलविनायक नगरकोट सडकको अवस्था निकै कष्टकर छ । पानी पर्दा हिलो हुने र घाम लाग्दा धुलो हुने समस्या सामान्य जस्तो भइसकेको छ । 

अर्कातिर होटल व्यवसायलाई आवश्यक पानी समेत किनेर चलाउनु पर्ने बाध्यता पर्यटन व्यवसायी माझ रहेको छ । विभिन्न सरकारी निकायमा दर्ता भएर आएका व्यवसायी राज्यलाई कर तिरेपनि सुविधा नभएको बताउँछन् । यसो त नगरकोटको फोहोर व्यवस्थापन समेत चुनौती बन्दै गइरहेको छ । सूर्योदय, सूर्यअस्त र हिमाल हेर्न मात्र पर्यटक जाने गरेको तर बसाई लम्बाउने अन्य केही कुरा भने नभएको स्थानीयहरुको भनाई छ । 
 

‘डेन्जर जोन’मा नगरकोट
दुबै नगरपालिकामा गरेर करिब एक सय होटल तथा रेष्टुराहरु नगरकोटमा रहेका छन् । जसमा सामान्यदेखि तारे होटलहरु समेत छन् । अधिकांश होटल तथा रेष्टुराहरु मण्डन देउपुर नगरपालिकाको वडा नम्बर २ र केही १ मा पर्दछन् । 

एउटै गन्तव्यमा दुई स्थानमा रोकेर बाह्य मुलुका पर्यटकहरुसंग दोहोर प्रवेश शुल्क लिदाँ गलत सन्देश जाने देखिन्छ । यसको समाधान गर्नुको विकल्प नभएको सरोकारवालाहरुको भनाई छ । 

 पर्यटन व्यवसायीका अनुसार सडकको खराब अवस्था र प्रवेश शुल्कको कारणले गलत सन्देश जाने नै छ, पर्यटकको अनाकर्षण बढेमा  यहाँको पर्यटनमा समेत गम्भीर धक्का पुग्ने निश्चित छ । 
दुई नगरपालिकाले कर असुल्ने होडबाजी  त्यागेर नगरकोटको पर्यटन प्रबद्र्धनमा सघाउ पुर्याउनुपर्नेमा  सरोकारवालाहरुले जोड दिएका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप