शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कथाः गणतन्त्रको घाम

शनिबार, ०५ साउन २०७५, ०७ : ५८
शनिबार, ०५ साउन २०७५

-लीलाराज दाहाल  

विश्व नयाँ सहस्राब्दीमा प्रवेश गरिसकेको छ । म पनि छिप्पिएको जाँडले मातिएको जँड्याहा झैँ धर्खराउँदै नयाँ सहस्राब्दीमा प्रवेश गरिसकेको छु । 

मेरो नाम चेतबहादुर । जात दलित । पेसा ढुङ्गा फुटाउने, भारी बोक्ने यस्तै । शिक्षा सात कक्षा पास । पढ्दा पढ्दै घरव्यवहारको जाँतोमा पिसिएर बीचैमा पढाइ छोड्न बाध्य भएको एउटा विवश नेपाली । मलाई यो देशले प्रदान गरेको मेरो परिचय, गणतान्त्रिक देशको सार्वभौमसत्ता सम्पन्न पिछडिएको तन्नम नेपाली रैती ।

एक दिन गाउँको चोकमा ठूला मान्छेहरू भेला भएका थिए । अवरुद्ध यात्राका उद्देश्यहीन यात्री जस्तै देखिएका थिए उनीहरू । म पनि उनीहरूको नजिकै थिएँ । मान्छेहरू देख्नलाई साँच्चै ठूला थिएनन् । कोही पुड्का, कोही मझौला भए पनि उनीहरूलाई गाउँका सबैले ठूला मान्छे मान्छन् । अतः म पनि उनीहरूलाई ठूलै मान्छे मान्दै आएको छु ।

यस्ता ठूला मान्छेहरू पहिला पनि हुन्थे, अहिले पनि छन् । यिनीहरूमा अन्तर केही पनि छैन । उनीहरू गाउँका निमुखा, गरिब र असहायहरूलाई परिस्थितिको जालमा पारेर आफ्नो स्वार्थको भकारी भर्दथे । पहिले र अहिले उनीहरूका बीचमा के फरक थियो भने पहिलेका ठूला मान्छेहरूले म जस्ता साना, सोझा सीधा मान्छेहरूलाई नचपाई स्वात्तै निल्थे । अहिले भने चपाई चपाई निल्छन् । 

अँ, चपाई चपाई निल्नु प्रजातान्त्रिक तरिका हो भनेर उनीहरू दाबी गर्ने गर्छन् । उनीहरूको विचारमा नचपाई निल्नु बढी खतरापूर्ण काम हो । यसरी उनीहरूको स्वार्थको शासन एकछत्र चलिरहेको थियो । 
त्यसो त गाउँको चोकमा भएको उक्त भेलाबारे कसैलाई पत्तो थिएन । उनीहरू केही सीमित ठूला मान्छेहरूको बैठक थियो । उनीहरूले गणतान्त्रिक कार्यविधि अपनाएका थिए । गणतन्त्रमा पनि केही सीमित ठूला मान्छेहरूले थाहा पाएपछि अरू सानातिना मान्छेहरूले थाहा पाइरहनु जरुरी पर्दैन भन्ने मान्यताको घोडामा सवार  थिए उनीहरू । मैले चाहिँ उनीहरू नजिकै पुगेर मौनताको पर्खाल भत्काएँ । मैले भेलाको जानकारी लिन अलि सानो किसिमको ठूलो मान्छेको सहायता लिएको थिएँ । मजस्तै चौथो पटकमा ७ कक्षा उत्तीर्ण र उपबुज्रुकको दर्जामा पुग्न पुग्न आँटेको रामेले पनि सोधेको थियो, “अस्ति केको बैठक थियो हजुर ?”  

रामेको अनि  मेरो अनुहारमा जिज्ञासाको दियालो बलेको देखेर सानो किसिमको ठूलो मान्छे अलि  पछि हटेको थियो तर ठूलो खालको ठूलो मान्छे पछि हटेन ।  हातमा सन्तुष्टिको छडी नचाउँदै ठूलो  मान्छे अट्टाहासका साथ हाँस्न थाल्यो । मनको सागरमा उठेको आनन्दको ज्वारभाटालाई शान्त बनाउँदै उसले भन्यो, “अब फेरि हामीलाई तिमीहरूको आवश्यकता परेको छ ।” 

“किन फेरि चुनाव आयो र हजुर ?” रामेले एक कदम अगाडि बढेर ठूला मान्छेतिर होइन, मतिर हेर्दै सोधेको थियो । 

“त्यसो होइन रामे, चुनाव सुनाव केही आएको छैन । कुरो साधारण छ । सबै कुरा बिस्तारै भनी हाल्छौँ नि !” ठूलो मान्छेले आफ्नो पाइन्टमा लागेको धुलो झार्दै भन्यो र फेरि हाँसोको विमान उडाउन थाल्यो ।  
ठूलो मान्छे हाँस्न थालेको देखेर म पनि हाँस्न थालेको थिएँ । म हाँसेको देखेर भाव नबुझी रामे पनि हाँस्न थाल्यो । हामीहरूको हाँसोमा आकाश जमिनको फरक थियो । ठूलो मान्छेको बल्ल बल्ल नेतामा बढुवा भएको निष्क्रिय कार्यकर्ताको दम्भयुक्त हाँसो थियो अनि रामेको आफूभन्दा बुज्रुक हाँस्दा उसको आनन्दका लागि हाँसी दिने हजुरियाको जस्तो हाँसो थियो । रामे र मलाई बाध्यताको हुरीले उडाएर यस्तो अवस्थामा ल्याइ पु¥याएको थियो ।

ठूलो मान्छेको हाँसोको बाढी घटिसकेको थियो । ऊ त्यहाँबाट दलबलसहित गैसकेको थियो ।  मैले ऊ पर पुगुन्जेल हेरेँ । किन किन मैले यतिखेर ठूलो मान्छेको सानु व्यक्तित्व देखिरहेको थिएँ ।

अघिल्लो दिनको ठूला मान्छेहरूको बैठकको कुरा गाउँका सबैले बुझे । नबुझे पनि जबर्जस्ती बुझाइए । बाटोमा ढुङ्गा, गिट्टी, बालुवा थुपारेर बाटो जीर्णोद्धार गर्नु थियो । त्यसो त बाटो ठीकै थियो । बाटोको कुनै खराबी, सिकायत थिएन । गाउँभरीका सबै घरधुरीलाई कडा उर्दी जारी भएको थियो । सबै मिलेर श्रमदान गर्नु थियो । प्रत्येक घरबाट एक एक जना मानिस अनिवार्य रूपमा उपस्थित हुनुपर्ने नियम ठूला मान्छेहरूले बनाएका थिए ।

गाउँका साना मान्छेहरू बस्ने पल्लो टोलमा बाटो पुगेको थिएन । पिउने पानीको समस्या समाधान भएको थिएन अर्थात् साना मानिस बस्ने टोलमा केही थिएन । अनि ठूला मान्छेको टोलमा सबै कुरा थियो । पानीका धारा थिए । बाटो थियो । स्कुल थियो अर्थात् ठूला मान्छे बस्ने टोलमा सबै कुरा थियो । कहिलेकाहीँ ठूला मान्छेहरू ठट्टाको कुर्सीमा बसेर भन्ने गर्थे, “विकासले विकास तान्छ । विकास भएकै ठाउँमा गर्नुपर्छ विकास । विकास नै नभएको ठाउँमा किन चाहियो विकास ?” 

ठूला मान्छेहरूको विचारमा साना मान्छेहरू बस्ने टोलमा विकास जरुरी थिएन । केन्द्रबाट आउने विकास बजेट ठूला मान्छेहरूका लागि मात्रै हो भन्ने भ्रमको महलमा उनीहरू हुर्कंदै आएका थिए । उनीहरूको कुरा सुनी सकेपछि एउटा उपबुज्रुक करायो । उसले आक्रोशको तरवार चलाउँदै भन्यो, “बाटो त ठीकै छ । के गर्नुपर्यो फेरि ? कति दिन दिनु श्रमदान पनि ? फेरि एउटा टोलमा सधैँ हामीले नै खटिनु पर्ने ? आफ्नो गाउँमा खट्न पाए पनि एउटा कुरा !”

अब भने मलाई पनि अलिअलि बल मिलेको थियो । पीडाको भारी विसाउँदै मैले पनि भनेँ, “हामी जस्ता सम्पत्ति नभएका गरिब जनताले सधैंभरी श्रमदान गरेर के खाने, के लाउने ? आफ्ना लालाबालालाई के खुवाउने ? यही हो गणतन्त्र भनेको ?”

त्यतिखेर म यस्तो जोडले बोलेँछु कि उनीहरूले त मलाई गरिब दुःखीको नेतै पो सम्झेछन् । उनीहरूको मनको तलाउमा त्रासको लहर उर्लन थालेको थियो । हैकमको पर्खाल ढल्ने भयले उनीहरू आक्रान्त थिए । त्यसैले उनीहरू भित्रभित्रै विभिन्न षड्यन्त्रका जाल बुन्न थालेका थिए । पछि उनीहरूले मलाई बोलाउन दुई जना लठैतहरू पठाएका थिए तर म उनीहरूले बोलाएको ठाउँमा गइन् । त्यसको भोलिपल्टदेखि उनीहरूले मलाई धम्कीको लौराले प्रहार गर्न थालेका थिए ।

उनीहरूले रामेलाई पनि प्रलोभनको डोरीले बाँधेर आफ्नो समूहमा प्रवेश गराइसकेका थिए । रामले स्वार्थको डोको बोकेर मेरो साथ छोडेपछि म नितान्त एक्लो भएँ । अरू साना मान्छेहरूलाई सम्झाउनु सामान्य कुरा थिएन । उनीहरू मृत चेतनाको ओछ्यानमा मस्त निदाइरहेका थिए । उनीहरूलाई सम्झाउनुभन्दा त पहाड फोडेर समतल बनाउनु सजिलो थियो । त्यसैले त यस गाउँमा सदियौंदेखि ठूला मान्छेहरूले एकछत्र शासन गर्दै आएका थिए  ।

मलाई अब ठूला मान्छेहरूले पटक पटक धम्क्याउन थालेका थिए । उनीहरूको समर्थनमा उभिएर दासताको झन्डा उचालेदेखि गाउँमा बस्न दिने उनीहरूले मलाई पठाएको धम्कीको सन्देश थियो । दलालीको पङ्खा हम्कँदै रामे ठूला मान्छेहरूको पछि लागेपछि उनीहरूको लागि बाँकी खतरा म मात्रै थिएँ । 

देश गणतन्त्रमय भएको निकै वर्ष भैसके पनि म जस्ताले अमनचैन पाउनु आकाशको फल जस्तै भैरहेको थियो । अझसम्म म जस्ता साना मान्छेहरू उनै ठूला मान्छेहरूको पैतालामुनि थियौँ । जुनसुकै सरकार आए पनि उनीहरूको धन्दामा कुनै छेकवार थिएन । जुनसुकै पार्टी सत्तामा पुगे पनि गाउँमा खासै फरक थिएन । म जस्ताको जीवन पद्धति एकै थियो । मजस्ता मान्छेहरू बकाइदा सार्वभौमसत्ता सम्पन्न भएका छौँ तर हाम्रा मौलिक हकहरू उनै ठूला मान्छेहरूको दया मायामा निहित छन् । 

त्यसो त चुनावअघि केन्द्रका ठूला मान्छेहरू कुशल र सुनौला योजना लिएर गाउँघरसम्म आइपुग्थे । विकासको फल सर्वप्रथम निम्न वर्गका जनतालाई खुवाउने कुरा गर्थे । बडा शिष्ट, नम्र भएर भोट माग्थे । बेरोजगारी र गरिबी हटाएर समुन्नत समाज निर्माण गरी देश विकास गर्छौं भनेर कसम खान्थे अनि एक पटक हामीलाई सत्तामा पुर्याएर हेर्नोस् भन्थे । अनि सबै जनतालाई आश्वासनको चेक बाँडेर ठूला मान्छेहरू चुनाव जिती राजधानी फर्कन्थे तर चुनावपछि फेरि गाउँ जस्ताको तेस्तै रहन्थ्यो ।

अन्ततः ठूला मान्छेहरूको गाउँको बाटो जीर्णोद्धार भयो । साना मान्छेहरू ज्यान माया मारेर श्रमदान गरी भोकको तापले बाफिएर घरतिर फर्के । अनि उही अभावको गाँस निलेर निद्राको अँगालोमा गुटमुटिएर उन्नत समाजको सपना देख्न थाले । 

पछि त ठूला मान्छेहरूले बाटो निर्माण गर्न पाँच सय जना कामदार लागेको कागज बनाए । भरपाई कागज अनुसार श्रमिकहरूले दैनिक सात सय रुपियाँका दरले ज्याला पाए । विचरा गाउँलेहरूले आफूले दिनको सात सय ज्याला पाएको थाहै पाएनन् । कागजी व्यवहार थियो । भरपाईमा सहीछाप ठूला मान्छेहरूले नै गरिदिएका थिए । गाउँपालिकाको यस वर्षको विकास बजेट पनि बाँकी रहेन ।

उनीहरू अर्को आर्थिक वर्षको बजेट खर्च तथा योजना तर्जुमा गर्न फेरि जुटिसकेका थिए । म भने आफू सार्वभौमसत्ता सम्पन्न भएको र गणतन्त्रको घाम लागेकोमा खुशीले गद्गद् भएको थिएँ । अनि मेरो गाउँमा रहेको अन्यायको झार उखेल्नका लागि गाउँलेहरूलाई उत्साहित बनाउँदै थिएँ । 

मैले गाउँलेहरूलाई जगाउन जागृतिको शङ्ख जति बजाए पनि उनीहरू अझै ब्युँझिसकेका छैनन् । तैपनि मैले हार खाइसकेको छैन । एकदिन पक्कै साना मान्छेको झुपडीमा पनि खुशीको दियालो बल्नेछ । त्यो दिन अब धेरै टाढा छैन ।

-बागमती–११, कर्मैया, सर्लाही 
-हाल: काठमाडौँ          

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप