मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

सप्तरीमा राजपाद्वारा प्रदर्शन र चक्काजाम, औषधालयमा तोडफोड

शुक्रबार, ०४ साउन २०७५, २० : ०४
शुक्रबार, ०४ साउन २०७५

राजविराज । मलेठ घटनासम्बन्धी राष्ट्रिय मानवअधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदनप्रति असन्तुष्टि जनाउँदै आज यहाँ प्रदर्शन र चक्का जाम गरी विरोध प्रदर्शन गरिएको छ । 

राजविराज नगरपालिका–९ मलेठस्थित घटनास्थलमै पुगेर राजपा नेपाल सप्तरी र राजपा नेपाल युवा विद्यार्थी समितिका नेता÷कार्यकर्ताले आज एक घण्टा चक्का जाम गर्दै राजविराज बजारमा प्रदर्शन गरेका छन् । विसं २०७३ फागुन २३ मा एमालेको मेची महाकाली अभियानमा अवरोध गर्ने क्रममा प्रहरीको गोली लागेर तत्कालीन मधेशी मोर्चाका पाँच प्रदर्शनकारीको मृत्यु भएको थियो । 

सो घटनाबारे आयोगले तयार पारेको प्रतिवेदन सत्यभन्दा निकै टाढा र सत्तापक्षलाई खुशी पार्ने गरी तयार गरिएको भन्दै प्रदर्शन र चक्काजाम गरिएको राजपाका महासचिव मनीष सुमनले जानकारी दिए । 

उनले आयोगको प्रतिवेदन सरासर गलत भएको दाबी गर्दै त्यसको पनि निष्पक्ष छानवीन गर्नुपर्ने माग गरे । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा आन्दोलित रहेका बेला तत्कालीन नेकपा (एमाले)ले राजविराजभन्दा तीन किलोमिटर उत्तरस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा स्थानीय तह चुनाव केन्द्रित मेची महाकाली अभियानअन्तर्गत आमसभा गरेको थियो । 

उक्त सभाको विरोधमा प्रदर्शन गरिरहेका मधेशी मोर्चाका पाँच कार्यकर्ताको प्रहरीको गोलीबाट मृत्यु भएको थियो । त्यसपछि मलेठ घटनाको छानवीनका लागि आयोगले सोही साल चैत ३१ गते उच्चस्तरीय समिति गठन गरी छानवीन गर्ने निर्णय गरी पूर्वन्यायाधीश ताहिर अली अन्सारीको संयोजकत्वमा फरेन्सिक विशेषज्ञ डा. हरिहर वस्ती, आयोगका मानवाधिकार अधिकृतद्वय मञ्जु खतिवडा र जीवन न्यौपाने सदस्य रहेको उच्चस्तरीय समिति गठन गरिएको थियो । 

सो समितिले गत असार ३२ गते काठमाडौँमा सार्वजनिक गरेको उक्त प्रतिवेदनमा ‘मलेठ घटनाको पनि सर्वपक्षीय विश्लेषण गर्दा फागुन २३ मा स्थानीय प्रशासन र सुरक्षा निकायको सुझाव विपरीत औद्योगिक क्षेत्रमा सभा गर्ने नेकपा (एमाले) र त्यसलाई जुनसुकै मूल्य चुकाएर भए पनि हुन नदिने वा बिथोल्न कटिबद्ध भई त्यहाँ जाइलाग्ने प्रदर्शनकारीको अगुवाइ गर्ने सप्तरी जिल्लाको मधेशी मोर्चा नै मुख्य दोषी रहेको’ भन्ने निष्कर्ष छ । 

औषधालयमा तोडफोड 

सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल हाताभित्र सञ्चालित औषधि बिक्री कक्षमा आज तोडफोड गरिएको छ । अज्ञात समूहले बिक्री कक्षमा तोडफोड गरी कम्प्युटर, फर्निचर तथा रु पाँच हजार मूल्य बराबरका औषधिमा क्षति पु¥याएको अस्पतालका इञ्चार्ज सूर्यकान्त झाले बताए । 

मदिरा सेवन गरी अस्पताल परिसरमा प्रवेश गरेको उक्त समूहले अन्धाधुन्ध तोडफोड गरी क्षति गराएको जनाइएको छ । अभियुक्तको तीव्र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप