शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

स्थिरताको वातावरण बिगार्नेको प्रतिवाद गर्न प्रचण्डको आग्रह

शुक्रबार, ०४ साउन २०७५, १९ : ३३
शुक्रबार, ०४ साउन २०७५

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अस्थिरतामा रमाउनेहरुले मुलुकमा स्थिरताको वातावरण बिगार्न लागेकाले त्यसको प्रतिवाद गर्दै समृद्धिको यात्रामा लाग्नुपर्ने बताएका छन् ।

नेपाल नेत्रहीन संघको रजत महोत्सवका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले अस्थिरताको फोहोर फालेर पाँचवर्षीय स्थिर सरकारको लक्ष्यअनुसार समाजवादउन्मुख समृद्ध नेपाल निर्माणमा लाग्नुपर्ने बताउँदै भने, ‘अस्थिरता र अराजकताबाट कुम्ल्याउनेहरु अहिले खुशी छैनन्, उनीहरु छट्पटिएका छन् । त्यसमा रमाउन पल्केकाहरु स्थिरताको वातावरण बिगार्न लागेका छन् ।’ 

अध्यक्ष दाहालले समावेशिता र समानुपातिकता दृष्टिले नेपालको संविधान विश्वकै उत्कृष्टमध्ये एक हो भन्दै यसको कार्यान्वयनका लागि ऐन, कानुन बनाएर अघि बढ्नुपर्नेमा जोड दिए । उनले समावेशी आयोगमा न्यूनदृष्टियुक्तको प्रतिनिधित्व गराइने प्रतिबद्धता व्यक्त गरे । 

सो अवसरमा राष्ट्रियसभाका सदस्य प्रकाश पन्तले अपाङ्गता भएका व्यक्तिहरुको अधिकारको रक्षाका लागि संविधानमा भएका व्यवस्था कार्यान्वयन हुनुपर्ने बताए । राष्ट्रिय अपाङ्ग महासंघका अध्यक्ष सुदर्शन सुवेदीले यस क्षेत्रको विकासका लागि अधिकारसम्पन्न प्रतिष्ठान खोलिनुपर्ने माग गरे । 

पत्रकार सिलवाल र न्यौपाने पुरस्कृत 

कार्यक्रममा अपाङ्गता र न्यूनदृष्टियुक्तको अधिकारका क्षेत्रमा पत्रकारिताबाट योगदान दिएवापत ‘राष्ट्रिय समाचार समिति’ (रासस) का प्रकाश सिलवाल र ‘कान्तिपुर’ दैनिक पत्रिकाका दामोदार न्यौपानेलाई जनही रु १० हजार राशिको पुरस्कार तथा नर्वेली परियोजना एनएविपीका निर्देशक हरिशरण विष्टलाई सम्मान र ११० न्यूनदृष्टियुक्तलाई लायन्स क्लब अफ काठमाडौँ, रेबो सिटीका तर्फबाट सेतो छडी वितरण गरियो । 

संघका निर्देशक नरबहादूर लिम्बूको मुक्तक संग्रह ‘अनुभूतिका झुल्काहरु’ को पनि विमोचन गरियो भने न्यूनदृष्टियुक्तका लागि डा बालकृष्ण बलले तयार गरेको ‘टेक्स्ट टु स्पिच’ सार्वजनिक गरियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप