शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पाँचौं राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाडमा १७ विद्यार्थी

शुक्रबार, ०४ साउन २०७५, १८ : ३५
शुक्रबार, ०४ साउन २०७५

काठमाडौँ । साउन १८ देखि २५ गतेसम्म सञ्चालन गरिने पाँचौँ राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाड २०१८ को तेस्रो चरणको बन्द शिविरका लागि १७ विद्यार्थी छनोट भएका छन् । 

नेपाल एष्ट्रोनोमिकल सोसाइटीले गत फागुन ५ गते सञ्चालन गरेको प्रवेश परीक्षामा सम्मिलित विद्यार्थीमध्ये उत्कृष्ट ३३ लाई दोस्रो चरण अर्थात् पूर्व बन्द शिविरमा सामेल गरिएको थियो । 

शिविरमा विद्यार्थीले टेलिस्कोप, आकाशीय नक्सा तथा सौर्य घडी बनाउने, प्रतिवेदन, कार्यपत्र तयार पार्ने, आफ्नो कार्यपत्र १० जोड दुईसम्म अध्ययनरत विद्यार्थीमाझ प्रस्तुत गर्ने तथा सूर्य अवलोकन गराउनेजस्ता गतिविधिमा सहभागिता जनाएका थिए । 

गतिविधिमा उत्कृष्ट प्रदर्शन गर्ने १७ जना विद्यार्थीलाई तेस्रो चरण अर्थात् बन्द शिविरका लागि छनोट गरिएको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले राससलाई जानकारी दिए । 

बन्द शिविरमा छनोटमा परेका विद्यार्थीलाई विज्ञबाट खगोल तथा भौतिक विज्ञानसम्बन्धी सैद्धान्तिक एवं व्यावहारिक ज्ञान दिइनेछ । शिविरको अन्तिममा गरिने छनोट परीक्षाबाट राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाड २०१८ को उत्कृष्ट पाँच विद्यार्थी घोषणा गरिने सोसाइटीले जनाएको छ । 

राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाड एक शैक्षिक प्रतियोगिता हो । कक्षा १२ सम्म अध्ययनरत र विश्वविद्यालयमा भर्ना नभएका २० वर्षभन्दामुनिका नेपाली नागरिकले सहभागिताका लागि आवेदन दिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप