बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

डा.केसीलाई तत्काल अनसन स्थगित गर्न सरकारको आग्रह

शुक्रबार, ०४ साउन २०७५, १८ : ३२
शुक्रबार, ०४ साउन २०७५

काठमाडौं– सरकारले डा.गोविन्द केसीलाई तत्काल अनसन त्याग्न आग्रह गरेको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले डा. केसीलाई अनसन स्थगित गर्न आग्रह गरेका हुन् ।
कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले अनशनरत डा. केसीको अनशन र आन्दोलनलाई केही दल र तत्वहरुले राजनीतिक हतियार बनाएकोले तत्काल केसीले अनशन स्थगित् गर्नुपर्ने बताए । उनले भने, ‘संसदमा चिकित्सा शिक्षा विद्येयक प्रस्तुत भएको छ, विद्येयकलाई अन्तिम रुप दिनको लागि डाक्टर केसीले अनशन स्थगन् गर्नुपर्छ ।’

मन्त्री ज्ञवालीले डाक्टर केसीको जीवन रक्षाको लागि सरकारले १० दिनअघि नै वीर अस्पतालका डाक्टरहरु जुम्ला पठाएको बताउँदै भने, ‘तर डाक्टरहरुलाई अस्पतालभित्र छिर्न दिइएन, उहाँको स्वास्थ्य अवस्था जटिल बनेको थियो, सरकारको सर्वोपरी कुरा उहाँको जीवन रक्षा गर्नु थियो, त्यसैले हामीले उहाँलाई हिजो हेलिकप्टरमार्फत काठमाडौं उपचार गर्न ल्याएका हौं ।’

उनले सरकारले हिजो जुम्लामा दमन र हस्तक्षेप गर्यो भनेर आरोपहरु लगाईएको गुनासो पोख्दै भने,‘अस्पतालमा ढुंगामुढा किन गरियो ? यसको जवाफदेही को हुन्छ ? उहाँले असल मनशायले अनशन बस्नुभएको हो, तर केही राजनीतिक दल र केही तत्वहरुले गलत ढंगले यसलाई राजनीतिकरण गरेका छन्, उहाँको अनशन र आन्दोलनलाई हतियार बनाए, यो कुरालाई डाक्टर केसीले बुझ्नुपर्छ ।’ डाक्टर केसीको विशुद्ध पेशागत कुरामा यस्ता खालका दागहरु लाग्न दिन नहुने उनको भनाई थियो । 

ज्ञवालीले भने, ‘त्यसैले डाक्टर केसीले अब भन्नुपर्छ मैले त असल मनशायका साथ अनशन बसेको थिएँ, तर केही राजनीतिक दल र गलत तत्वहरुले आफ्नो स्वार्थसिद्धीको माध्यम बनाउन थाले त्यसैले म यसबाट अलग भएँ भन्नुपर्छ, उहाँले अनशन स्थगित् गर्नुपर्छ, सरकारले वार्ता टोली बनाएको छ, हामी वार्ता गर्न सदैव तयार छौं, तर कसैले डाक्टर केसीको आन्दोलनलाइ राजनीतिकरण गर्न खोज्छ भने हामीलाई स्वीकार्य छैन् ।’ डाक्टर केसीका जायज मागप्रति सरकार लचिलो भएर छलफल गर्न तयार रहेको उनको भनाई थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप