शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

असार सकियो रोपाइँ सकिएन

आइतबार, ०१ साउन २०७४, १३ : २६
आइतबार, ०१ साउन २०७४

लमजुङ - जिल्लाका खेतीयोग्य जमिनमध्ये अझै पनि आधा भागमा रोपाइँ बाँकी छ । पर्याप्त पानी नपरेकाले रोपाइँमा ढिलाइ भएको हो । 

जिल्लाका केही भागमा जेठको अन्तिमबाट नै रोपाइँ शुरु गरिए पनि अधिकांश ठाउँमा रोपाइँ शुरु हुन नसकेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । समयमै पानी नपरेका कारण ५० प्रतिशत रोपाइँ अझै बाँकी छ । 

कार्यालय प्रमुख कृष्णभद्र अधिकारीले असार सकिँदा पनि जिल्लाका केही ठाउँमा मात्र रोपाइँ भएको बताउनुभयो । उहाँले जिल्लाका नौथर, घेर्मु, चिती र रामचोकमा रोपाइँ भइरहेको बताउनुभयो । 

जिल्लामा बर्खे र चैते धान गरी १६ हजार ४६३ हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ । जिल्लामा वार्षिक ५० हजार ८६२ मेट्रिक टन धान उत्पादन हुने सो कार्यालयले जनाएको छ । 

अलैंची प्रवद्र्धनका लागि प्रतिबद्धता 

मस्र्याङ्दी गाउँपालिकाका जनप्रतिनिधिले व्यावसायिक अलैंची खेतीको विकास र प्रवद्र्धनका लागि प्रतिबद्धता जनाएका छन् । 

जिल्लास्थित अलैंची व्यवसायी महासंघले आयोजना गरेको अन्तक्र्रियामा मस्र्याङ्दी गाउँपालिकाका प्रमुख अर्जुन गुरुङले अलैंचीको पकेट क्षेत्र निर्धारण गरी विकास र प्रवद्र्धनका कार्यक्रम अघि बढाइने बताउनुभयो । उहाँले अलैंची खेती विकासका लागि गाउँपालिकाको नीति तथा कार्यक्रममै उल्लेख गरेको बताउनुभयो । 

वडा नं ५ का अध्यक्ष लेखमान गुरुङ, वडा नं ८ का अध्यक्ष हीरादेवी घले, सदस्य चित्रीमाया तामाङलगायतले अलैंची खेती विस्तारका लागि वडा तहबाट प्रवद्र्धनका कार्यक्रम तयार गरिएको बताउनुभयो । 

सो गाउँपालिकामा मात्रै पाँच हेक्टरभन्दा बढी क्षेत्रफलमा अलैंची खेती हुन्छ । घनपोखरा, भुलभुले, खुदी, ताघ्रिङ, घेर्मु र बाहुनडाँडामा व्यावसायिकरुपमा अलैंची खेती गरिन्छ । अलैंची खेतीको प्रवद्र्धनमा सहयोग पु¥याउन जिल्लाका सबै स्थानीय तहमा जनप्रतिनधिसँग अन्तक्र्रिया गर्न लागिएको अलैंची व्यवसायी महासंघका जिल्ला अध्यक्ष अजय तामाङले जानकारी दिनुभयो । महासंघका अनुसार जिल्लाको साविकका ३६ गाविसमा व्यावसायिक अलैंची खेती गरिएको छ । 

मनाङमा एउटा मात्रै सडक दुर्घटना 

हिमाली जिल्ला मनाङमा सडक दुर्घटना अति न्यून छ । आर्थिक वर्ष ०७३÷७४ मा एउटा मात्रै सवारी दुर्घटना भएको ट्राफिक प्रहरी बिट धारापानीले जनाएको छ । 
“सडक जोखिमपूर्ण भए पनि सवारी दुर्घटना छैन”– प्रहरी जवान राजेन्द्र नेपालीले भन्नुभयो, “वर्षभरिमा एउटा मात्रै सवारी दुर्घटना भएको छ ।” 

एक महिनाअघि मात्रै पिसाङमा भएको सवारी दुर्घटनाबाट यहाँ दुई जनाले ज्यान गुमाएका थिए । अघिल्लो आवमा भने दुईवटा सवारी दुर्घटना भएको थियो । 

पाँच वर्षअघि नेपाली सेनाले मनाङसम्म सडक ट्र्याक खोलेको थियो । लमजुङ–मनाङ सडक खण्डको ट्रयाक खोल्ने क्रममा नौ जनाले ज्यान गुमाएका थिए । 

जोखिमपूर्ण सडकसँगै प्राकृतिक सुन्दरताले भरिपूर्ण मनाङ घुम्न बर्सेनि हजाराँै पर्यटक आउने गर्दछन् । विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा आउने पर्यटक पछिल्लो समय मोटर चढेर नै मनाङसम्म पुग्ने गरेका छन् । 

सडकखण्डमा लमजुङ क्षेत्र बढी जोखिम भएको सवारी चालक बताउँछन् । सडक स्तरोन्नति नहुँदा लमजुङको अधिकांश सडकखण्ड पहिरोले पुरिएको, भास्सिएको र गहिरा खाडल परेको छ । 

मनाङ सडकखण्डमा भने डरलाग्दो भिर भए पनि सडक स्तरोन्नति गरिएको छ । सडकको उच्च जोखिम भागमा सडक रेलिङसँगै ट्राफिक सूचना राखिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप