बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

डा. केसीका यी सात घटना : जसले बिहीबार दिनभर चर्चा पायो

बिहीबार, ०३ साउन २०७५, १८ : ३१
बिहीबार, ०३ साउन २०७५

काठमाडौं । मुलुकमा बिहीबार दिनभर डा. गोविन्द केसी प्रकरणले चर्चा पायो । सञ्चारमाध्यमदेखि सामाजिक सञ्जाल मात्रै होइन, प्रतिनिधिसभादेखि प्रदेशसभासमेत गोविन्द केसी प्रकरणमै रुमल्लियो । 

यस्तै मुलुकका प्रायःजसो सबै अस्पतालमा गोविन्द केसीको पक्ष र विपक्षमा प्रदर्शनहरु भए । काठमाडौंको वीर अस्पताल र विराटनगरको नोबेल मेडिकल कलेजमा डा. केसीको पक्षमा चिकित्सकहरुले सेवा अबरुद्ध गरेपछि बिरामी तथा बिरामीका आफन्तले प्रतिकार स्वरुप प्रदर्शन नै गरे ।

उनीहरुले बिरामीको स्वास्थ्यमाथि खेलवाड गर्ने काम चिकित्सकहरुबाटै भएको भन्दै सेवा सुचारु गर्न माग मात्रै गरेनन्, बिरामीको जीवन धरापमा पारेर चिकित्सकहरुले पदीय दुरुपयोग गरेको भन्दै आक्रोश समेत व्यक्त गरे ।

विराटनगरको नोबेल मेडिकल कलेजमा त बिरामी र उनीहरुका आफन्तहरु लाठीसहित नै खबरदारीमा जुटे ।

केसी प्रकरणमा के–के भयो त दिनभर ?

घटना नम्बर–१ 

बिहान आठ बजेतिर जुम्लामा अनसनरत डाक्टर गोविन्द केसीलाई काठमाडौं ल्याउन सरकारले सरकारी टोलीसहित हेलिकप्टर जुम्लातर्फ पठायो । 

लगत्तै शिक्षामन्त्री गिरिराजमणि पोखरेलले मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै डा. केसीलाई लिन सरकारी टोली जुम्ला पठाएको जानकारी दिए । 

पत्रकार सम्मेलनमा शिक्षामन्त्री पोखरेलले सरकारले डा. केसीको स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएको भन्दै पहिला उपचार त्यसपछि वार्ता र संवाद गर्ने बताएका थिए । उनले डा. केसीले भनेजस्तो विधेयक फिर्ता नहुने र मागहरु हुबहु पुरा गर्न पनि नसकिने स्पष्ट पारेका थिए । 

यसअघि बुधबार (हिजो) साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको आकस्मिक बैठकले डा. केसीलाई काठमाडौं ल्याउने निर्णय गरेको थियो । 

घटना नम्बर –२ 

सरकारी टोली डा. केसीलाई काठमाडौं ल्याउन लागेको समचारसँगै डा. केसीले बिहीबार बिहानै अडियो सन्देश दिए । उनले आफ्नो अडियो सन्देशमा आफ्ना माग पुरा नभएसम्म अनशन नतोड्ने दोहोर्याए  । २ मिनेट ५२ सेकेण्डको अडियो सार्वजनिक गर्दै डा. केसीले आफूलाई त्यहाँको चिकित्सक टोलीले उपचार गरिरहेको र त्यसवाट आफू सन्तुष्ट रहेको पनि बताए ।

उनले आफ्नो अभियान तुहाउन राज्यले अपहरण गरेर काठमाडौं लाने प्रयास भएको आफूले थाहा पाएको भन्दै आफू काठमाडौं नजाने पनि प्रस्ट्याए । उनले चन्दननाथ बाबाको काखमा सत्याग्रह बसेरै माग पुरा गराएरै छाड्ने दोहोर्याए । 

घटना नम्बर–३

कर्णालीका मुख्यमन्त्री महेन्द्र शाहीसहित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेको सरकारी टोलीलाई केसी समर्थकहरुले डा. केसीलाई भेट्न जाने क्रममा प्रतिष्ठानको गेटमै रोके । मुख्यमन्त्रीसहितको सरकारी टोलीलाई रोकेपछि केसी समर्थक र प्रहरीबीच धकेलाधकेल हुँदै झडप समेत भयो ।

झडपमा एक जना प्रहरीसहित एक दर्जनभन्दा बढि घाइते हुन पुगे । अस्पतालमा तोडफोड समेत भयो । झडपमा परी प्रहरीकै एक जवान (कमल उपाध्याय) गम्भीर घाइते भए । जसको अवस्था गम्भीर रहेको छ । 

घटना नम्बर –४

झडपपछि मुख्यमन्त्री शाही जुम्लास्थित नेपाली सेनाको गणमा पुगे ।  मुख्यमन्त्री सेनाको गणमा गएपछि केसीसँग वार्ता गर्न गठित सरकारी टोलीका संयोजक खगराज बराल, वार्ता टोली सदस्य शिक्षा विभागका गुणराज लोहनीलगायतको टोलीले केसी पक्षधरसँग झण्डै दुई घण्टा वार्ता गरे ।

त्यो बीचमा झडपको घटनाले अस्पताल आसपास तनावग्रस्त भैसकेको थियो । अस्पताल रणसंग्राम जस्तै बनेपछि डा. केसी काठमाडौं जान तयार भए ।  

घटना नम्बर–५

वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै काठमाडौंमा बृहत प्रर्दशन भयो ।

वरिष्ठ चिकित्सक केसीको जीवन रक्षाको माग गर्दै दिउँसो काठमाडौंको माईतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म ¥यालीसहितको विरोध प्रर्दशन भयो । काँग्रेस निकट चिकित्सकहरुको आह्वानमा आयोजना गरिएको प्रर्दशनमा वरिष्ठ चिकित्सक केसीको माग तत्काल सम्बोधन गर्न माग गर्दै सरकारविरुद्ध चर्का नाराबाजी गरेका थिए ।  

विरोध प्रर्दशनपछि नयाँ बानेश्वरमा आयोजित कोणसभामा बोल्दै नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले केसीको माग तत्काल सम्बोधन नगरे देशभरका अस्पतालको सबै सेवा अनिश्चितकालसम्मका लागि बन्द गर्न बाध्य हुने चेतावनी दिए ।

घटना नम्बर–६

आजका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित भयो । बिहीबार १ बजेका लागि बोलाईएको बैठक संसद सचिवालयले सूचना टाँसेर ११ गतेसम्मका लागि स्थगित भएको जानकारी गरायो ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बिहीबारको बैठक अवरोध गर्ने जनाएको थियो ।

बैठकमा बिमा विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले प्रस्तुत गर्नुभएको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने र अर्थमन्त्री युवराज खतिवडाले बिमा विधेयक २०७५ प्रस्तुत गर्ने कार्यतालिका थियो । 

घटना नम्बर–७

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले अवरोध गरेपछि प्रदेश ३ को प्रदेशसभा बैठक पनि स्थगित भयो । केसीको माग सम्बोधन हुनुपर्नेसहित सभामुख र उपसभामुख एकै दलको भएको, मूल्यवृद्धि भएको, संविधान विपरित जनयुद्ध शब्दावलीको प्रयोग गरिएको, गिटी, ढुंगा, बालुवामा लगाइएको कर बढि भएको भन्दै काँग्रेसले अवरोध गरेपछि बिहीबार हेटौडामा बसेको प्रदेश ३ को प्रदेशसभा बैठक स्थगित भएकोे हो । 

बैठकमा विशेष समय लिएर बोल्दै प्रमुख प्रतिपक्ष दलका नेता इन्द्र बाँनियाले सरकारले पूर्ववर्ती सरकारले ल्याएको अध्यादेशलाई तोडमोड गरेर ल्याएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक फिर्ता नलिएसम्म सदन अवरोध गर्ने घोषणा गरेका थिए ।

त्यसपछि सभामुख सानुकुमार श्रेष्ठले बैठक भोली शुक्रबार ११ बजेसम्मका लागि स्थगित गरिएको घोषणा गरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप