मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

आईडीपी एडूकेसनद्धारा नेपाली विद्यार्थीका लागि अन्तर्राष्ट्रिय शिक्षा छात्रवृत्तिको घोषणा

बिहीबार, ०३ साउन २०७५, १६ : ५५
बिहीबार, ०३ साउन २०७५

काठमाडौं । अन्तर्राष्ट्रिय शिक्षा परामर्श प्रदान गर्ने संस्था आईडीपी एडूकेसनले नेपाली विद्यार्थीहरुका लागि अस्ट्रेलियन डलर ५० हजार बराबरको छात्रवृत्तिको घोषणा गरेको छ । आईडीपीले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी उक्त छात्रवृत्तिको घोषणा गरेको हो ।

अस्ट्रेलियाको धितोपत्र बोर्डमा सूचीबद्ध कम्पनी आईडीपीले नेपालका विद्यार्थीहरुलाई गुणस्तरिय एवं अन्तर्राष्ट्रिय शिक्षाको पहुँच विस्तार गर्न सहयोग पुर्याउने उद्देश्यले उक्त छात्रवृत्तिको घोषणा गरेको बताएको छ । कार्यक्रममा आईडीपीका सिईओ एन्ड्रयू बार्कलाले नेपालका विद्यार्थीहरुको लागि थप अवसरहरु सिर्जना गर्न आईडीपीले दस महत्वाकांक्षी नेपाली विद्यार्थीहरुलाई अन्तर्राष्ट्रिय शिक्षा छात्रवृत्ति प्रदान गर्ने बताए ।

उनले विद्यार्थीहरुको छनौट प्रतिस्पर्धा तथा शैक्षिक योग्यताको आधारमा गरिने पनि बताए । सीईओ बार्कलाले यो अवसरले नेपाली विद्यार्थीहरुलाई आष्ट्रेलियामा अन्तर्राष्ट्रिय डिग्री हासिल गर्न मात्र नभएर उनीहरुको उज्ज्वल भविष्य निर्माणमा पूर्ण सहयोग पुर्याउँदै एक दक्ष व्यक्तिको रुपमा स्थापित गर्ने विश्वास व्यक्त गरे । उनले नेपालका केही गैर सरकारी संस्थाहरुसँग सहकार्य गरी गुणस्तरीय शिक्षाको पहुँच नभएका बालबालिकाहरुलाई सहयोग गरी शिक्षाको मार्ग सहज गर्न तत्पर रहेको पनि बताए । 

कार्यक्रममा आईडीपी एडूकेसनका दक्षिण एशिया क्षेत्रीय निर्देशक पियुश कुमारले नेपालमा आईडीपीको पहिलो स्टुडेन्ट प्लेसमेन्ट सर्भिस अफिस शुरु गर्न गएकोमा खुशी व्यक्त गरे । उनले स्टुडेन्ट प्लेसमेन्ट सर्भिस अफिसको स्थापना पछि नेपालका विद्यार्थीहरुलाई अन्तर्राष्ट्रिय शिक्षा हासिल गर्न पद्दत पुगोस भनेर उच्च स्तरको सेवा उपलब्ध गराउन चाहेको बताए ।

उनले अन्तर्राष्ट्रिय शिक्षाको पहुँचको एक महत्वपूर्ण निर्णय भनेको सही विषय, विश्वविद्यालय र उपयुक्त शहरको छनौट भएकाले यसमा अन्तर्राष्ट्रिय शिक्षा परामर्श सेवाको महत्वपूर्ण भूमिका हुने बताए । आईटीपीका प्रशिक्षित र अनुभवी परामर्शदाताहरुले विद्यार्थीहरुलाई विस्वसनिय माध्यमबाट यो अवसरहरु प्रदान गर्ने र यी सवै सेवाहरु निःशुल्क लिन सकिने निर्देशक कुमारले जानकारी दिए ।

आईडीपी कस्तो संस्था हो:

आईडीपी एडूकेसन अन्तर्राष्ट्रिय शिक्षा परामर्श सेवा प्रदान गर्ने निकाय हो । १०० भन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थी सेवा केन्द्रहरुको नेटवर्कको साथ आईडीपीे ३० भन्दा बढी देशहरुमा फैलिएको छ । आईडीपी एएसएक्स (अष्ट्रेलियन सेक्युरीटी एक्सचेन्ज)मा सूचीबद्ध कम्पनी पनि हो ।

जसमा ५० प्रतिशत अष्ट्रेलियन विश्व विद्यालयहरुको स्वामित्व रहेको छ । विगत ५० वर्षदेखि आईडीपीले अन्तर्राष्ट्रिय शिक्षामा विद्यार्थीहरुको पहुँचको लागि परामर्श सेवा प्रदान गरी विशेष भूमिका खेल्दै आईरहेको छ । आईडीपीले हालसम्म ४ लाख भन्दा बढी विद्यार्थीहरुलाई अष्ट्रेलिया, यूके, यूएसए, क्यानडा, न्यूजील्याण्ड र हालै आयरल्याण्ड लगायतका देशहरुमा भर्ना गरिसकेको छ ।

आईडीपीले संसारभरिका ६५० भन्दा बढी प्रसिद्ध विश्वविद्यालयहरु र कलेजहरुसँग सहकार्य गर्दै आईरहेको छ । आईडीपीले अन्तर्राष्ट्रिय शैक्षिक यात्रामा विद्यार्थीहरुलाई सहयोग पुर्याउन अष्ट्रेलिया र न्यूजील्याण्डमा पनि कार्यालयहरु स्थापना गरेको छ । आईडीपीको लोकप्रिय अंग्रेजी भाषा परिक्षण परिक्षाको रुपमा चर्चित “आईईएलटीएस” मा समेत स्वामित्व रहेको छ । 

आईडीपीले नेपालका विद्यार्थीहरुलाई आफ्नो अन्तर्राष्ट्रिय शिक्षाको लक्ष्य हासिल गर्न सघाउ पुर्याउने उद्देश्यले अगस्ट १सम्ममा काठमाडौंमा सम्पर्क कार्यालय खोली विद्यार्थी भर्नासँग सम्बन्धित व्यवस्थापन सेवा दिने योजना पनि अघि सारेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप