केन्द्रीय संस्करण

काठमाडौं महानगर भन्छः ‘फोहर उठ्न थालिसक्यो’

person access_timeसाउन ३, २०७५ chat_bubble_outline0

–शर्मिला पाठक 

काठमाडौँ– कालिमाटी चोकदेखि बल्खु निस्कँदा झण्डै एक दर्जन स्थानमा फोहरको डंगुर देखिन्छ । काठमाडौँका कैयौँ स्थानको अहिले यस्तै अवस्थाले नागरिकको जनजीवन प्रभावित भएको छ ।  कामपाबाट दैनिक ५०० मेट्रिक टन र काठमाडौँ उपत्यकाबाट दैनिक एक हजार मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन हुन नसकेकाले अहिले सडकको दायाँ–बायाँ थुपारिएको फोहर माथिबाट यातायातका साधन र सर्वसाधारण आवतजावत गर्न बाध्य छन् । 

कामपाका सहप्रवक्ता नवराज ढकाल गत मंगलबारबाट नियमित फोहर उठिरहेको जानकारी दिन्छन् । नियमित फोहर उठिरहेको समयमा पनि किन जहातहीँ फोहोर छ त भन्ने प्रश्नको जवाफमा उनी लामो समयदेखि उठ्न नसकेको फोहर एकै दिनमा व्यवस्थापन गर्न नसकिने भएकाले त्यस्तो भएको बताउँछन् । 

सहप्रवक्ता ढकाल भन्छन्ः ‘आगामी तीन दिनमा कामपाका कुनै पनि स्थानमा फोहर रहने छैनन् । काठमाडौँ सफा हुन्छ त्यसमा दुई मत छैन ।’ कामपाले नियमितरूपमा फोहर संकलन गर्दै आएको नुवाकोटस्थित सिसडोलमा फोहर राख्ने स्थानको अभाव हुँदा नियमित फोहर उठ्न नसकेको हो । 

सिसडोलमा व्यवस्थापन गर्ने स्थानमात्र होइन बर्खाका कारण बाटो पनि बिग्रिएको र मर्मतको काम भइरहेकाले फोहरको नियमित व्यवस्थापन गर्न समस्या भएको थियो ।  वर्षात्को समय छ, नियमितजसो पानी परी नै रहन्छ अहिले धेरै पानी नपरेकाले बाटो मर्मतको काम सकेर फोहर लाने काम भइरहेको छ, ठूलो पानी पर्यो भने पुनःफोहर व्यवस्थापनमा समस्या नआउला भन्न सकिँदैन उनको भनाइ छ । 

नियमितरूपमा फोहर संकलन कार्य शुरु भए पनि लामो समयदेखि रोकिएको फोहर व्यवस्थापनका लागि समय लाग्ने भएकाले आ–आफ्ना घरबाट निस्केको फोहर अन्यत्र नफाली हाललाई घरमा नै व्यवस्थापन गर्न आग्रह गर्दै कामपाले घरमा नै फोहरको गाडी आउने जनाएको छ । 

कामपाले नियमित फोहर उठाउन थालेपनि बालाजुकी मञ्जु कँडेलले एक महिनादेखि आफ्नो घरमा फोहर लिनका लागि गाडी नआएको बताइन्।  उनी भन्छिन्– ‘बर्खाको समयमा घरको भान्साबाट धेरै फोहर निस्कन्छ अन्य समयकोभन्दा छिटोछिटो फोहर लिन आउनुपर्ने भए पनि एक महिनादेखि फोहर लिनका लागि कामपाको कुनै पनि गाडी नआउँदा आफ्नै घरमा फोहरको डंगुर भइसकेको छ ।’ 

फोहरका कारण आक्रोसित अर्का नगरवासी दीपा तामाङ भन्छिन्– ‘पैसा लिन महानगर कहिल्यै भुल्दैन तर फोहर लिनका लागि सधैँ खेलाची गर्छ, बर्खा लाग्यो कि जहिले पनि यस्तै हो ।’ 

‘घरमा मात्रै होइन बाहिर निस्कँदा पनि फोहरको डंगुर मात्र देखिन्छ । आवतजावत गर्न पनि समस्या भएको छ खै जनप्रतिनिधि के हेरेर बसेका छन् निर्वाचनको समयमा पहिलो प्राधमिकतामा सफा काठमाडौँलाई राखेका थिए, अहिलेसम्मलाई हेर्दा नारामै सीमित छ जनप्रतिधिको आवाज’, उनको गुनासो छ । 

केही वर्षअघि नै हाल फोहर व्यवस्थापन गर्दै आएको स्थानभन्दा केही पर बञ्चरेडाँडामा दीर्घकालीनरूपमा काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन गर्ने केन्द्र निर्माण गर्ने भनेकामा अहिलेसम्म पनि केही काम भएको छैन । 

महानगरपालिकाले फोहर व्यवस्थापनका लागि स्थानको स्थानको छनौट केन्द्र सरकारले गर्नुपर्नेमा जोड दिँदै आएको छ भने केन्द्र सरकाले पनि स्थानीय समस्या स्थानीय तहबाट नै समाधान हुनुपर्ने धारणा व्यक्त गर्दै आएको छ । 

काठमाडौँ महानगरपालिकाले आजभन्दा १२ वर्षअघि नै दुई वर्षका लागि फोहर व्यवस्थापन गर्न उक्त स्थान लिएको थियो । सम्झौताभन्दा लामो समयसम्म निरन्तर फोहर थुपार्दै आएकाले आफूहरूको दैनिक कामकाजमा समस्या भएकाले सिसडोलका बासिन्दाले तत्काल फोहर व्यवस्थापनको काम अन्त्य गर्न कामपालाई आग्रह गर्दै आएका छन् । 

आज १२ वर्ष बितिसक्दा पनि समयमै विकल्प नखोज्दा अहिले कामपालाई फोहर व्यवस्थापन गर्न समस्या भएको छ । 

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ