शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काठमाडौँमा किन बढ्यो ह्वात्तै गर्मी ? केही स्थानमा ठूलो वर्षा हुनसक्ने संकेत

बिहीबार, ०३ साउन २०७५, १४ : १२
बिहीबार, ०३ साउन २०७५

काठमाडौँ– आगामी तीन दिनसम्म देशका मध्ये तथा पश्चिमी भेगका केही स्थानमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै महाशाखाले देशका अधिकांश भेगमा आंशिकदेखि सामान्य बदली भई मध्य र पश्चिमका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना औँल्याएको छ । 

आज दिउँसो देशका अधिकांश भेगमा बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनसक्छ भने रातिको समयमा देशभर नै सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यमखालको वर्षा हुनसक्छ । 

साथै आज देशको पश्चिम र मध्य क्षेत्रका एक÷दुई स्थानमा ठूलो वर्षाको पनि सम्भावना रहेको छ । भोलि शुक्रबार दिउँसोको समयमा देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुनसक्ने सम्भावना छ । रातमा पनि बदली रही धेरैजसो स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने र पश्चिम तथा मध्य क्षेत्रका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । पर्सि शनिबार पनि यस्तै किसिमको मौसम रहने बताइन्छ । 

काठमाडौँमा गर्मी बढ्यो 

बिहान र बेलुका सामान्य वर्षा भए पनि दिउँसोपख निरन्तर घाम लाग्ने गरेका कारण तापक्रम वृद्धि भई काठमाडौँ उपत्यकामा गर्मी बढेको छ । 

मनसुनी वर्षा तुलनात्मक रुपमा कम भई चर्को घाम लाग्दा दुई दिनदेखि उपत्यकाको तापक्रम बढेको हो । 

काठमाडौँसहित देशभर अझै एक/दुई दिन गर्मी बढ्ने मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए । वायुमण्डल सफा भई घाम सिधा जमीनमा पर्ने भएकाले एक्कासी तापक्रममा वृद्धि आएको हो । 

मनसुन न्यूनचापीय रेखा नेपालको तलतिर रहेकाले अहिले खण्ड खण्डमा वर्षा हुने गरेको छ । आगामी असार ५ गतेदेखि मनसुनी गतिविधि पुनः सक्रिय भई देशको मध्य र पूर्वी भेगमा वर्षाको सम्भावना रहेको मौसमविद् अर्यालको भनाइ छ । 

हिजो बुधबार र आज काठमाडौँको अधिकतम तापक्रम ३१.६ र न्यूनतम तापक्रम २१.४ डिग्री सेल्सियस रह्यो । एक साताअघि उपत्यकाको अधिकतम तापक्रम २४ देखि २७ सम्म पुगेको थियो । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सबैभन्दा बढी नेपालगञ्जको अधिकतम तापक्रम ३८.३ र न्यूनतम २६.८ डिग्री सेल्सियस पुगेको छ । सबैभन्दा कम जुम्लाको अधिकतम तापक्रम २४ डिग्री सेल्सियस रहेको छ । आज ताप्लेजुङमा २९, डडेलधुरामा १६ र नेपालगञ्जमा ६ मिलिमिटर वर्षा भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप