शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा आजबाट लाग्यो बक्स अफिस, चलचित्र क्षेत्रमा यसको फाइदा के ?

मङ्गलबार, ०१ साउन २०७५, १८ : ४७
मङ्गलबार, ०१ साउन २०७५

काठमाडौं –सरकारले लामो प्रयासपछि मंगलबारबाट बक्स अफिस प्रणाली लागू गरेको छ । संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले मंगलबार चलचित्र विकास बोर्ड चाबहिलमा आयोजित एक कार्यक्रममा बक्स अफिस प्रणालीको शुभारम्भ गरे ।

कार्यक्रममा नेपाली चलचित्रको सबै पाटोलाई पारदर्शी बनाउने व्यवस्था सहितको डाटा राख्न बक्स अफिस प्रणालीको सुभारम्भ गरिएको मन्त्री बास्कोटाले बताए । उनले छिट्टै नेपाली चलचित्र हलहरुको वर्गीकरण गर्ने घोषणा पनि गरे । 

बक्स अफिसको व्यवस्थाले चलचित्र उद्योगमा लगानी नडुब्ने, कलाकारहरुले पनि उचित पारिश्रमिक पाउने तथा राज्यले पनि यस क्षेत्रबाट उचित राजस्व संकलन गर्ने मन्त्री बास्कोटाको भनाई रहेको थियो ।

कहाँ लागु भो बक्स अफिस 
सरकारले देशभर बक्सअफिस लगाउने योजना बनाएको छ । तर यसको शुरुवात काठमाडौं उपत्यकाबाट गरेको छ । आजबाट उपत्यकाको सम्पूर्ण चलचित्र भवनमा लागू हुनेछ । यो प्रणालीमा नेपाली चलचित्र उद्योगको लगानी, कलाकारहरुको पारिश्रमिक, हलको व्यवस्था र राज्यले पाउने राजस्वको सबै विवरण समावेश गरिएको हुन्छ । नेपाल चलचित्र विकास बोर्डले तयार पारेको यो प्रणालीलाई प्रभावकारी कार्यान्वयनका लागि सरकारले सहजीकरणको भूमिका निर्वाह गर्ने उद्घाटन कार्यक्रममा मन्त्री बास्कोटाले स्पष्ट पारेका छन् । 

१.    सेन्ट्रल सिनेमाज् प्रा.लि., सुन्धारा, काठमाडौं
२.    सिने डि सेफ कम्पनी प्रा.लि., सुन्धारा, काठमाडौं
३.    सिनेमार्क मुभिज प्रा.लि., दरबारमार्ग, काठमाडौं
४.    जयनेपाल चित्रघर,   नक्साल, काठमाडौं
५.    म्याक्स ईन्टरटेनमेन्ट प्रा.लि. , बागबजार, काठमाडौ
६.    सिने स्टार प्रा.लि. ,  कमलपोखरी, काठमाडौं
७.    कुमारी चित्र मन्दिर,  कमलपोखरी, काठमाडौ
८.    के.एल.सिनेमा सिटी प्रा.लि. , चुच्चेपाटी, काठमाडौ
९.    सार्थक इन्टरटेनमेन्ट प्रा.लि., गोंगबु, काठमाडौ
१०.    ललित सिनेमाज् प्रा.लि, पुलचोक, ललितपुर
११.    छायाँ सिनेमाज् प्रा.लि., ठमेल, काठमाडौं
१२.    पृथ्वी चलचित्र मन्दिर    बौद्ध, काठमाडौं
१३.    सिद्धार्थ सिनेमा प्रा.लि.    बौद्ध, काठमाडौं
१४.    गोपीकृष्ण मूभिज् प्रा.लि.    चाबहिल, काठमाडौं
१५.    अष्टनारायण पिक्चर्स प्रा.लि.    बालाजु, काठमाडौं
१६.    गंगा चलचित्र मन्दिर    बालाजु, काठमाडौं
१७.    कलंकी चलचित्र मन्दिर    कलंकी, काठमाडौं
१८.    गुण सिनेमा प्रा.लि.    ग्वार्को, ललितपुर
१९.    बाराही मुभिज् प्रा.लि.    सुर्यविनायक, भक्तपुर
२०.    विश्वज्योती सिनेमा भवन प्रा.लि.    जमल, काठमाडौं

बक्स अफिस के हो ?
बक्स अफिस सामान्य भाषामा भन्ने हो भने चलचित्र हेर्न हलमा प्रवेश गर्ने टिकट काटिने डिजिटल माध्यम हो । चलचित्रले प्रदर्शनबाट कमाएको वास्तविक कमाइको निस्पक्ष रुपमा विवरण देखाउने प्रणाली हो बक्स अफिस ।

बक्स अफिसको के फाइदा ?
बक्सअफिस प्रणाली जडान भएपछि कुन हलमा कति टिकट बिक्री भयो, कुन हलमा कति दर्शक थिए । सबैको आधिकारिक तथ्यांक लिन सकिन्छ । यसअघि चलचित्र प्रदर्शकले चलचित्रको वास्तविक आम्दानी निर्माता र वितरकहरुलाई नदेखाउने गरेको गुनासो रहँदै आएको छ । बक्स अफिस यो लागू भएपछि कुन हलमा कतिको टिकट बिक्री भयो भन्ने अनलाइनमा नै देखिने भएकाले हल सञ्चालक, निर्माता र वितरक  बीचको असमझदारी रहने छैन । आफ्नो चलचित्रको प्रत्येक शोको पूर्ण विवरण निर्माता तथा वितरकले घरमै बसेर सजिलै थाहा पाउन सक्नेछन् ।

यसले निर्माताहरुलाई पनि बाँध्ने काम गर्नेछ । किनकि निर्माताहरुले आफ्नो चलचित्रलाई ‘हिट’ (राम्रो व्यापार गरेको) चलचित्रका रुपमा देखाउन बढाईचढाई व्यापारको हल्ला फिजाउने गरेका छन् । जबकी वास्तविक व्यापारको आँकडा देखाउने पद्धति नै थिएन ।

यस्तो अवस्थामा कि त उनीहरुले पाएको पैसा फिल्मले कमाएको मानिन्थ्यो, कि त हलवालाले दिएको हिसाब नै उनीहरुको चलचित्रको कमाई हुन्थ्यो । अब बक्स अफिस लागू भएपछि भने चलचित्र क्षेत्रको कमाई प्रस्ट हुने भएकोले गलत प्रचारको ट्रेनको अत्य गर्नेछ । बक्स अफिसबाट निर्माताले कति लगानी गरे उठाउन सकिन्छ भन्ने समेत राम्ररी बुझ्न सक्नेछन् । चलचित्रको कमाई तलमाथि हुन्छ, भनेर निर्माताले प्रत्येक हलमा एक–एकजना जाँचकी राख्नुपर्ने थियो । बक्स अफिसले निर्माताको त्यो खर्चमा समेत बचत गर्नेछ । 

हिट र फ्लपको जानकारी ?
बक्स अफिस नहुँदा कति टिकट बिक्री भएको हो भन्ने वास्तविक तथ्यांक हलवालालाई बाहेक अरु कसैलाई जानकारी हुँदैन थियो । निर्माताले आफु खुसी चलचित्रको हिट भएको दाबी गर्दथे । बक्स अफिसमा अनलाइन डाटाको माध्यमबाट चलचित्रको कमाईको सम्पूर्ण जानकारी प्राप्त गर्न सकिने भएकोले चलचित्र हिट हो वा फ्लप सजिलै थाहा पाउन सकिन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप