शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

देउता चढेपछिका नेताका भाषण

मङ्गलबार, ०१ साउन २०७५, १६ : ३३
मङ्गलबार, ०१ साउन २०७५

“नद्विषन्ति न याचन्ते परनिन्दां न कुर्वते । अनाहूता न चायान्ति तेनास्मानोपि देवता । अर्थात् कसैको रिस द्वेष गर्दैनन्, यो ले त्यो ले भनेर माग्दैनन्, अर्काको चियो चर्चो निन्दा गर्दैनन् ,नबोलाईकन घरमा त्यसै ढिम्किन आउँदैनन् यसै भएर पनि ढुङ्गाहरु देउता हुन् ।”
  —नीतिवचन

एकादेशमा एक जना नेताजी भाषण गर्दैथिए । भाषण गर्दागर्दै देउता चढेछ । ढुङ्गाको देउता होइन, बुङ्गाको देउता चढेछ । देउता चढेपछि धामी झाँक्रीहरु बर्बराउँथे । नेताजी पनि भाषणमै अचानक बर्बराउन थाले ।

हे जनता जनार्दन, हे अन्नदाता देउता, तपाईँहरुलाई हामी नेताहरुको रातो अभिवादन ! सेतो अभिवादन !! रंगीचंगी अभिवादन !!! तपाईँहरु महान् हुनुहुन्छ । तपाईँहरुको महानतालाई अभिवादन ! तपाईँहरुका महानताको हामी प्रशंसा गर्छौं । तपाईँहरुका धैर्यको त हामी अझ मुक्तकण्ठले नै प्रशंसा गर्छौँ । तपाईँहरुले जस्तै दःुखकष्ट पनि बेहोर्नसक्ने क्षमता प्रदर्शन गर्नुभएको छ । भारतले नाकाबन्दी गर्दा महिनौंसम्म चुल्हो नबले पनि, व्यवसाय नचले पनि तपाईँहरु हिमालजत्तिकै अडिग हुन सक्नुभएकै हो । तपाईँहरुको देशभक्ति र राष्ट्रप्रेमको महिमा अपरम्पार छ । अखबारका पाना पढ्ने हो भने र रेडियोका गाना सुन्ने हो भने मुलुकका भाग्यनियन्ता भनिएका ठूलाबडाहरु भ्रष्टाचारमा रमेका छन् । कालोबजारीमा नाचेका छन् । तस्करीमा हाँसेका छन् । जनताका भागमा महंगी छ । अभाव छ । बेरोजगारी छ । चौतर्फी विपन्नता छ । अकिन्चनता छ । असुरक्षा छ । अन्याय छ । अत्याचार छ । 

यति हुँदा पनि हे आदरणीय जनसमुदाय, हे जनता जनार्दन, तपाईँहरुले मुख खोल्नुभएको छैन । आवाज निकाल्नु भएको छैन । धैर्यधारण गरिरहनुभएको छ । तपाईँका दुःख कष्टमा हामी नेताहरु मौनधारण गर्छौँ । हाम्रो सुख सयलमा तपाईँहरु धैर्यधारण गर्नुहुन्छ । यो आपसी समझदारीको लक्षण हो । यो जिम्मेदारीको लक्षण पनि हो । तपाईँहरु सर्वलक्षणसम्पन्न हुनुहुन्छ हे जनताजनार्दन, हे महान् जनता,, तपाईँहरुलाई देखेर हामी यस देशका वर्तमान र निवर्तमान राजनेताहरु सबै अभिभूत छौँ । तपाईँहरु अझै धैर्य गर्नुहोस् । अझै दुःखकष्ट सहनुहोस् । फेरि नाकाबन्दी भयो र चुल्हो बलेन भने पहिलेजस्तै  च्युरा चपाउनुहोस् । चामल,गहुँ, मकै, कोदो जे फेला पर्छ मुठ्याएर चपाउनुहोस् । नपाकेको अन्न विशेष तागतिलो हुन्छ । भोकको झोकमा मिठै हुन्छ । खानुस् । टन्न पानी पिउनुस् । हामी देवतालाई काँच्चै अक्षता चढाउँछौं । बाँदरले काँच्चै मकै चपाउँछ । देवता खुसी छन् । बाँदर बलियो छ । यसबाट शिक्षा लिनुस् । काम छैन । रोजगारी छैन । कतै आवतजावत गर्न यातायात साधन पनि उपलव्ध छैन । हो, तपाईँहरुसँग केही पनि छैन । जनता जनार्दनसँग के हुन्छ र ? दुनियाँदारसँग के हुन्छ र ? हुँदैन नि । नभएकोमै सन्तोष गर्नुहोस् । गौरव गर्नुहोस् । भगवान् शिवसँग के छ ? बजरंगबली हनुमानसँग के छ ? कतै पुराण लागेको छ भने गएर सुन्नुहोस् । भूकम्पले बास भत्केको छ त के भो ? कतै कतै चउर छ । खेतबारीका छेउछाउ छन् । त्यो पनि नभए बाटो छ । सडक छ । कतै ओडार भेटिन सक्छ । नभए कतै चौतारो बाँकी होला । झुरुम्म भएर बस्नुहोस् । झुरुम्म भएर सुत्नुुहोस् । आपसमा तातो आउँछ नि , हो, त्यो त कसैले रोक्न छेक्न र खोस्न सक्दैन । जाडो शीत हिँउद वर्षा सबै सहिदिनुहोस् । सहनु महान् तपस्या हो । हाम्रा पूर्वजहरु तपस्या गर्थे । गर्मीमा तराईका मैदानमा पन्चाग्नी तापेर तपस्या गर्थे । जाडोमा हिमालमा नांगै चिसो ढुंगामाथि पलेंटी कसेर तपस्या गर्थे । तपाईँहरु पनि तपस्या गर्नुहोस् ।
  

 नेपाल त्रेता युगदेखिकै तपोभूमि हो । अत्री, विश्वामित्र, वाल्मीकि, वेदव्यास, बुद्ध सबैले तपस्या गरेको भूमि हो नेपाल । नागार्जुनले नेपालकै जङ्गलमा आएर तपस्या गरेका थिए । उनकै तपस्थलि हुनाका कारण आज पनि त्यस जङ्गलको नाम नागार्जुन रहिरहेकै छ । नेपाल बुद्धको जन्मभूमि पनि हो । बुद्धले क्षमा सिकाउनु भएको छ । सहनशीलता सिकाउनु भएको छ । अहङ्कार दमनका लागि बुद्धले भिक्षाटन सिकाउनु भएको छ । 

परिव्रज्या सिकाउनु भएको छ । हे जनताजनार्दन , ऋषिहरु अकिन्चन थिए । रुखका बोक्राका लंगौटी कस्थे, कन्दमूल खोजेर खान्थे ।  मुनिहरु जस्तोसुकै दुःखकष्टमा पनि मौन बस्थे  मौनता नै तपस्या थियो । यसै मौनताबाट तिनीहरुको नाम मुनि भएको थियोे । हे जनता जनार्दन, यति पवित्र भूमिमा जन्मेका तपाइँहरु ऋषि किन नहुने ? मुनि किन नहुने ? बुद्ध किन नहुने ? परिव्रज्या किन नलिने ? लिनुहोस्, परिव्रज्या लिनुहोस् । बढीभन्दा बढी जनता जनार्दनले परिव्रज्या लिनुहोस् । बीस तीस पचास लाखले किन ? करोडले परिव्रज्या लिनुहोस् । कोटि कोटि जन परिव्राट् बन्नुहोस् । खाडी मुलुकहरु छन् । जान पाइन्छ । जानुस् । अरु मुलुक पनि छन् । जहाँ जान सक्नुहुन्छ त्यहाँ जानुहोस् । सके बाँच्नुहोस् नसके मरिदिनुहोस् । विदेशमा मर्नुको पनि इज्जत छ । बाकसमा सुतेर नेपाल फर्कन पाइन्छ ।
    हो, हामीसँग सम्वेदना छैन । दुखित पीडितहरुसँग सहानुभूति छैन । समानुभूति त छँदैछैन । त्यो हाम्रो संस्कारमै छैन । हामी जे पनि भन्न सक्छौं । अरुको दुःखमा हाँस्न रमाउन पनि सक्छौं । दुःखीलाई गिज्याउन सक्छौं । दुःखमा दुःख थपिदिन पनि सक्छौं । हामी अनशन बसेका सत्याग्रहीलाई अजीर्ण भएर लम्पसार परेको बुढो भनिदिन पनि सक्छौं । हामीलाई अनुप्रास प्रिय छ । अनुप्रास मिलाएर हामी जे पनि भन्छौं । भनिआएका छौं ।
 

    यस्तै हो । हामी त लोभी भयौं । पापी भयौं । द्रव्यपिशाच भयौं । भोगी विलासी भयौं । भोगविलास धान्नकै लागि पनि राजनीतिमा लाग्यौं । हामी राजनीतिमा डुव्यौं । फालीगुण्डा, जालीठेकेदार, सर्वतोमुखीतस्कर र भ्रष्ट कर्मचारीहरुसँग मिलेर हामीले प्रकारान्तरले देश खाएका छौं । जनता खाएकाछौं । हामी जति खाए पनि नपुग्ने दरिद्र बनिसकेका छौं । हामी त्यागी बन्न सक्दैनौ । यदाकदा अजीर्णले गिडगिडाउने अपानवायु बाहेक हामी अरु केही त्याग गर्न सक्दैनौं । हे जनता जनार्दन, हामी त डुब्यौं । हाम्रो निस्तार छैन । तपाईँहरु नडुब्नुहोस् । राजनीतितिर लालायित नहुनुहोस् । तपाईँहरुका लागि त्यागकै बाटो ठीक छ । अझै त्याग गर्न सिक्नुहास् । आफू भोको बसेर पनि सरकारलाई कर तिर्नुहोस् । हामी नयाँ नयाँ ऐन बनाएरै तपाइँहरुमाथि कर लगाउँदै छौं । थरी थरी कर लगाउँदै छौं । हामी तपाईँहरुका खुट्टामा पनि कर लगाइदिन सक्छौं । हिँड्दा बाटो खिइन्छ त तपाइँका खुट्टामा कर किन नलाग्ने ? हामी स्थानीय तहदेखि केन्द्रीय तहसम्म उक्लेका हज्जारौं करभोजीहरु छौं । तपाईहरुले तिरेको करकै ताकतमा हामी तपाईहरुमाथि शासन गर्छौं । तपाईकरुले तिर्ने कर नै हाम्रो तागत हो । हाम्रो भोजन हो । लत्ताकपडा र सुखसयल हो । तपाईहरुले तिर्ने करबाटै हाम्रा राजसी रइसी गाडीहरु किनिन्छन् । महलहरु बन्छन् । व्ल्याकलेवल र ब्ल्युलेबलहरु जुटाइन्छन् । हामी आफ्नो विकास र समृद्धिका सडकमा गतिशील गतिमा घुइँकिन्छौंं । दु्रतगामी विमानमा अक्कासिन्छौं । कहिले जमीन कहिले आकाश । कहिले नेपाल त कहिले अमेरिका । कहिले यहाँ त कहिले वहाँ । हामी हाम्रो लागि होइन हाम्रो राजसी व्यवस्थाका लागि र तपाईँहरुको इज्जतका लागि करदोहन गर्दैछौँ । चारै थुनबाट दुध नदिए गाइको के इज्जत ? किसिम किसिमका कर नतिरे जनताको के इज्जत ? तपाइँहरुलाई इज्जत दिनु हाम्रो वाध्यता हो । हामी धेरै कुरामा बाध्य छौँ । हामीलाई पनि  सुख त कहाँ छ र ? बरु तपाइँ जनताजनार्दनलाई हाइ सुख छ । आन्नन्द छ । मस्ती छ । अजीर्णको डर छैन । टाउको दुख्दैन । पेट दुख्दैन । चोरीको डर छैन । छाप्रामा त चोर पस्यो नै भने पनि आफ्नै खल्तीको नोट छोडेर जान्छ होला ।

केही लिएर जाँदैन । भए पो लगोस् । हामीकहाँ चोर पस्योभने श्रीमतीको गहना मात्रै बोकेछ भने पनि करोड बोक्छ । हामीलाई कहिले चोरले सुन बोक्ने डर । कहिले अख्तियारका कमिलाले किटिक्क टोक्ने डर । कहिले जुत्ताका मालाको त कहिले कालेमोसोको डर । कहिले सुकोमल गालामा खस्रा हातका चड्कनको डर । कतै घेर्लान् कि भन्ने डर, कतै मार्लान् कि भन्ने डर । सडकमा निस्कँदा सडककै डर, गल्लीमा पस्दा गल्लीकै डर । आकाशको डर, भुइँको डर । तपाईँहरुलाई कुनै कतै डर छैन । तपाईँहरु सडक पेटीमा पनि निर्धक्क सुत्न र निदाउँन सक्नुहुन्छ । हामीले त्यो शान्ति त्यो आनन्द त्यो निर्धक्क कहाँ पाउने ? हामीलाई त यहाँबाट त्यहाँ जान पनि बुलेटप्रुफ गाडी चाहिन्छ , सुरक्षाकर्मीहरुको स्कर्टिङ् चाहिन्छ । हामीलाई गाह्रो छ । एक पुस्तालाई कमाउन त गाह्रो छ भने सात पुस्तालाई पुग्ने गरी कमाउन धेरै गाह्रो छ । यसैले कहिले मत्स्यरुप धारण गरेर सूनका जहाज तान्नुपर्छ । कहिले रातो पासपोर्ट बेच्नुपर्छ । इमान जमान त दिनदिनै बेच्नुपर्छ पानीघँैंटेले बाल्टीका बाल्टी दुध बेचेजस्तै । 
 

 हे जनता जनार्दन, यो देशमा नेता हुन गाह्रो छ । सत्तासीन हुन गाह्रो छ । रोग लाग्दा उपचार गर्न अमेरिका पुग्नु पर्छ । व्याङ्कक पुग्नुपर्छ । राष्टिय ढुकुटीबाट करोडाँै रकम बोकेरै पुग्नु पर्छ । साथी सँगाती र श्रीमती पनि लिएरै पुग्नुपर्छ । यस देशमा नेता हुन गाह्रो छ । जनता जनार्दन हुन सजिलो छ । भोक लाग्दा भए खाने नभए कम्मरमा डोरी कस्ने । बिरामी हुँदा जङ्गलको झारपात पिसेर खाने । निको भए भइन्छ नभए रामनाम जप्ने । देहत्याग गर्ने । हामी राजनीति गर्नेहरुलाई, हामी राजनेताहरुलाई, हामी सत्तासीनहरुलाई यस्तो सजिलो छैन हजूर, छैन । चाँजोपाँजो मिलाउनै गाह्रो छ ।
 

 हामीलाई आवाजदेखि डर लाग्छ । आवाज बन्द गर्नै गाह्रो छ । हामीलाई समस्यासँग डर लाग्छ समस्या निप्ट्याउनै गाह्रो छ । कहिले केसीका समस्या, कहिले बेसीका समस्या । हामीलाई गाह्रो छ । हे जनता जनार्दन, दुहुना गाईहरुलाई मात गर्ने यति सीधासादा तपाईँहरुजस्ता जनताजनार्दनका नेता हुन पाउँदा पनि हामीलाई गाह्रो छ । हामी जोगी हुन राजनीतिमा आएका होइनैाँ । हामी वैयक्तिक आशक्ति छोडेर राजनीतिमा आएका होइनौं । हाम्रा आशे पासे आफन्तहरु छन् । लगानीकर्ताहरु छन् । तिनलाई अर्बपति बनाउने प्रतिबद्धताहरु छन् । यसै कारण पनि हामीलाई गाह्रो छ । धेरै गाह्रो छ ।
    हे जनताजनार्दन, यति भन्दै म आफ्नो दुई शव्द यहीँ टङ्गग्याउँछु । धन्यवाद ! जयनेपाल !! लालसलाम !!!   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रमण नेपाल
रमण नेपाल
लेखकबाट थप