शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

डोनाल्ड ट्रम्प र भ्लादिमिर पुटिनबीचको भेटवार्ता किन महत्वपूर्ण छ ?

मङ्गलबार, ०१ साउन २०७५, १३ : ४५
मङ्गलबार, ०१ साउन २०७५

बीबीसी –अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच फिनल्यान्डको राजधानी हेलसिंकीमा भेटवार्ता भयो ।

ट्रम्प र पुटिनबीचको यो भेटबारे धेरै प्रकारका प्रश्न उब्जिएका छन् ।

रूस र संयुक्त राज्य अमेरिका लामो समयदेखि एक अर्काको विरोधी रहिआएका छन् । सन् २०१६ को अमेरिकी राष्ट्रपति चुनावमा रूसको संलग्नताको आशङ्काले दुई देशबीचको सम्बन्धमा अझ तिक्तता उत्पन्न गराएको छ ।

रूस र संयुक्त राज्यबीचको तनाव किन ?

संयुक्त राज्य अमेरिका र रूसबीचको तनाव शीत युद्ध (सन् १९४५–१९८९) को समयकै हो । यो क्रममा अमेरिका र तत्कालीन सोभियत सङ्घ आमने सामने आएका थिए ।

दुई देशहरू युद्धभूमिमा कहिले पनि एकअर्काको आमने सामने आएनन् तर त्यो अवधिभरि सधैँ आज युद्ध होला कि भोलि होला भन्ने स्थिति रह्यो । सोभियत सङ्घको विघटनपछि अमेरिका एक मात्र विश्वशक्तिका रूपमा अगाडि आएपछि मात्र तनाव मत्थर भएको थियो ।

आजको कुरा गर्ने हो भने पुटिनले पटक पटक रूसको सोभियत सङ्घ कालीन शक्ति पुनरस्थापित गर्ने आफ्नो प्रतिबद्धता स्पष्ट पारेका छन् । साथमा रूसले विभन्न अन्तर्राष्ट्रिय मुद्दाहरूमा संयुक्त राज्य अमेरिकाले गरिरहेको काममा अवरोध पुर्याउने गरेको छ ।

दुई देशबीचको सम्बन्ध सधैँ जटिल रहेको भए पनि सन् २०१४ बाट यसमा उल्लेख्य गिरावट आयो, जब रूसले क्रिमियालाई युक्रेनबाट खोसेर लियो ।

यसपछि अमेरिका र अन्य धेरै राष्ट्रहरूले रूसमाथि कडा आर्थिक प्रतिबन्ध लगाएका छन् ।

विश्वका कैयौँ मुद्दाहरूमा यी दुई नेताबीचको सम्बन्धमाथि सबैको नजर हुन्छ । यसको कारण हो, सन् २०१६ को अमेरिकी चुनावमा रूसको कथित प्रभाव । यद्यपि रूसले यसलाई अस्वीकार गरेको छ ।

अमेरिकी आन्तरिक गुप्तचर एजेन्सी एफबीआईले भने रूसले चुनावलाई ट्रम्पको पक्षमा पार्नको लागि काम गरेको आफूहरूसँग प्रमाण रहेको बताउँदै आएको छ ।

अमेरिकामा हाल विशेष अभियोजनकर्ता रोबर्ट मुलरको नेतृत्वमा राष्ट्रपति चुनावमा रूसको हस्तक्षेपको बारेमा अनुसन्धानहरू भइरहेको छ । राष्ट्रपति ट्रम्पले भने यस अनुसन्धानलाई एक राजनीतिक षड्यन्त्र बताउँदै आएका छन् ।

सन् २०१७ जनवरीमा राष्ट्रपति पद ग्रहण गरेदेखि ट्रम्पले आफू जोडिएको रिपब्लिकन पार्टीको परम्परागत नीतिहरूको विरुद्धमा गएर रूससँग सम्बन्ध सुधार गर्न खोजिरहेका छन् ।

पछिल्लो महिना उनले विश्वको आर्थिक शक्ति राष्ट्रहरूको समूह जी७ मा रूसलाई पुनः संलग्नता गराउने पक्षमा वकालत गरेको थिए । यस समूहको पूर्व सदस्य रहेको रुस क्रिमिया कब्जापछि यस समूहबाट निकालिएको थियो ।

दुई नेताहरूले एकअर्काबारे के भने ?

राष्ट्रपति ट्रम्पले सार्वजनिक रूपमा धेरै पटक राष्ट्रपति पुटिनको प्रशंसा गरेको छन् । सन् २०१६ मा ट्रम्पले भनेका थिए, “पुटिन हाम्रो नेता (बराक ओबामा) को तुलनामा राम्रा नेता हुन् ।”

गत वर्ष उनले पुटिनलाई “बलियो सोच भएका मानिस” भनेका थिए ।

पुटिन जब यो वर्षको मार्चमा पुनः रूसको राष्ट्रपति बने ट्रम्पले आफ्ना सल्लाहकारहरूको सल्लाहलाई बेवास्ता गर्दै पुटिनलाई बधाई दिए ।

तथापि पुटिनले ट्रम्पबारे भने सावधानीपूर्वक आफ्नो राय प्रकट गर्ने गरेका छन् । उनले ट्रम्पलाई ‘रङ्गीन’ व्यक्ति र ‘धेरै प्रतिभाशाली’ व्यक्ति भनेर उनको प्रशंसा गरेका छन् ।

दुईबीच के कुरा हुनेछ ?

भेट वार्ताअघि दुई नेताबीच हुने कुराकानी बारेमा एकदम कम विवरणहरू दिइएको थियो । तर पनि उनीहरूले एकअर्कालाई भेट्दा निम्न मुद्दाहरूमा छलफल गर्ने विश्वास गरिएको थियो ः

हतियार नियन्त्रण : दुवै नेताहरूले आफ्नो देशको परमाणु क्षमताबारेमा विभिन्न अवसरमा गर्भ भाव व्यक्त गरेका छन् । तर पनि विशेषज्ञहरूले यसबारेमा छलफल हुन सक्ने बताए । अमेरिका र रूसबीच ‘नयाँ सुरुवात’ भनिएको एक सम्झौता छ, जसको उद्देश्य दुई देशको परमाणु हतियारको क्षमता र सङ्ख्या सीमित गर्ने हो । यो सम्झौता सन् २०२१ सम्म प्रभावी छ । यदि यसलाई अगाडि बढाउने विषयमा केही गर्न सकिन्छ भने यो एक राम्रो सङ्केत मानिन्छ । सन् १९८७ मा लागू भएको एक मिसाइल सम्झौताबारेमा पनि दुई नेता बोल्न सक्छन् ।

अमेरिकी प्रतिबन्ध : रूसले क्रिमियामाथि कब्जा गरेपछि र त्यसपछि पूर्वी युक्रेनमा सुरु भएको सङ्घर्षमा पृथकतावादीहरूको समर्थन गरेपछि रूसी कम्पनी र व्यक्तिहरू माथि विभिन्न प्रकारका आर्थिक प्रतिबन्ध लगाइएको छ । त्यस्तै सिरिया युद्ध र अमेरिकी चुनावमा हस्तक्षेपलाई लिएर पनि रूसमाथि प्रतिबन्ध रहेको छ । यदि राष्ट्रपति ट्रम्पले यी कुनै पनि प्रतिबन्धहरूमा छुट गर्ने निर्णय गर्छन् भने काँग्रेसबाट अनुमोदनको आवश्यकता पर्छ । यद्यपि, प्रतिबन्धहरूमा थप कडाइ बनाइएन भने पनि रूसले यसको स्वागत गर्नेछ ।

युक्रेन : अमेरिकाले युक्रेनलाई सैन्य सहयोग दिएको छ । यदि राष्ट्रपति ट्रम्पले यसलाई रोके भने पुटिन खुसी हुनेछन् । तथापि यस्तो हुन र क्राइमियामाथि रुसी नियन्त्रणलाई अमेरिकी मान्यता प्राप्त हुन गाह्रो छ । दुवै नेता पूर्वी युक्रेनमा अन्तर्राष्ट्रिय शान्ति सेनाको उपस्थितिमा सहमत हुन सक्छन् । युक्रेनको यस क्षेत्रमा जारी हिंसात्मक सङ्घर्षको क्रममा हजारौँ मानिसहरू मारिइसकेका छन् ।

सिरिया : अमेरिकाको प्रमुख सहयोगी इजरालय इरान र इरानी समर्थकहरू सिरियाको दक्षिण–पश्चिम सिरियाबाट टाढा रहोस् भन्ने चाहन्छ । यो क्षेत्र इजरायलको सीमाना नजिकै रहेको छ । ट्रम्पले यस मुद्दाबारे पनि पुटिनसँग कुराकानी गर्न सक्छन् तर विश्लेषकहरूले पुटिनले सिरियामा इरानको भूमिकालाई सीमित गर्ने यस्तो कुनै प्रस्ताव दिन स्वीकार गर्न सक्ने सम्भावना देख्दैनन् ।

ट्रम्पका सहयोगीहरू किन चिन्तित छन् ?

गत हप्ताको नेटोको सम्मेलनमा ट्रम्पले रूसी आक्रमकताको आलोचना गर्दै एक साझा वक्तव्यमा हस्ताक्षर गरेका थिए ।

मान्छेहरूलाई भने ट्रम्पले उनीहरूको पश्चिमी मित्र राष्ट्रहरूको चिन्ता प्रत्यक्ष रूपमा पुटिनको सामु राख्छन् कि राख्दैनन् भन्ने प्रश्न छ ।

मिडिया रिपोर्टहरूको अनुसार दुई नेताहरूबीच भएको छलफलका विषयहरूलाई युरोपेली सहयोगीहरूलाई जानकारी दिइने छैन ।

युरोपको उतारचढावपूर्ण यात्रापछि ट्रम्पले पुटिनसँग भने न्यान्यो सम्बन्ध देखाउने हो कि भन्ने डर व्यक्त गरिँदै छ ।

ट्रम्पले आफ्नो नाटो सहयोगीहरूको रक्षामा भइरहेको खर्चको आलोचना गरे । यहाँसम्म कि ट्रम्पले जर्मनी ग्यासका लागि रुसमा निर्भर हुनुपर्ने भएकाले ऊ रुसको नियन्त्रणमा रहेको बताए । ट्रम्पले ब्रिटिस प्रधानमन्त्री थेरेसा मेलाई ब्रेक्जिट सम्बन्धमा नरम नीति लिएकोमा आलोचना गरेका थिए ।

यो भ्रमणबाट के बदलाव हुनेछ ?

यो भन्न गाह्रो छ । यस्तो वार्ताको सम्बन्धमा ट्रम्पले लिइरहेका अपरम्परागत रबैयाको कारण अनुमान लगाउन गाह्रो छ । यथापि अमेरिकी सल्लाहकारहरूले यस अवधिमा कुनै ठूलो घोषणा नगरिने सङ्केत गरेका छन् ।

दुवै नेता एक्लाएक्लै कुरा गर्नेछन् । भेटको समयमा पुटिन र ट्रम्पलाई तिनका दोभोषले मात्र साथ दिनेछन् । यसले पनि रहस्य बढाएको हो ।

हालैका समयमा दुई देशहरूले एकअर्काको कूटनीतिज्ञहरूलाई देश निकाला गरेका छन् । सुमधुर सम्बन्धको सुरुवातका लागि दुवै नेताहरू कूटनीतिक सम्बन्ध सुधार गर्न राजी हुन सक्छन् ।

बाँकी संसारका लागि यसको के अर्थ हो ?

बाँकी संसारका लागि यस भेटको धेरै अर्थ छ । संयुक्त राज्य अमेरिका र रूस विश्वव्यापी प्रभावका कैयाँै समस्याहरूमा फरक र कहिलेकाहीँ विरोधी शिविरमा रहेको छन् । उदाहरणका लागि, सिरियाको विवाद, युक्रेन, क्रिमियाको सङ्र्घषलाई लिन सकिन्छ ।

राष्ट्रपति पुटिनले रुसमाथिको पश्चिमी देशहरूको प्रतिबन्ध सबैकालाई हानिकारक हुने बताए ।

यद्यपि अन्य देशहरूको तुलनामा पश्चिमी युरोपेली देशहरूले यस भेटवार्तालाई बढी नजिकबाट हेरिरहेका हुनेछन् ।

उनीहरू एक असहज स्थितिमा छन् । उनीहरू एकातर्फ रूसबाट खतरा महसुस गर्छन् भने अर्को तर्फ रूसको ऊर्जा आपूर्तिमा निर्भर पनि छन् ।

राष्ट्रपति ट्रम्पले त जर्मनीको आलोचना नै गरे । विवादित नोर्ड स्ट्रिम–२ योजनाबाट मध्य र पश्चिम युरोपसम्म बाल्टिक सागर हँुदै जाने रूसी ग्यासको पहुँच सजिलो हुनेछ ।

फेरि यो मार्गले रुससँग पछिल्लो समय सम्बन्ध तनावग्रस्त भएका युक्रेन मात्रै होइन बाल्टिक देशहरू र पोल्यान्ड समेत बाइपास गर्छ ।

पुटिन र ट्रम्प सोमबार मिल्दा पूरा संसारको नजर हेलसिंकीमा रहेको कारण यही हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप