केन्द्रीय संस्करण

फिल्म होइन, वास्तविक जीवनको घटनाः मोडललाई अपहरण गरे त्यसपछि प्रेम, धोका हुँदा १६ वर्ष जेल

person access_timeसाउन १, २०७५ chat_bubble_outline0

बीबीसी

ब्रिटिश मोडल क्लोए एलिंगलाई गत वर्ष इटालीमा ६ दिनसम्म बन्धक बनाएर राखियो ।

तर जब उनी ब्रिटेन फिर्ता भइन् तब उनको कहानीमा धेरैलाई शंका लाग्यो ।

उनले बीबीसीको भिक्टोरिया डर्बिशर कार्यक्रममा आफ्नो पुरा कहानी सार्वजनिक गरिन् ।

दुई दिनसम्म कोठामा बन्द भएपछि क्लोए आफ्ना अपहरणकारीसँग एउटै खाट सेयर गर्न तयार भइन् ।

उनले भनिन्, ‘हामी जति कुरा गर्दथ्यौं हामीबीचको सम्बन्ध त्यति नै गहिरियो । उनले मलाई मन पराउन थालेको महसुस भएपछि मैले यसैलाई आफ्नो फाइदाका लागि प्रयोग गरें ।’

दक्षिण लण्डनमा बस्ने बीस वर्षीया क्लोए एलिंगका अनुसार गत वर्षको जुलाईमा ३० वर्षीय लुकाज हर्बाले उनलाई फोटोसुटका लागि मिलान बोलाएका थिए ।

तर उनलाई केटामाइन ड्रगको इन्जेक्सन दिइयो । लुगा फुकालियो र हतकडी लगाएर ब्यागमा राखियो । त्यसपछि गाडीको डिक्कीमा राखेर मिलानबाट एक सय २० किलोमिटर टाढाको एक फार्महाउसमा पुर्याइयो ।

एलिंगका अनुसार जब उनी फार्महाउस पुगिन् तब हर्बाले उनलाई तीन लाख युरोको बन्दोबस्त नगरे ‘यौन दासी’ को रुपमा बेचिदिने चेतावनी दिए ।

उनी भन्छिन्, ‘मलाई लागिरहेको थियो कि उनले जे बोलिरहेका थिए त्यो वास्तविक हो । मलाई एक पलका लागि पनि उनीमाथि शंका लागेन किनभने उनले मेरो हरेक प्रश्नको सबिस्तार उत्तर दिइरहेका थिए ।’

उनले भनिन्, ‘तर कुराकानीका बीच हर्बाले मलाई चुम्बन गर्ने अनुमती मागेर आफूहरुबीच  कुनै सम्बन्ध स्थापित हुनसक्छ  भन्दै प्रश्न गरे ?’

उनी थप्छिन्, ‘त्यतिबेला मलाई लाग्यो कि मसँग यही एउटा मौका छ ।’

१६ वर्षको सजायँः

‘उत्तरमा मैले भनें, भविष्यमा केही हुनसक्छ । र यो प्रतिक्रियाले काम गर्यो । उनी निकै उत्साहित थिए र वास्तवमा नै मसँग सम्बन्ध स्थापित गर्ने सोचिरहेका थिए । सधैं यसै बारे कुरा गर्दथे । मैले यस्तै गरिरहनुपर्छ भन्ने सोच बनाएँ ।’

जब हर्बालाई फिरौती रकम नपाउने महसुस भयो तब उनले एलिंगलाई मिलानमा बेलायती दूतावासको बाहिर छोडे ।

जब उनीहरु दूतावास खुल्ला हुने प्रतिक्षा गरिरहेका थिए तब केही प्रत्यक्षदर्शीले उनीहरुलाई एउटा क्याफेमा हाँसो ठट्टा गरिरहेको देखेका थिए ।

एलिंग भन्छिन्, ‘यो अचम्म लाग्न सक्ला तर तपाईं यस्ता व्यक्तिको साथमा किन मूड अफ गर्नुहुन्छ जसले तपाईंलाई मन पराउँछन् र आफ्नो भावनाका कारण तपाईंलाई स्वतन्त्र बनाइदिने तरखरमा छन् ?’

‘मैले त्यो हरेक कुरा गरें जसमार्फत् उनलाई लागोस् कि मैले पनि उनलाई प्रेम गर्छु ।’

मिलानको अदालतमा मुद्दाको सुनुवाई पूरा भएपछि मूलरुपमा पोल्याण्डका नागरिक हर्बालाई १६ वर्षको जेल सजायँ तोकिएको छ ।

आफ्नो बचाउमा हर्बाले अदालतसामू आफूले एलिंगलाई पहिले नै भेटिसकेको र उनलाई प्रेम गर्न थालेको बताएका थिए ।

हर्बाले एलिंगको करियरमा मद्दत मिलोस् भन्ने उद्देश्यसहित एक स्क्यान्डल गरेर उनलाई पब्लिसिटी दिलाउन चाहेको दाबी गरे ।

महिलाद्वारा सबैभन्दा धेरै आलोचितः

एलिंग भन्छिन्, ‘म अहिले पनि पूर्ण रुपमा उनको उद्देश्य बुझ्न सकेको छैन । उनले दुई वर्ष अघि मलाई फेसबुकमा एड गरेका थिए । उनले मलाई छाने, त्यसको लागि पैसा मात्र हुनसक्दैन । उनी निकै लामो समयदेखि मेरो पिछा गरिरहेका थिए, हुनसक्छ मेरा लागि उनी पागल थिए ।’

हर्बाको पञ्जाबाट छुटेर बेलायत फर्किएपछि एलिंगले आफ्नो घर बाहिर टिभी पत्रकारसँग कुराकानी गरेकी थिइन् ।

एलिंग निकै खुसी देखिएकी थिइन् । केहीले यसका लागि उनको आलोचना गरे । उनले जुन लुगा लगाएकी थिइन्, त्यसमा पनि निकै आलोचना भयो ।

एलिंगका अनुसार उनी आफ्नो घर फर्कन पाउँदा निकै खुसी थिइन् किनभने उनलाई लागेको थियो कि उनी अब कहिले पनि घर फर्कन पाउने छैनन् ।

उनी विमानबाट सिधै घर पुगेकी थिइन् । त्यतिबेला उनले टप र हाफ पाइन्ट लगाएकी थिइन् ।

‘मलै पत्रकारसँग कुराकानी गरें किनभने कुराकानीपश्चात् उनीहरु त्यहाँबाट फर्कने मैले आशा राखेकी थिएँ, तर त्यस्तो भएन ।’

‘मानिसहरुले म सधैं रोइरहूँ, बाँकी संसारबाट आफूलाई छुट्टै राखूँ, क्यामरा अगाडि नआऔं भन्ने आशा राख्छन् । मैले यस्तो गर्न पनि सक्थें तर यो स्थितीबाट मानसिक रुपमा निस्कन कस्तो सहयोग पाइएला भन्ने सोच राखेकी थिएँ । यसबारे कुराकानी गरेर, मानिसहरुसँग समय बिताएर यसबाट निस्कने कोसिस गरिरहेकी छु ।’

एलिंग आफ्नो अनुभवबारे किताब पनि लेखिसकेकी छिन् । उनका अनुसार हर्बा दोषी ठहरिए पछि पनि मानिसहरुले आफूमाथि शंका गरिरहेको देख्दा हाँसो उठ्छ ।

एलिंगका अनुसार उनले सबैभन्दा धेरै आलोचना महिलाको तर्फबाट नै सामना गर्नुपरेको छ । यसका लागि उनी मिडियालाई जिम्मेवार ठान्छिन् ।

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ