शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ती पाँच विवाद जुन विश्वकप फुटबलमा छाइरहे

मङ्गलबार, ०१ साउन २०७५, ०८ : ००
मङ्गलबार, ०१ साउन २०७५

फर्नान्डो डुआर्टे / बीबीसी

सन् २०१८ को फिफा विश्वकपले कसैलाई पनि निराश बनाएन । यो विश्वकपमा भावना थिए, अचम्मित तुल्याउने नतिजा थिए, ‘ट्विस्ट एण्ड टर्न्स’ थिए र विवाद पनि ।

बीबीसीले फिफा विश्वकपका यस्तै केही रोचक र अविष्मरणीय कहानी तपाईंका लागि तयार पारेका छ ।

१. भीएआर युगको सुरुवातः

फुटबल विश्वकपको इतिहासमा यसपाली पहिलो पटक भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) सिस्टम प्रयोग गरियो ।

मैदानमा हुने गल्ती र शंकालाई हटाउन सकियोस् भन्ने उद्देश्यसहित यो सिस्टम प्रयोग गरिएको हो ।

यद्यपी, भीएआरका लागि विभिन्न प्रकारका असहमती पनि छन् ।

थुप्रैलाई लाग्छ कि यसले मैदानमा हुनसक्ने गल्तीबाट बचाउन सक्छ तर धेरैलाई यो पनि लाग्छ कि भीएआरले खेलको रोमाञ्चकतामा कमी ल्याउँछ ।

हरेक मामलामा भीएआरको प्रयोग गर्न नसक्ने भएकाले यसको औचित्य नै के रह्यो र भन्नेहरुको पनि कमी छैन ।

हुन त भीएआरको असर विश्वकपका विभिन्न म्याचको नतिजामा पर्यो ।

खेलाडीमाथि निकै अंकुश लाग्यो र सन् २०१४ विश्वको तुलनामा फाउल्सको संख्या १७ प्रतिशत बढ्यो ।

२. म्याराडोनाको स्टाइलः

अर्जेन्टिनाका महान फुटबलर डिएगो म्याराडोनाले अहिलेसम्म कुनै पनि काम लुकिछिपि गरेनन् ।

यो विश्वकपमा पनि सधैं झैं उनी विभिन्न व्यवहारका कारण चर्चित रहे । म्याराडोनालाई संसारको आकर्षणको केन्द्र कसरी बन्ने भन्ने बारे राम्रोसँग थाहा छ ।

यो वास्तविक हो कि उनको चर्चा सधैं सकारात्मक तरिकाले मात्र हुँदैन ।

यसपटक पनि उनले निकै उत्साहित र भावुक भएर आफ्नो टीमको समर्थन गरे, धुम्रपान प्रतिबन्ध गरिएको स्टेडियममा सिगार सल्काएर नियम तोडे र अर्जेन्टिनाको टिमले गोल हान्दा हज्जारौं मानिस सामुन्ने ‘माझी औंला’ देखाएर अभद्र इशारा समेत गरे ।

म्याराडोनाले राउन्ड १६ को खेलमा कोलम्बियाली समूहविरुद्ध इंगल्याण्डको पेनाल्टीको पनि कडा आलोचना गरे ।

उनले एक टेलिभिजन कार्यक्रममा यसलाई ‘मैदानमा भएको ठूलो चोरी’ बताएका थिए । पछि उनले फिफाका एम्बेसेडरको रुपमा यो टिप्पणीका लागि माफीसमेत मागेका थिए ।

३. जापानले ‘विश्वकपलाई फोहोर बनायो ’

हुन त जापानको नाम विवादसँग कमै जोडिने गर्छ तर यस पटकको विश्वकपमा भने यो अपवाद रह्यो ।

यो साँचो हो कि जापानले खेल हारेपछि पनि स्टेडियमको सफाई गरेर ‘धन्यवाद रुस’ लेखिएको नोट छोडेर मानिसहरुको मन जितेका थिए तर पोल्याण्डसँग भएको पहिलो राउन्डको तेस्रो म्याचमा भने कुरा एकदम परिवर्तन भयो ।

पोल्याण्डसँग १–० को हारपछि जापानी टिमले केही कारण नै नभई एक आपसमा फुटबल पास गर्न सुरु गरे ।

यस्तै दोस्रोतर्फ सेनेगलको टीम कोलम्बियासँग म्याच हारिरहेको थियो । यस्तोमा पोल्याण्डसँग हारेपछि पनि जापानले क्वालिफाई गर्यो ।

जापानी टीमको यस्तो व्यवहारको निकै आलोचना भयो । जापानले ‘विश्वकपलाई फोहोर बनायो’ समेत भनियो ।

४. दुई मुख भएको बाजः

फिफाको नियममा भनिएको थियो, खेलाडी र टीमले खेलको क्रममा कुनै राजनीतिक टिप्पणी गर्न सक्दैनन् ।

यसै कारण जब स्विटजरल्याण्डका जाका र शकिरीले सर्बियाविरुद्ध गोल हानेपछि हातले इशारा गरेर दुई मुख भएको बाज बनाएपछि विवाद सुरु भयो र मानिसहरुले यसको राजनीतिक अर्थ निकाल्न सुरु गरे ।

वास्तवमा उक्त हातको इशारा राष्ट्रवादी प्रतिक हो । अल्बानियाको राष्ट्रिय झण्डामा दुई मुखे बाजको चित्र अंकित छ ।

आलोचकका अनुसार यसले सर्बियाली राष्ट्रवादी र अल्बानियाली मूलका मानिसहरुबीच तनाव हुनसक्छ ।

शेरदान शाकिरीको जन्म कोसोवको शहर जिलानमा एक अल्बानियाली मूलको मुस्लिम परिवारमा भएको थियो ।

जब उनी एक वर्षका थिए तब उनको परिवार स्विटजरल्याण्ड गएको थियो ।

ग्रेनिट शाकाको जन्म स्विटजरल्याण्डको बेसल शहरमा अल्बानियाली मूलको मुस्लिमा परिवारमा भएको थियो ।

युगोस्लावियाबाट अलग भएर जुन ६ देश बनेका थिए त्यीमध्ये सर्बिया पनि एक थियो । तर सर्बियाको कोसोव इलाकाले एक अलग देश माग गरेको थियो ।

यस्तै गरी, फुटबलको मैदानमा त्यतिबेला पनि राजनीति आयो जब क्रोएशियाका दोमागोज विदाले टीमको रुसमाथिको जितलाई ‘युक्रेनका मानिसहरुलाई’ समर्पित गरे ।

५. महिला पत्रकारमाथि यौन उत्पीडनः

यसपटक फिफा विश्वकपमा महिला पत्रकारमाथि यौन उत्पीडनको विभिन्न घटना सार्वजनिक भए ।

कोलम्बियाली संवाददाता जूलियथ गोन्जालेज थेरान रुसको एक सडकमा डायचे वेले स्पेनिशका लागि लाइभ रिपोर्टिङ गरिरहेका बेला अचानक एक व्यक्तिले उनको स्तनमा हात राखेर उनलाई गालामा चुमेर भागे ।

जुलियथ त्यतिबेला लाइभ रिपोर्टिङमा भएकाले उनले आफ्नो रिपोर्टिङ जारी राखिन् ।

पछि उनी आफैंले यो घटनामाथि प्रतिक्रिया दिँदै लेखिन्, ‘हामीमाथि यस्तो व्यवहार हुनुहुँदैन । हामी पनि त्यति नै सम्माननीय र व्यवसायी छौं ।’

ब्राजिलकी एक पत्रकारमाथि पनि एक व्यक्तिले यस्तै व्यवहार गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप