शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीज्यू ‘सपना’को होइन अब आजको चिन्ता गर्नुस् !

सोमबार, ३२ असार २०७५, ११ : ४३
सोमबार, ३२ असार २०७५

काठमाडौं– समाजवादको नारा र समृद्धिको सपना बेचेर प्रदेश र सङ्घीय चुनावमा जोडदार जित निकालेको तत्कालीन बामगठबन्धन दुई तिहाइको शक्तिसहित अहिले सरकारमा छ । 

जनताका अपेक्षाहरूलाई उपेक्षा गर्दै प्रधानमन्त्री र मन्त्रीले बडो अनौठो गर्न थालेका छन् । हेर्दा लाग्छ, उनीहरूका ध्यान जनताको सेवामा भन्दा पनि अन्यत्रै छ । जनजीविका समस्या हल र सुशासनका लागि सरकारले एकपछि अर्को कठोर कदम चाल्नुपर्ने बेला सिंहदरबारमा ‘पावर ब्रोकर’कै हालीमुहाली चल्न थालेको छ । 

उदारणका लागि केही घटना क्रम हेरौँ जसले प्रधानमन्त्री केपी शर्मा ओली र उनका मन्त्रीहरूको सोच व्यक्त गर्दछ । 

सुरुमा बिहीबारको जनसरोकारको घटना हेरौँ । 

अविरल वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले भक्तपुरको चारैवटा नगरपालिका क्षेत्रमा विनाश निम्त्यायो ।

बाढीले कतिपय बस्ती डुबानमा पारे भने पहिरो र बाढीका कारण मानवीय क्षतिसमेत भए । 

अविरल वर्षाका कारण आएको पहिरोले घर थिच्दा भक्तपुरको चाँगुनारायण नगरपालिका–७ मझुवा गाउँमा एकै परिवारका तीन जनाको ज्यान गयो ।  

७० वर्षीया हीरा लामा, पत्नी ६५ वर्षीया पानमाया लामा, नातिनी २ वर्ष ६ महिनाकी सम्पदा लामाको मृत्यु भयो । 

जिल्ला प्रशासन कार्यालयका अनुसार भक्तपुरमा आएको बाढीपहिरो र डुबानका कारण ११ करोड ९३ लाख ५० हजार १२५ बराबरको क्षति भएको छ । चाँगुनारायण नगरपालिकामा पहिराका कारण एकै परिवारका तीन जनाको मृत्यु भएको थियो ।  

 डुबानमा ५२२ र पहिरामा १५ घरटहरामा क्षति पुगेको, २८ उद्योग, कलकारखाना र पेट्रोल पम्प, १३३  किराना र  थोक पसल, एक एक सडक र  पुल, दुई अस्पताल र दुई विद्यालयमा क्षति पु¥याएको थियो । बाढीले ३७  बङ्गुर र ८२५ कुखुरा बगाएको थियो । 

घर, टहरा, गोठ, पशुपन्छी र चौपाया बगाएको मात्र हैन हजारौँ बासिन्दा बिचल्लीमा परे ।

नगरकोट, बागेश्वरी, छालिङ, ताथली र काभ्रेको बनेपादेखि बगेर आएको पानीको एक मात्र निकासका रूपमा रहेको हनुमन्ते खोलामा बाढी उर्लिएपछि बस्ती डुबानमा परेको थियो ।

हनुमन्तेको बाढी बस्तीमा पसेपछि भक्तपुर नगरपालिकाको जगाते, हनुमान घाट, बाराही क्षेत्र, सिर्जनानगर, सल्लाघारी, जगाती, लिवाली क्षेत्रका सयौँ घर डुबानमा परेका थिए ।

यहाँका टहरा र माटोका घरहरू भत्किए । जगातीस्थित सिद्धिस्मृति अस्पताल डुबानमा परर्यो ।

मनोहरा सुकुम्बासी बस्ती पूरै डुबानमा परेको थियो । 

डुबानका कारण सडकमाथि तीन फिटसम्म पानी बगेपछि मध्यपुरथिमि शंखधरचोकदेखि सूर्यविनायकसम्म बन्द रहेको अरनिको राजमार्ग सात घण्टापछि सञ्चालन भयो । 

यो डुबान कर्णालीमा भएको थिएन ।

यो समस्या न त तराई–मधेसमै आएको थियो ।

काठमाडौं उपत्याकामै आएको बाढीले निम्त्याएको समस्या भए पनि यसमा सरकारको ध्यान गएन ।

त्यहाँ न प्रधानमन्त्री पुगे न कुनै मन्त्री नै ।

प्रधानमन्त्री र मन्त्रीका लागि तीनजनाको ज्यान जाने गरी आएको भक्तपुरको बाढीको समस्या कुनै ठूलो लागेन ।

न उद्धारमा तदारुकता न त राहत नै ।

सरकारले सामन्य रूपमा लियो ।

तर दुई दिनपछि प्रधानमन्त्री र केही मन्त्रीले चाहिँ गजवका कार्यक्रममा भाग लिए । 

पहिला प्रधानमन्त्री केपी ओली सहभागी भएको कार्यक्रमको कुरा गरौँ ।

प्रधानमन्त्री ओली आफै पनि भक्तपुरवासी हुन् ।

बाढीमा उनलाई चिन्ता भएन ।

बरु, आइतबार दिनभर उनी कविततिर लागे । 

हरेक भाषणमा आपूmसँग समय नभएको बताउने प्रधानमन्त्रीले आइतबार दिनभर चन्दागिरीमा बसे ।

क्यामराको भीडभाडमा कवित लेखे ।

रमाइलो पाराले बाचन गरे ।

प्रधानमन्त्री ओलीले हिमवत् खण्ड साहित्य कला सम्मेलनको चन्द्रागिरी सिर्जना यात्रामा स्थलगत कविता रच्दै मरेपछि पनि देश र जनता हाँसेको देख्न पाउने आकाङ्क्षा व्यक्त गरे । 

मदन भण्डारी कला साहित्य प्रतिष्ठानले २०५औँ भानु जयन्तीका अवसरमा आयोजना गरेको तीनदिने सम्मेलनको अन्तिम दिन चन्दागिरिमा गएका प्रधानमन्त्री ओलीले संसारमा सबै मरेर जानुपर्ने र बाँचुञ्जेल आफ्ना सन्तति हाँसेको देख्न पाउने आकाङ्क्षा व्यक्त गरेका थिए ।

जब कि भक्तपुरमा परिवारका तीन जना सदस्य गुमाएको लामा परिवार आँशुको पीडामा थियो । 

असार मसान्तको चटारोले धेरैलाई छोएको थियो होला तर प्रधानमन्त्री आइतबार दिनभर फुर्सदिला देखिए । बाढीपीडित भक्तपुरवासीले प्रधानमन्त्रीको कवि कला पनि हेरेकै होलान् । हुन सक्छ, उनीहरूले आफ्नो आगनमा प्रधानमन्त्रीलाई देख्न चाहेका थिए ।

तीन दिने हिमवत् खण्ड साहित्य कला सम्मेलनको समापनका अवसरमा आइतबार चन्द्रागिरिमा आयोजित कार्यक्रमको सम्बोधनमा पनि प्रधानमन्त्री ओलीले रमाइलो गर्न छाडेनन् ।

मानाँै, देशमा केही समस्या छैन । 

पहिला प्रधानमन्त्रीले वर्तमान सरकार समृद्धि र रूपान्तरणका दिशामा सजगताका साथ अघि बढिरहेको बताए ।

‘विगतमा प्रश्रव वेदनाको अवस्थामा हामी थियौँ, त्यसबेला विद्रोहको स्वर स्वभाविक हुन्थ्यो, अब बच्चाको लालनपालन गर्ने समय आएको छ । यसबेला विद्रोहको कुरा गर्नु नाटकसरह हुन्छ’, प्रधानमन्त्री ओलीले भनेका थिए– ‘नेपाल सुतिरहेको छैन, जागेको छ र अगाडि बढ्न चाहिरहेको छ । हामी विकास भन्नाले एउटै कुरामा मात्र बुझ्दैनौँ, साहित्य, संस्कृति र कलाको विकास पनि विकास हो ।’ 

त्यसपछि प्रधानमन्त्री ओली पुरानै लयमा आए र उपस्थितलाई मनोरञ्जन दिन थाले । प्रधानमन्त्रीले भने, ‘कविता नसुन्ने त भैँसी हुन्छ । गीत गाउनुस् भैँसीले मतलब गर्दैन, उघ्राएर बस्छ । मैले चन्द्रागिरि आएर समय खेर फालेको छैन । निःशुल्क रूपमा कविता र विचार सुनेर राति पनि बत्ति बल्ने  सोलार प्यानल प्राप्त गरेको छु । म चार्ज भएको छु ।’

प्रधानमन्त्रीले यस्तो भाषण गरिरहँदा नुवाकोटको तादी गाउँपालिका–१ उर्लेनीमा पहिरोले दुई घर पुरेको र पैँतीस घर उच्च जोखिममा रहेका समाचार आइरहेको थिए ।

वर्षासँगै उर्लिनेको ढाँडेको ठूलोखोला र हिमचुली खोलामा आएको बाढीले कटान गरेर बस्तीमा पहिरो बगेपछि स्थानीयवासी वीरबहादुर तामाङ र राजकुमार तामाङको घर पुरेको थियो । सोही पहिरोका कारण ढाँडे र काल्चेका ३५ घर उच्च जोखिममा परेको छ । उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

पहिरोपीडितले त्रिपाल, भाँडाकुँडा, खाद्यान्न तथा लत्ताकपडा वितरण गर्ने बेला प्रधानमन्त्रीको रमाइलो भाषण सुन्नुपरेको थियो । 

आइतबारको निरन्तर वर्षाका कारण देशका पहाडी जिल्लामा बाढीको सम्भावना देखिएको भन्दै जल तथा मौसम विज्ञान विभागले सचेत गराएको थियो ।

विभागको बाढी पूर्वानुमान महाशाखाले विज्ञप्ति जारी गर्दै पहाडी जिल्लाबाट बग्ने नदीहरूमा आकस्मिक बाढीको सम्भावना रहेकाले नदी किनार र आसपासका बस्तीमा सजक रहन आग्रह गरेको थियो । दोलखा, रसुवा, धादिङ, गोरखा, सुर्खेत, रोल्पा, दार्चुलालगायतका केही पहाडी जिल्लाका ससाना नदीमा बाढीको सम्भावना रहेको विभागको भनाइ थियो ।

कन्काई, कोशी, कमला, बागमती, नारायणी, पश्चिम राप्ती, बबई, कर्णाली र महाकाली सबै मुख्य नदीमा बहावले सतर्कता पार गर्ने सम्भावना न्यून रहेको पनि बाढी पूर्वानुमान शाखाले जनाएको थियो । 

अर्थात देशमा आइतबार थप समस्या आउन सक्ने आँकलन जल तथा मौसम विज्ञान विभागले दिएको थियो ।

तर प्रधानमन्त्रीले सिंहदरबार बसेर देशको अवस्था बुझ्नुपर्ने र उद्धार तथा राहतका लागि तयारी अवस्थामा रहनुपर्ने बेला उनी चन्दागिरी डाँडामा बसेर दिन विताए । 

डा. गोविन्द केसीको समस्या जहाँको त्यहीँ छ । प्रधानमन्त्रीलाई यसमा त्यति रुचि छैन् ।

संसद्ले बिजनेस पाएको छैन ।

सरकारलाई यसमा त्यति मतलव छैन ।

बस्, प्रधानमन्त्रीलाई सपनाकै चिन्ता छ ।

आजको होइन । 

आइतबार दिउँसो प्रधानमन्त्रीको कवित वाचन र भाषणले देशलाई निःशुल्क मनोरञ्जन दियो । 

साँझ ओलीका मन्त्रीको चाल झन् गजव थियो । उनीहरूले भक्तपुर बाढीपीडितकोतिर जाने कल्पना पनि गरेनन् । 

बरु, फाइभस्टार होटल पुगेर खेल हेर्न चाहे । आधा दर्जनमन्त्रीसहित नेकपाका नेताहरूले फाइभस्टार होटल पुगेर विश्वकप फाइनल हेरे । 

विश्वकप फुटबलको फाइनल खेल हेर्न ओली सरकारका मन्त्री होटल याक एन्ड यतिमा पुगेका थिए । 

ऊर्जामन्त्री वर्षमान पुन, श्रम मन्त्री गोकर्ण विष्ट, उद्योगमन्त्री मात्रिका यादव, कृषिमन्त्री चक्रपाणि खनालसहितका मन्त्रीहरू नेकपाका युवा नेतासहित खेल हेर्न फाइभ स्टार होटल पुगेका थिए । 

रुसमा जारी विश्वकप फुबटल–२०१८ को उपाधिका लागि फ्रान्स र क्रोएसियाबीच खेल भएको थियो । 

खेल हेर्न टोपबहादुर रायमाझी, घनश्याम भुसाललगायतका युवा नेताहरू पनि पुगेका थिए । 

क्रोएसियालाई ४–२ ले हराउँदै फ्रान्सले विश्वकप फुटबलको उपाधि जितेको छ ।

खेल हेर्न पूर्वसभामुख ओनसरी घर्ती पनि पुगेकी थिइन् । 

होटल स्रोतका अनुसार सहभागी एक सय ५० जना हुने भन्दै प्रत्येक एक जनालाई खाना खर्च २५ सय रुपियाँ दरले गरिएको थियो । 

आफ्नो घर डुबेका भक्तपुरवासीले मन्त्रीको यो लिला देखेपछि सम्झेका होलान– ‘समाजवाद’को सपना । 

र, अब प्रधानमन्त्रीज्यूले ‘सपना’ कुरा थोरै र आजको काम धेरै गर्ने कि ? 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप