बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एमबाप्पेः १९ वर्षे ठिटो, जसले खोसिरहेछन् मेस्सी र रोनाल्डोको ताज

सोमबार, ३२ असार २०७५, १० : ५४
सोमबार, ३२ असार २०७५

बीबीसी

आइतबार राती खेलिएको विश्वकप फाइनलमा जब फ्रान्सले क्रोएशियालाई ४–२ ले हरायो तब त्यसमा १९ वर्षका फरवर्ड किलियान एमबाप्पेको गोल पनि समावेश थियो ।

फ्रान्सको तर्फबाट खेलमा चौथो गोल गरेका एमबाप्पेको नाम एउटा उपलब्धिसँग जोडिएको छ । उनी फुटबल विश्वकपको फाइनलमा गोल गर्ने दोस्रो टिनेजर बने ।

उनी अघि सन् १९५८ मा विश्वकप फाइनलमा पेलेले गोल गरेका थिए । त्यतिबेला पेलेको उमेर १८ वर्ष थियो  उक्त खेलमा उनको दुई गोलको मद्दतले ब्राजिलले स्विडेनलाई ५–२ ले हराएको थियो ।

पेलेले यो उपलब्धिका लागि एमबाप्पेलाई ट्वीट गरेर बधाई पनि दिएका छन् ।

एमबाप्पे बने पेलेपछि विश्वकप फाइनलमा गोल गर्ने पहिलो टिनएजर

बाल्यकालदेखि नै प्रतिभाशालीः

रुसमा आयोजित यो विश्वकप प्रतियोगितामा एमबाप्पेले चार गोल दागे । उनी सबैभन्दा धेरै गोल हान्ने शीर्ष तीन खेलाडीमा समावेश त छैनन् तर उनले ‘फिफा योंग प्लेयर अफ द टूर्नामेन्ट’ को उपाधि हाँसिल गरेका छन् अर्थात् उनलाई विश्वकपको सर्वश्रेष्ठ युवा खेलाडी चुनिएको छ ।

आज उनको प्रतिभा र क्षमताको पूरा संसारभरी चर्चा छ तर किलियान एमबाप्पे बाल्यकालदेखि नै निकै प्रतिभावान् व्यक्ति हुन् ।

एमबाप्पे नायक बन्दा मेसी अभागी !

सन् १९९८ डिसेम्बर २० तारिखमा फ्रान्सको राजधानी पेरिसमा जन्मिएका एमबाप्पेका पिता विल्फ्राइड मूलतः क्यामरुनका हुन् । उनी फुटबलका प्रशिक्षक हुन् र एम्बाप्पेका एजेन्ट पनि । एम्बाप्पेकी आमा फाएजा लमारी अल्जेरियाकी हुन् । उनी कुनैबेला ह्यान्डबलकी खेलाडी थिइन् ।

एमबाप्पेले आफ्नो करियरको सुरुवात पेरिसको फुटबल क्लब एएस बान्डीमार्फत गरेका थिए जहाँ उनका पिता विल्फ्राइड पनि प्रशिक्षक थिए । त्यहाँ एमबाप्पेले अर्का एक प्रशिक्षक एन्टोनिया रिकार्डीसँग पनि कोचिङ लिएका थिए ।

एमबाप्पेबारे रिकार्डीले बीबीसीसँग भनेका थिए, ‘मैले पहिलो पटक कोचिङ दिँदा एमबाप्पे ६ वर्षका थिए । मलाई त्यति नै बेला थाहा भइसकेको थियो कि उनी अरुभन्दा भिन्न छन् । उनी अन्य बालकभन्दा निकै फरक थिए ।’

पेलेजस्तै एमबाप्पे: फ्रान्सले भेटायो आक्रामक फुटबलको लय

रिकार्डीले एमबाप्पेको प्रतिभाबारे थपे, ‘उनको ड्रिबलिङ कमालको थियो र उनी अन्य बालकभन्दा निकै तेज पनि थिए । मैले यहाँ १५ वर्ष कोचिङ दिएँ तर उनीभन्दा राम्रो खेलाडी देखेको छैन । पेरिसमा हुन त अत्यधिक प्रतिभा छन्, तर उनीजस्तो छैनन् । उनी सर्वश्रेष्ठ हुन् ।’

संसारै भयो प्रशंसकः

एएस बान्डीपछि एमबाप्पे क्लेयरफोन्टेन एकेडेमी गएका थिए । पछि उनको प्रतिभा देखेर उनलाई थुप्रै फ्रान्सेली क्लब, रियल मड्रिड, चेल्सी, लिभरपूल र म्यान्चेस्टर सिटीसम्मले अनुबन्ध गर्ने कोसिस गरेका थिए ।

संसारको सबैभन्दा महँगो असोसिएशन फुटबल ट्रान्सफरको रेकर्ड पनि एमबाप्पेको नाममा छ । यसबाट अन्दाज लगाउन सकिन्छ कि फुटलब क्लबबीच उनलाई साइन गराउन कस्तो होडबाजी थियो ।

फ्रान्सबिरुद्ध उरुग्वे : एमबाप्पेलाई रोक्लान् गोडिनले ?

यसै वर्ष १० करोड ३५ लाख यूरोमा उनको ट्रान्सफर मोनाकोबाट फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनका लागि भएको थियो ।

जर्मनीका पूर्व स्ट्राइकर र म्यानेजर जर्गन क्लिन्समन भन्छन्, ‘एमबाप्पेको तर्फबाट अझै धेरै कुरा आउन बाँकी छ । उनले बजारलाई हल्लाएर राखेका छन् ।’

सर्वश्रेष्ठ खेलाडीको ताजः

३३ वर्षका रोनाल्डो र ३१ वर्षका मेस्सीलाई पछिल्लो एक दशकदेखि संसारको सर्वश्रेष्ट खेलाडी भनिन्छ ।

तर इंगल्याण्डका पूर्व डिफेन्डर रियो फर्डिनेन्ड भन्छन्, ‘लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोले संसारका सर्वश्रेष्ठ खेलाडीको ताज फ्रान्सका टिनेजर काइलियान एमबाप्पेलाई सुम्मिरहेका छन् ।’

म्यान्चेस्टर युनाइटेडका लागि खेलिसकेका फर्डिनेन्ड भन्छन्, ‘अबका थुप्रै वर्षसम्म एम्बाप्पे ब्यालन डोरको मञ्चमा देखिनेछन् ।’

फर्डिनेन्डका अनुसार एमबाप्पेमा उमेरभन्दा बढी परिपक्वता देख्न पाइन्छ । यस्तै जर्मनीका पूर्व स्ट्राइकर ब्लिन्समनका भन्छन्, ‘एमबाप्पेलाई हेर्दा यस्तो लाग्छ कि उनी विगत १० वर्षदेखि फ्रान्सको टिममा खेलिरहेका छन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप