बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

काङ्ग्रेसमा पुरानै ‘रोग’ बल्झियो, देउवालाई ‘काउन्टर’ दिन रामचन्द्र पक्षको भेला

सोमबार, ३२ असार २०७५, १० : ३८
सोमबार, ३२ असार २०७५

 काठमाडौं– हेटौंडामा जिल्ला सभापतिहरुको भेलापछि केही मत्थर भएको नेपाली काङ्ग्रेसको आन्तरिक ‘किचलो र गुट’को राजनीति फेरि तीब्र बनेको छ । 

यसैक्रममा सोमबार संस्थापन इतर मानिने रामचन्द्र पौडेल र कृष्ण सिटौला समूहका केन्द्रीय सदस्यहरुको ‘गोप्य’ भेला बोलाइएको छ । 

काठमाडौको एक सहकारीको कार्यलयमा दिउँसो ११ बजेपछि बस्ने उक्त भेलामा सभापति देउवाले यसअघि जनाएका प्रतिवद्धता कार्यान्वयन गरे–नगरेकोबारे गम्भीर समिक्षा गर्ने नेताहरुले बताएका छन् । 
‘खासगरी निर्वाचन परिणामपछि पार्टी सुधार गर्न सभापतिले गरेका प्रतिवद्धता कति कार्यान्वयन भए भन्ने विषयमा छलफल गर्ने र त्यहि अनुसार रणनीति बनाउन भेला सहयोगी हुनेछ’ पौडेल पक्षका एक नेताले रातोपाटीलाई बताए । 

ती नेताका अनुसार  महासमिति बैठक बोलाएपनि विधान मस्यौदा समिति लगायतका समिति गठन गर्ने विषयमा देउवाले जनाएको प्रतिवद्धता कार्यान्वयनतर्फ चासो नदेखाएकाले कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने बताए । 

भेलामा नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाले आफू निकटका केन्द्रीय सदस्यलाई छलफलका लागि एसएमएसमार्फत बोलाएका छन् । ‘भेलाको धेरै चर्चा भयो मलाई पनि बोलाइएको छ तर के विषयमा हो भनेर खुलाइएको छैन’ सिटौलापक्षका एक केन्द्रीय सदस्यले भने ‘सायद १४ औं महाधिवेशनको तयारीका बारेमा हुनसक्छ ।’

गत असार ५ देखि ८ गतेसम्म भएको सभापतिहरुको भेलामा सहभागिहरुले नेतृत्वले नै गुटगत राजनीतिलाई प्रश्रय दिएकाले गुटगत राजनीति गर्न छाडेर समग्र काङ्ग्रेसलाई एक ढिक्का बनाउने प्रतिवद्धता जनाउन नेताहरुलाई दवाव दिइएको थियो ।

 यस्तो दवाव बुझेपछि नेताहरुले पनि गुटगत राजनीति नगर्ने प्रतिवद्धता जनाएपनि सोही भेलामा सभापतिले अरुलाई बोल्नै नदिएर गुटको राजनीतिलाई प्रमुखता दिएको आरोप लागेको थियो । 
भेलापछि जारी २१ बुँदे हेटौडा घोषणापत्रमा पनि काङ्ग्रेस एक ढिक्का हुने उल्लेख छ । त्यस्तै भेलालाई सम्बोधन गर्दै सभापति शेरबहादुर देउवाले काङ्ग्रेसलाई अव एक नम्बरको पार्टी बनाएर छाड्ने दावी गरेका थिए ।

त्यस्तै महामन्त्री शशांक कोइरालाले सिंगो पार्टी चलाउने भन्दा पनि नेताहरुले समूह चलाउने गरेको गुनासो बढेकाले गुट छाडेर सिंगो काङ्ग्रेस हाक्न सभापति देउवा र पौडेललाई सुझाव दिएका थिए । त्यो भेलामा सभापति देउवा पक्षले आफ्ना विरोधी भनेर चिनिएिका पौडेल बाहेकका नेताहरुलाई बोल्न नै नदिएपछि प्रकाशमान सिंह र कृष्ण सिटौलाहरुले भेला नै बहिस्कार गर्न पुगेका थिए । 

गत निर्वाचनमा अनपेक्षित हार खाएपछि काङ्ग्रेसमा एकपक्षले अर्को पक्षलाई दोषी देखाउँदै सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री प्रकाशमान सिंह, कृष्ण सिटौला र गगन थापा लगायतले गुटगत राजनीति गर्दै आएका थिए । त्यसैको असर जिल्ला सभापतिहरुको भेलामा पनि देखिएको थियो । 

आगामी १४ महाधिवेशनको तयारीमा समेत रहेका नेताहरुले यसअघि आ–आफ्नै समूहका भेला, छलफल र अन्य गतिविधि गर्दै आएका छन् । रामचन्द्र पौडेल समूह, सिटौला समूह र गगन थापा समूहले छुट्टछुटटै गरेका त्यस्ता भेलाहरुमा सभापति देउवाको चर्को विरोध गदै देउवाको विकल्प खोज्नुपर्ने निश्कर्ष निकालिएपनि त्यो सार्वजनिक हुने गरेको थिएन । 

पौडेल समूहबाहेक सिटौला समूहले गरेका भेलामा देउवा र पौडेल दुबै डेड एक्स्पायर भएकाले नयाँ व्यक्तिले नेतृत्व लिनुपर्ने बताइने गरिएको थियो । जसलाई गगन थापा समूहले साथ दिँदै आएका थिए ।  
काङ्ग्रेसको गत ०७२ चैतमा सम्पन्न १३ औं महाधिवेशनपछि पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको विधानविपरित पार्टी सञ्चालन गरेको, विधान बमोजिम कुनैपनि विभाग र समितिहरु गठन नगरेको, विधानलाई कुल्चेर आफुखुसी निर्णय गर्ने गरेको लगायतका आरोप देउवामाथि लाग्दै आएका छन् । 

यस्ता केही आरोप सभापति देउवाले स्वीकार गर्दै अब सच्चाउने बताएपनि व्यवहार त्यस्तो नदेखिएको नेताहरुले बताउने गरेका छन् ।   शनिबार मात्रै सभापति शेरबहादुर देउवाले आफ्नो नीजि निवास बूढानीलकण्ठमा आफू निकटका केन्द्रीय सदस्यहरुलाई बोलाएर आगामी महाधिवेशनमा आफू फेरि सभापतिको  उम्मेदवार बन्ने इच्छा प्रकट गरेका थिए । 

देउवाले यस्तो आशय प्रकट गरेलगत्तै वरिष्ठ नेता पौडेल र सिटौलाले आफू निकटकाहरुको भेला बोलाएका हुन् । काङ्ग्रेसको १३ औं महाधिवेशनको अन्तिम समयमा सिटौला पक्षले देउवालाई सहयोग गरेको थियो ।  महाधिवेशनपछि देउवा समूहकै कतिपय नेताहरु देउवा क्याम्प छाडेर अन्यत्र गएकाले अवको महाधिवेसनमा पौडेल, सिंह र सिटौला समूह मिल्दा देउवालाई सहजै हराउन सकिने निश्कर्ष उनीहरुको छ । 

केही दिनअघि सभापति शेरबहादुर देउवाले विधान मस्यौदा समिति गठन गर्न पौडेल पक्षसँग नाम मागेका थिए । तर, पौडेल पक्षले नाम उपलब्ध नगराएपछि विधान मस्यौदा गठन हुन नसकेको देउवापक्षले बताउदै आएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप