बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

२५ सय २१ मिटर उचाईबाट ८ मिनेटमा प्रधानमन्त्री ओलीले लेखे ६६ शब्दको भावुक कविता

आइतबार, ३१ असार २०७५, २० : २४
आइतबार, ३१ असार २०७५

काठमाडौं– परिवर्तनशील दुनियाँमा सँधै बाँचेको को छ र ?
बाँचुञ्जेल हो जिन्दगी मर्नु त छँदैछ
मरे पनि केही छैन त्यसपछि पनि सपना देख्न पाइयो कमसेकम
सगरमाथा, लुम्बिनी, मेची र महाकाली
हाम्रा लहलह खेतबारी, झपक्क कान्ला र आली
सपनामा भए पनि देख्न पाउँ
चन्द्रागिरिको डाँडोमा आएर सपनामा
भावी सन्तति मुस्कुराइरहेको देख्न पाउँ
तिनको हँसिलो मुहारको तस्बीर खिच्न पाउँ
मरे पनि केही छैन त्यसपछि पनि सपना देख्न पाउँ ।

२ हजार ५ सय २१ मिटर अग्लो चन्द्रागिरीको डाँडामा रहेको भालेश्वर महादेवको मन्दिर र पृथ्वीनारायण शाहको साहिक छेउ ।  भाषणका क्रममा बीच बीचमा मिठासपूर्ण टुक्का मिसाएर स्रोतालाई मन्त्रमुग्ध पार्ने प्रधानमन्त्री केपी शर्मा ओलीले शीर्षक बिनाको एक राष्ट्रवादी कविता लेखे । आइतबार चन्द्रागिरी हिलको सभाहलमा उनले माथिका कविताका पंक्ति सुनाउँदा सभाहल तालीले गडगडाहट भयो । कार्यक्रम सञ्चालक देवी नेपालले प्रधानमन्त्री ओलीलाई मञ्चमा बोलाउँदै गर्दा पूर्व कविको रुपमा समेत चित्रित गरेका थिए । 

मदन भण्डारी कला साहित्य प्रतिष्ठानले भानुभक्तको २०५ औँ भानु जयन्तीका अवसरमा गरेको तीनदिने हिमवत खण्ड साहित्य कला सम्मेलनको समापनका अवसरमा प्रधानमन्त्री ओलीले चन्द्रागीरीमै कविता लेखेर वाचन गरेका हुन् । 

कविता वाचनपछि प्रधानमन्त्री ओलीले भने– ‘आउँदा आउदै उहाँहरुले एउटा टेबल र कुसीमा राखिदिनुभयो । अनि कागज दिनुस् भने, कागज दिए । कलम दिनुस् भने चन्द्र ढकालले कलम दिनुभयो । अस्ति म पनि लेखौंला भनिहालें तर लेख्नुपर्ला भनेर सोच विचार नै गरेको थिइन् । कविता नलेख्ने तर भावना लेख्ने भएकोले छन्द न बन्दसँग लेखिहालेँ ।’

उनले ठट्टा गर्दै भने– ‘यो पनि कविता भयो भने चल्यो अब’ कार्यक्रममा उनले अब फेरी परिवर्तन भन्दा पनि नयाँ सिर्जना गर्ने बाटोमा जानुपर्ने बताए । उनले सरकार कुनै एउटा क्षेत्रको विकास भन्दा पनि सवै पक्षको समृद्धि र रुपान्तरणको दिशामा अघि बढिरहेको उल्लेख गरे । उनले कला साहित्यले मान्छेमा चेतना अभिबृिद्ध गर्ने बताउँदै समाज रुपान्तरणका लागि कला साहित्यको विकासमा सरकार तत्पर भएको बताए । उनले भाषा संस्कारलाई हामीले कहिल्यै छोड्न नसक्ने बताउँदै कला साहित्य संस्कृति संरक्षणका लागि सरकार कलाकार, साहित्यकारको साथमा रहेको उल्लेख गरे । आफु ३ दिनदेखि सम्मेलनमा सहभागी हुनु त्यसैको प्रमाण भएको उनको तर्म थियो । 

उनले नेपाली भाषा संस्कृतिको संरक्षणक लागि स्वदेशी तथा विदेशीमा रहेका सम्पूर्ण नेपालीहरुलाई आग्रह पनि गरे ।  यस प्रकारको कार्यक्रम आगामी दिनमा पनि गर्न सुझाव दिए । उनले भने– ‘यो पहिलो र अन्तिम सम्मेलन नबनोस, बरु पहिलो होस । मैले नै यो सम्मेलन गर्न भनेको हुँ, अर्को पटक फेरी आयोजना गर्न माटोमुनी बिउ रोपेर राख्नुस ।’ 

३ दिनसम्म आफूले कविता सुनेको भन्दै आलोचना गर्नेहरुलाई उनले भने– ‘कविता भैसीले सुन्दैन, कविता सुनायो भनेपनि उग्राएर बस्छ’ ३ दिन सम्म चलेको हिमवत खण्ड कला साहित्य सम्मेलनमा १३ देशमा ४३ प्रतिनिधि नेपाल आएका थिए ।  

सम्मेलनमा हिमवतखण्डमा कला साहित्यको विकास, शान्ति स्थापना सहितका  प्रतिबद्धतासहित १५ बुँदे चन्द्रागिरि घोषणापत्र जारी गरिएको छ । सम्मेलनमा स्वदेश तथा विदेशमा रहेका ३ सय हाराहारी साहित्यकार सहभागी भएका थिए । कार्यक्रमको अन्तिम कार्यक्रमको व्यवस्थापन चन्द्रागिरी हिल्सले निःशुल्क रुपमा गरेको थियो । कार्यक्रममा स्वदेश तथा विदेशमा रहेका नेपाली साहित्यकारहरुले कविता वाचन गरेका थिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप