बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

गाजामा हमासद्वारा युद्धविराम घोषणा

आइतबार, ३१ असार २०७५, १९ : ४४
आइतबार, ३१ असार २०७५

एजेन्सी– इजरायल र प्यालेस्टाइनको विवादास्पद सीमा क्षेत्र गाजामा हमास लडाकूहरुका विरुद्ध शनिबार भएको शक्तिशाली हमलापछि आइतबार युद्धविरामको घोषणा गरिएको छ । 

सन् २०१४ को युद्ध यताकै सबैभन्दा ठूलो हमला भएको सो क्षेत्रमा आइतबार भने युद्धविरामको घोषणा गरिएको समाचारमा जनाइएको छ । 

हमासले आफ्नोतर्फबाट युद्धविरामको घोषणा गरेको समाचारमा उल्लेख छ । सो ठाउँमा गएरातिको दोहोरो आक्रमणका कारण निकै तनावपूर्ण अवस्था उत्पन्न भएको थियो । 

हमलाका कारण गाजामा हिंसा बढ्ने आशङ्का गरिएको समाचारमा जनाइएको थियो । तर त्यसको १२ घन्टाभित्रै हमास समूहले यो युद्धविरामको घोषणा गरेको हो । 

उसको एकतर्फी घोषणापछि इजरायलको तर्फबाट पनि त्यहाँ आज हमला भएको छैन । यसलाई विश्वका देशहरुले सकारात्मक कदमका रुपमा लिएको बताएका छन् ।     

शनिबार रात भएको हमलाको इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले पनि पुष्टि गर्नुभएको छ । गाजातर्फबाट इजरायलमा रकेट हानिएको र ती रकेटकहरुको जवाफी आक्रमणका रुपमा यताबाट हमला गरिएको इजरायली पक्षले जनाएको छ । 

आइतबारको युद्धविराम मध्यपूर्वका लागि संयुक्त राष्ट्रसंघीय शान्तिदूत निकोलाई एमलादेनोभको रोहबरमा गरिएको छ । उनले हमासका तर्फबाट युद्धविराम भएको जानकारी पनि गराएका छन् । 

गएरातिको सो आक्रमणबाट दुई जना प्यालेस्टिनी मारिएका छन् । त्यसमा परी अरु दर्जनौँ व्यक्ति घाइते भएका छन् । दुवै तर्फबाट कम्तीमा पनि २०० पटकसम्म रकेट हमला भएको जनाइएको छ । 

इजरायलले पहिला गाजातर्फबाट हमला भएको जनाएको छ । तर उक्त समाचारको हमासले भने खण्डन गरेका छन् । उनीहरुले युद्धविरामकै समयमा यताबाट हमला नभएको बताएका छन् । 

गाजातर्फ पछिल्ला केही समयमा हिंसा मच्चिएको छ । हमासका विरुद्ध इजरायलका तर्फबाट पनि ठूला हमलाहरु हुने गरेका पछिल्ला समाचारहरुमा जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप