बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

थापाको साउदीमा १८ वर्षः श्रमिकदेखि श्रमिक नेतासम्म

आइतबार, ०१ साउन २०७४, ०७ : १८
आइतबार, ०१ साउन २०७४


उनको परिवार हुनेखानै नै थियो । किसान परिवार भएपनि बाल्यकालमा खासै अभाव भोग्नु परेन । तर, जब हुर्किँदै गए उनमा केहि गरौं भन्ने हुटहुठी जाग्यो । त्यो हुटहुटी ठूलो थिएन, विदेश जाने र केहि रकम कमाएर जीवन थप खुसीमय बनाउने भन्ने नै थियो । १८ वर्षअघि त्यही हुटहुटीले श्रमिकको रुपमा साउदी अरब पुगेका नुवाकोट पञ्चकन्याका अर्जुन थापा आफ्नो मिहनेत र लगनशीलताले आजको दिनमा एक सफल व्यक्तित्वको रुपमा दरिएका छन् । 
क्याम्पस पढ्दापढ्दै साउदी हान्निएका उनले त्यहाँको परिवेशमा निकै हण्डर खाए, दुख पनि भोगे । तर उनले हिम्मत हारेनन् बरु सकारात्मक सोच बोकेर निरन्तर काममा दत्तचित्त भएर लागिरहे । त्यसैले त अहिले उनी साउदीमा एक सफल व्यवसायीका साथै मजदूरको एउटा भरोसा बन्न पुगेका छन् । 

नेपाली कांग्रेस निकट जनसम्पर्क समिति साउदी अरवको वरिष्ठ उपाध्यक्ष रहेका उनी आफूलाई श्रमिकको नेता भन्दा पनि श्रमिक अगुवा भन्न रुचाउँछन् । श्रमिक हुँदै अहिलेको अवस्थामा पुगेको तथा अहिले पनि कुनै न कुनै रुपमा श्रमिक नै रहेकाले आफू श्रमिक अगुवा भएको उनको बुझाई छ । 

अर्जुन सन् १९९९ मा साउदी पुग्दा त्यहाँ खासै नेपालीहरु भेटिदैनथे । विरानो देश, विरानो परिवेश, कयौं दिन एक्लै रुन्थे उनी । आमाबाबु सम्झिन्थे । गाउँ घर र पञ्चकन्याका उकाली ओराली मानसपलतमा आउँदा भावुक बन्थे । तर त्यो भावुकताको के अर्थ हुन्थ्यो र मरभूमिको देशमा ? त्यसैले त उनी चित्त बुझाउँदै अभिष्यका समपनाका मालाहरु बुन्दै मरुभूमिको ४५ डिग्रिको तातोमा कन्ट्रक्सनको काममा खटिन्थे । 
जतिसुकै दुःख र अभाव भएपनि हिम्मत हारेनन् बरु आफूलाई परिस्कृत गर्दै लगे । मालिकको विश्वास जित्दै म्यानेजरसम्म बन्ने अवसरमात्रै होइन एउटा कम्पनीको रिकुरमेन्ट समेत बन्न सफल भए । र, त्यहीबाट उनको जीवनमा युटर्न भयो । अर्थात रिकुरमेन्टबाट उनी देशविदेश चहार्न थाले । साउदीका थप घुलमिर हुन थाले र सोहि क्रममा आफ्नै व्यवसायमा समेत हात हाल्न पुगे । त्यतिबेलासम्म उनको मनकामनाबाट विदेश हान्निदै गर्दाको सुनौलो सपना लगभग पूरा भइसकेको थियो । तर उनमा एउटा बेचैन भने कायमै थियो । लामो समय प्रवासमा काम गर्दा निकै पीडा व्यथा भोगिएको थियो र अरु कामदारले पनि त्यस्तै नियती भोग्नुपथ्र्याे । 

साथै नेपाली कांग्रेसमा आस्थावान उनलाई पार्टीमा कुनै न कुनै रुपमा जोडिने स्पेस चाहिएको नै थियो । जुन उनीलाई मात्र नभएर उनी जस्तै आस्थावान समकालिनहरुलाई महसुश भएको थियो र त्यही आवस्यकता परिपूर्ति गर्ने उद्देश्यका साथ सन् २०१३ मा नेपाली जनसम्पर्कसमिति साउदी अरेबिया गठन भयो । चोलाप्रसाद पाठक संस्थापक सभापति रहेको उक्त समितिमा उनी पनि विदेश विभागमा रहने गरी आवद्ध भए भने वर्तमान कार्यकालमा वरिष्ठ उपाध्यक्ष भएका हुन् । 

श्रमिकका समस्या : नेपालदेखि प्रवाससम्म 
हुन त नेपालबाट साउदी नपुग्दा नै श्रमिकमा समस्या धेरै रहने बताउँछन् थापा । ‘साउदीमा श्रमिकका धेरै समस्या छ नै तर नेपालबाट जाँदादेखि नै पनि मजदुरमा समस्या रहन्छ’, उनी भन्छन्, उहाँहरुमा के काममा जाने भन्नेमा नै फिक्स हुँदैन । एक्पेटेसन हाई हुन्छ तर साउदी पुगेपछि सोचेजस्तो हुन्न । सपना त्यही ब्रेक भएको उहाँहरुमा भान पर्छ । भाषा संस्कृति नै नमिल्दा थप कठीनाई हुन्छ ।’

विषेशगरी विदेश जानुअघि नै सबैकुरा बुझेर जानुपर्ने उनको सुझाव छ । त्यहाँको रहनसहन, चालचलन र संस्कृति नबुझ्दा निकै समस्या हुने उनको बुझाई छ । अर्को कुरा धेरैजसो श्रमिक दक्ष हुँदैनन् । त्यसले समस्या थप निम्त्याउने उनको ठम्याई छ। यस्तो हुनुमा सरकार र म्यानपावर व्यवसायीको कमजोरी भए पनि उपयुक्त समाधान ननिकालिनु बिडम्बना भएको उनको भनाई छ । 

कतिले तलब पाउँदैनन्, कति भाग्दा समस्यामा पर्छन् त कति अवितब्यमा । यस्तो अवस्थामा उनी र उनकै संगठन सहयोगका लागि अग्रपंक्तिमा आउँछ र निरन्तर सहयोग पनि गरिरहेको छ । 

उनी भन्छन्, ‘पहिला तलब पाइनँ भनेर आउने धेरै हुन्थे । अहिले कम्पनी बन्द भयो भन्ने समस्या छन् । तेस्रो समस्या भनेको कम्पनी बाट भाग्ने पनि समस्यामा पार्ने । कोहि चित्त नबुझेर भाग्छन् त कति बढी कमाई हुने लोभमा भाग्छन् । अर्को कुरा लाइसेन्स नहुनेले गाडी चलाएर हुने समस्या पनि हो ।’ यी र यस्तै समस्या समाधानमा आफूहरु निरन्तर लागिपरेको उनले बताए । सँगसँगै उनले सकेसम्म कम्पनीबाट भाग्न नहुनेमा समेत जोड दिए ।

म्यानपावरमाथि आक्रोश
श्रमिक हुँदै श्रमिकको नेतासम्म बनेका उनी कामदार म्यानपावर र म्यानपावरवालाबाट श्रमिक पीडित हुने गरेको भन्दै आक्रोश व्यक्त गर्छन् । उनी भन्छन्, ‘साउदी पुग्नुपर्ने कतिपय हाम्रो साथीहरु ढाका र बंगलादेश पुग्छन् । तर गन्तब्यमा पुग्दैनन् मार्केटिङको लागि । उसलाई कमिसनको मतलब हुन्छ र झुटमुटमा पठाइन्छ । त्यसैले समस्या निम्तने हो ।’

तर जो आफैं मार्केटिंगमा खटिन्छन् तिनीहरुमा भने समस्या नरहेको उनको बुझाई छ। यतिमात्रै नभई म्यानपावर व्यवसायमा लाग्नेहरु कति योग्य छन् भन्ने सवाल पनि मुख्य हुने उनी बताउँछन् । उनी भन्छन्, ‘एउटा व्यवसायीले समस्या आउँदा समाधान गर्न पनि सक्नुपर्छ । तर यसको कमी देखिएकै हो ।’ योग्य व्यक्ति यो व्यवसायमा आउनुपर्ने भनि आफूहरुले निरन्तर आवाज उठाउँदै आएपनि राज्यस्तरबाट उचित पहल कदमी नहुँदा समस्या ज्यूँकोत्यू रहेको उनी बताउँछन् । 

जनसम्पर्क समितिका गतिविधि
कांग्रेस निकट संगठन भएपनि जनसम्पर्क समिति एक सामाजिक संस्था भएको उनको दाबी छ । प्रवासमा दलैपिच्छे मजदूर संगठन भएपनि सहयोगको सवालमा भने कसैलाई विवेद नहुने उनी बताउँछन् । ‘हामीले श्रमिकको समस्या समाधानमा पार्टी हेर्दैनौं। हामी जोसुकैलाई पनि सहयोग गर्छौ’, थापा भन्छन्, ‘ जहाँपनि आरोप लगाइन्छ तर प्रवाहमा जे जस्तो भएपनि पीडितकै सेवामा रहेका छौं ।’

समितिले स्थापना कालयता श्रमिकको हकहितको लागि धेरै काम गरिसकेको छ । पछिल्लो समय पनि समितिले केहि उल्लेखनीय काम गरेकै छ। अहिले साउदीमा आममाफी चलिरहेको त्यसका लागि समितिले आवश्यक सहयोग गरिरेको छ। ठाउँठाउँमा पुगेर फारम भर्नलगायतमा सहयोग भइरहेको थापा बताउँछन् । यस्तै भूकम्प जाँदा समितिले ६१ लाख रुपयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरिदिएको थियो भने ताप्लेजुका बाढीपीडितलाई पनि उल्लेख्य सहयोग गरेको थियो । यतिमात्रै नभएर साउदीमा दुख पाएकोको आवश्यक हयोगमा पनि उत्तीकै दत्तचित्त छ समिति । समितिकै अगुवाईमा साउदीका विभिन्न स्थानमा सामाजिक काम तथा कार्यक्रम पनि भइरहन्छ । बेलाबेलामा हरेक कम्पनीसम्म गएर जनचेतनामूलक कार्यक्रमहरु पनि भएकै छन् । यी सबैकाममा अर्जुन थापाहरु निरन्तर खटिरहेका नै छन् । 

पार्टीले प्रवासलाई हेर्ने नजर 
पार्टीले प्रवासी संगठनलाई राम्रै नजरले हेरेजस्तो देखिए पनि व्यवहार भने ठीक नहुने गरेको थापाको गुनासो छ । उनी भन्छन्, ‘राम्रो बोलेर नभई राम्रो गरिदिनुपर्छ पार्टीले । तर त्यसो हुन सकेको छैन । प्रवासमा रहेर पनि आफूहरु पार्टीको लागि लागिपरेको भएपनि पार्टी भने गुटबन्दीमै रुमल्लिएको उनको गुनासो छ । 

श्रमिमको हितमा सरकारले गर्नुपर्ने काम
थापाको बुझाईमा सरकारले मजदुरको हितका लागि एउटा कोष खडा गर्नुपर्छ । त्यसमा राज्यले लगानी गर्ने भन्दा पनि मजदूरबाटै निश्चित रकम संकलन गरेर व्यवस्थित गर्नुपर्छ र समस्या परेका श्रमिकको हितमा सही तरिकाले प्रयोग गरिनुपर्छ । 

यस्तै म्यानपावर व्यवसायको नियमन पनि सही ढंगले हुनुपर्छ । ताकि मनपरी गर्नेलाई लगाम लगाउन सकियोस् । यसका साथै श्रमिकको समस्या समाधान गर्न तर्फ अध्ययनहरु हुनुपर्छ । व्यवसायीले पनि इमान्दारीता देखाउनुपर्छ । विदेशजानुअघि तालिम दिइनुपर्छ भने अभिमुखीकरण गतिलो ढंगले दिनुपर्छ । 

सबै भन्दा महत्वपूर्ण कुरा त राज्यले स्पष्ट नीति नियम बनाउनु पर्ने थापाको ठम्याई छ । यसका लागि आफू र आफ्नो संगठन निरन्तर लागिपर्ने पनि थापाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप