शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

वर्षा र गर्मीमा लामखुट्टेबाट जोगिन विज्ञको सुझाव

आइतबार, ३१ असार २०७५, १६ : १९
आइतबार, ३१ असार २०७५

– नारायण ढुंगाना 

रत्ननगर– वर्षा र गर्मीको मिश्रणले लामखुट्टेको प्रजनन वृद्धि हुने भएकाले लामखुट्टेबाट बच्न चिकित्सकले सुझाव दिएका छन् । विभिन्न रोग लामखुट्टेबाट सर्ने भएकाले यो मौसममा लामखुट्टेबाट जोगिनुपर्ने उनीहरु बताउँछन् ।  चितवनको भरतपुर अस्पतालका फिजिसियन डा भोजराज अधिकारी गर्मी र पानीको सम्मिश्रण र यो समयमा भौतिक निर्माणले खाल्टाखुल्टीसमेत बढ्ने हुँदा लामखुट्टे हुर्कन ठूलो सहयोग पुग्ने बताउछन् । 

डेङ्गु सार्ने एडिस एजेप्टाई नामको लामखुट्टेले जमेको पानीमा लार्भा र प्यूपा हुर्काउँछ । डेङ्गु मात्रै होइन, हात्तीपाइले, जापानिज इन्सेफ्लाइटिस, मलेरियालगायत रोग लामखुट्टेबाटै सर्छ । डा.अधिकारी भन्छन्, ‘यो समयमा लामखुट्टेबाट बच्नु भनेको धेरै रोगबाट बच्नु हो ।’ 

लामखुट्टेबाट सर्ने रोगबाहेक अन्य सरुवा रोग, भाइरल इन्फ्लुएन्जा, स्क्रब टाइफस र लेप्टो स्पाइराको पनि यही बेलामा बढी संक्रमण हुने डा.अधिकारी बताउछन् । 

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक रामकुमार केसी एडिस एजेप्टाई नामको लामखुट्टेको विकास हुने मौसम अहिले भएको बताउँछन् । उनी डेङ्गुको संक्रमणप्रति सचेत हुन सर्वसाधारणलाई आग्रह पनि गर्छन् । हरेक साउनदेखि कात्तिकसम्म डेङ्गु रोग लाग्ने खतरा हुन्छ । 

त्यसैले, जिल्लाका विभिन्न स्थानीय तहसँग मिलेर लामखुट्टेको वासस्थान खोजेर लार्भा नष्ट गरिएको उनी बताउँछन् । कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भरतपुरका फिजिसियन डा.दीपेन्द्र खतिवडा गर्मी र पानीसँगै लामखुट्टेको प्रजननमा वृद्धि हुने भएकाले मलेरिया, डेङ्गुलगायत अन्य रोगको संक्रमण हुने भन्दै लामखुट्टे हुर्कने अवस्था नदिन आग्रह गर्छन् । 

घर वरपर सरसफाइ गर्ने, झाडी हुन नदिने र पानी जम्न नदिनेलगायत उपाय अपनाउनुपर्ने उनको भनाइ छ । अहिलेको गर्मी मौसममा खानेकुरा, पानी र हावामा बढी संक्रमण हुन्छ । 

यो बेला झाडापखाला, रुघाखोकी, ज्वरो, टाइफाइड, स्क्रब टाइफस, डेङ्गु, मलेरिया, जापानिज इन्सेफ्लाइटिस र चिकनगुनियाको संक्रमण हुनसक्ने चितवन मेडिकल कलेजका निर्देशक डा दयाराम लम्साल बताउँछन् । गर्मीमा सरुवा रोग नै बढी हुने उनको भनाइ छ । 

गर्मीले खानामा छिटो संक्रमण हुने हुँदा फुड पोइजन हुने खतरा बढी हुन्छ । वातावरण प्रदूषणले विभिन्न सरुवा रोग निम्तिने डा.लम्सालको भनाइ छ । 

यस्तै, टाउको दुख्ने, ज्वरो आउने, घाँटी दुख्ने संक्रमण देखिन्छ भने कीरा, फट्याङ्ग्रा, उडुस, उपियाँलगायतले टोक्ने र विभिन्न छालाको एलर्जी र कीटजन्य रोग यो बेला देखिन्छ । बालबालिकामा संक्रमण धेरै हुने भएकाले उनीहरुको स्वास्थ्यमा बढी ख्याल गर्नुपर्छ । 

मुख्यतयाः स्वयं व्यक्तिले विशेष सावधानी अपनाउने हो भने धेरै रोगहरु नलाग्ने चिकित्सकको भनाइ छ । ज्वरो आए, कुनै संक्रमण भए चिकित्सकको सल्लाहमा औषधि लिनसमेत स्वास्थ्यकर्मीले आग्रह गरेका छन् । 

पानी उमालेर खानुपर्ने, सफा र ताजा खानेकुरा खानुपर्ने, घर वरपर सरसफाइ गर्नुपर्ने, लामखुट्टेको टोकाइबाट बच्नुपर्ने र बाहिर हिँड्दा पूरा ढाकेको कपडा लगाउनुपर्ने, खेतबारीमा काम गर्दा पनि लामो बाउला भएको लुगा लगाएर काम गर्नुपर्ने, राम्ररी सरसफाइमा बस्नुपर्ने र हात धोएर खानुपर्ने चिकित्सकको सुझाव छ । 

वर्षाको समयमा पानीमा ढल मिसिने सम्भावना बढ्छ । पानी दूषित हुने र वातावरणसमेत प्रदूषित भएर हैजा, झाडापखाला, हेपाटाइटिस ए, एलर्जीलगायतका संक्रमण हुन सक्ने कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भरतपुरका फिजिसियन डा.दीपेन्द्र खतिवडा बताउँछन् । 

चितवनको हकमा भन्नुपर्दा सर्पसमेत बस्तीमा आउने तथा वन्यजन्तुसमेत बाहिर निस्किने भएकाले पनि यसतर्फ सचेतता अपनाउन उनी सुझाउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप