शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

५३ अर्बको वैदेशिक लगानीका उद्योग दर्ता, लगानीमा आक्रामक बन्यो चीन

आइतबार, ३१ असार २०७५, १२ : ५१
आइतबार, ३१ असार २०७५

काठमाडौं–उद्योगमा वैदेशिक लगानी भित्रिने क्रममा उत्साह देखिएको छ । चालु आर्थिक वर्षको (२०७४/०७५) साउनदेखि असार २५ गतेसम्मको अवस्थामा ५३ अर्ब ४८ करोड ९ लाख रुपियाँ बराबरका वैदेशिक लगानीका उद्योग दर्ता भएका छन् ।  जब कि गत वर्ष (२०७३/७४) मा जम्मा १५ अर्ब २० करोड ६ लाख रुपियाँ बराबरको वैदेशिक लगानीका उद्योग दर्ता भएका थिए ।

 यो भनेको यस वर्ष उद्योगमा २५१.७५ प्रतिशतले लगानी बढेको हो ।  विभिन्न ४३ वटा देशबाट दर्ता भएको उद्योगको लगानी हो । उद्योग विभागका प्रवक्ता दुर्गाप्रसाद भुसाल नेपालमा वैदेशिक लगानी बढ्दै जानुले उद्योगमा लगानीको वातावरण बन्दै गएको स्पष्ट हुने बताउँछन् । उनले औद्योगिक व्यवसाय ऐन तथा कानुनमा 

सहजता, स्थायी सरकारको आगमन लगायतका कारण उद्योगमा वैदशिक लगानीको उत्साह देखिएको बताए । 
पछिल्लो समय नेपालमा लगानी गर्न सबैभन्दा बढी रुचि चीनले देखाएको उद्योग विभागको तथ्याङ्कले पुष्टि गर्छ । विभागको तथ्याङ्क अनुसार छिमेकी मुलुक चीनको मात्र ४५ अर्ब २७ करोडो उद्योग नेपालमा दर्ता भएको छ । चीनको मेनल्यान्डले ४४ अर्ब ६२ करोड १ लाख रुपियाँको उद्योग नेपालमा दर्ता गराएको छ भने हङकङले ६२ करोड ९ लाख रुपियाँ बराबरको उद्योग दर्ता गराएको छ ।

 यस्तै ताइवानले २ करोडको उद्योग दर्ता गराएको छ । चीनको विभिन्न ठाउँले गरेको लगानी ४५ अर्ब २७ करोड पुगेको उद्योग विभागले जनाएको छ ।  गत वर्ष चीनले ८ अर्ब ४३ करोड ६ लाख रुपियाँको उद्योग दर्ता गराएको थियो ।

यता अर्को  छिमेकी देश भारतको लगानी चीनको तुलनमा निकै कम देखिएको छ । चीनले यस वर्ष ४ अर्ब ८९ करोड ४ लाखको उद्योग दर्ता भएको छ ।  गत वर्ष २ अर्ब ८ करोड २ लाखको उद्योग भारतले दर्ता गराएको थियो ।


ऊर्जा क्षेत्र विदेशी लगानीको आकर्षक क्षेत्र, सेवा क्षेत्र खुम्चियो  
पछिल्लो समय विदेशीहरूको लगानी गर्ने आकर्षक क्षेत्रको रूपमा ऊर्जा क्षेत्र दरिएको छ ।  चालु आर्थिक वर्षमा ३६ अर्ब २५ करोड १ लाख रुपियाँ बराबरको  ऊर्जा क्षेत्रको उद्योग दर्ता भएको छ । यसैगरी उत्पादन पर्यटन र सेवा क्षेत्रमा पनि लगानी बढ्दै गएको विभागमा दर्ता भएको उद्योगले देखाउँछ । ६ अर्ब ५७ करोड २ लाख रुपियाँ बराबरको म्यानुफ्याक्चरिङ उद्योग दर्ता भएको छ ।  

यता सेवा क्षेत्रमा वैदेशिक लगानी खुम्चिएको छ । गत वर्ष ४ अर्ब ९९ करोड ८ लाख रुपियाँ लगानीको उद्योग दर्ता भएकोमा यस वर्ष खुम्चिएको छ । यस वर्ष २ अर्ब १७ करोड ३ लाख रुपियाँ बराबरको मात्र उद्योग दर्ता भएको छ ।  दर्ता भएका वैदेशिक लगानीको उद्योगमा  १३ हजार १ सय ५१ जनाले रोजगारी पाउनेछन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप