शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘सपना पूरा हुँदैछ’

आइतबार, ३१ असार २०७५, ११ : ५२
आइतबार, ३१ असार २०७५

बेन्जामिन मेन्डी 

के तपाईं पेप गार्डीओलाको कथा सुन्न चाहनुहुन्छ ? मलाई थाहा छ, तपाईं चाहनुहुन्छ । 

म जब म्यानचेस्टर सिटीमा आबद्ध भएँ । प्रिसिजन टुरका दौरान अमेरिकाको लस एन्जलसमा हाम्रो भेट भयो । उनले मलाई केही सिकाउनेछन् भन्ने अपेक्षा मलाई थियो नै । तर उनी त निकै उत्कृष्ट पो छन् । निकै व्यावसायिक पनि । 

कसैलाई स्वागत गर्ने तरिका गज्जबको छ । उनी मुस्कुराउँदै मसामु आए । उनले मेरो टाउकोमा आफ्नो हात राखे र मेरो निधारमा किस गरे । 
यस्तो छन् पेप । 

मलाई सम्झना छ । त्यस दिनपछि मैले आफैलाई सोधेँ, ‘मेरो जीवन किन यस्तो ?’

पेरिसको ग्रामीण इलाकामा हुर्किएका हरेक बालकले फुटबल खेल्ने सपना देख्छन् । मेरो सपनाले पनि तपाईंलाई आश्चर्यमा पार्नेछैन । पेरिसको ग्रामीण इलाका पेलाइसेउ मेरो घर हो । त्यस क्षेत्रमा सबैले सबैसँग फुटबल ड्रिबल गरेको छु ।  

म कहिल्यै फुटबलविना बाहिर निस्कन्न थिएँ । सानो छँदा म आफ्ना दाजु र उनका साथीहरूलाई पछ्याउँदै बजारसम्म जान्थेँ । यदि उनीहरू खेल्दै थिए भने म पनि खेल्थेँ । सडक पेटी, मैदान मैलेँ कहाँ–कहाँ बल खेलाइनँ र कहिलेकाहीँ म हार्थें, कहिले ढल्थेँ । तर मलाई सबैले माया गर्थे, किनकी म सबैको प्यारो भाइ थिएँ । सानो बच्चा थिएँ । अनि तपाईंलाई थाहा छ, यदिमा म बेन्जामिन मेन्डी थिइनँ । ७, ८ वा ९ वर्षको उमेरसम्म बेन्जामिन मेरो दिमागमै थिएनन् । 

म रिबेरी थिएँ । 

म जिदान थिएँ । 

म हेनरी थिएँ । 

मेरो कल्पनाअनुसार त म स्टेडी फ्रान्समै हुनुपर्ने हो । म भीडमा झन्डाहरू देख्थेँ । समर्थकहरूको चिच्याहट र तालीको गड्गडाहट सुन्थेँ । म राष्ट्रिय टिमको पासा लगाइरहेको देख्थें । 

यस्तो कल्पनाले मलाई समस्यामा पनि पार्न सक्थ्यो । मेरी आमाले यस्तै भन्थिन् । एक दिन सधैँझैँ म सडकमा बल ड्रिब्लिङ गरिरहेको थिएँ । म त्यस्तो ठाउँमा आइपुगेँ जहाँ मानिसहरू हिँड्नका लागि ट्राफिक सिग्नल कुरेर बसिरहेका रहेछन् । मैले त्यसतर्फ ध्यान दिइनँ । बल अलि पर फ्याकेँेको थिए । बल भेट्याउनका लागि सडकमा कुदे र त्यति नै बेला कारले मलाई ठक्कर दियो । 

तपाईंलाई सुन्दा नाटकीय लाग्नसक्छ । तर त्यस्तै भयो । मेरो भाग्य चाहिँ यो थियो कि कार निकै कम गतिमा थियो । कुनै चोट पनि लागेन र अस्पताल पनि जानुपरेन । तर मेरो परिवार भने चिन्तित थियो । 
घरमा बाबुले भने, ‘अब फुटबल बन्द गर्ने र पढाइमा ध्यान दिने बेला भयो ।’

मेरी आमाले यसरी कुरालाई फरक भाषामा भनिन्, ‘तेरो टाउकोमा बादल मडारिएको छ ।’

म असहमत थिएँ, किनकि समाधान फुटबल नै थियो । अझै धेरै खेल्नु थियो । कम खेल्ने होइन । बल कन्ट्रोल र भिजनमा ध्यान दिनुथियो ताकि कार कताबाट आउँदैछ भन्ने चाल होस् । 

भोलिपल्ट, फेरि उस्तैगरी म ड्रिब्लिङ गर्न थालेँ । विश्वकप खेल्न पाउनुसम्मको कुरा हो  । फ्रान्सका लागि खेल्न पाउनु सपना हो । हरेक चरणको यात्रामा मानिसहरूले केही न केही सिकाउँछन् । १३ वर्षको उमरमा म ‘ली हाभ्रे’ क्लमा पुगेँ । मलाई लाग्थ्यो करियमा सबै ठीक हुँदैछ । 

मलाई लाग्थ्यो बाबु–आमा र घर छाड्न खास गाह्रो हुनेवाला छैन । परिपक्वता मसँग थिएन । म सबै कुरालाई सामान्य लिन्थेँ । फुटबल र जीवनमा पनि । 

सन् २००७ मा ली हाभ्रे छिर्दा मैले स्ट्राइकर बन्ने सोचेको थिएँ । गोल गर्न चाहन्थेँ । जब प्रशिक्षकले मलाई मेरो खास पोजिसन डिफेन्स हो भनेर सुझाव दिए । त्यतिबेला म खुसी थिइनँ । म उनलाई के भन्न चाहन्थेँ भने मैले राम्रो गर्ने अग्रपङ्क्तिमा हो । तर सही, उनीहरू थिए । 

मैले के पनि बुझेँ भने क्षमता भएर पनि एक्लै हुनु पर्याप्त होइन । शक्ति र गति मात्रै पनि पर्याप्त होइन । मसँग कहिलेकाहीँ सफलता हासिल गरेका पुराना खेलाडीहरू भन्ने गर्छन्, ‘हामीले रोएर, लडेर सफलता खोसेका हौँ ।’

ली हाभ्रे मेरो यात्राको सुरुआत थियो । यहाँ म हुर्किएँ । मैले फुटबलका विषयमा सोच्न सिकेँ । रणनीति बुझेँ । त्यसपछि मार्सेली गएँ । सन् २०१३ मा मार्सेलीबाट खेल्दा मैले आफ्नो क्षमता प्रयोगमा ल्याउन सकेँ र त्यसका लागि म आफूलाई भाग्यमानी ठान्छु । 

मार्सेलीमा म आबद्ध भएको दोस्रो वर्षमा मार्सेलो बिल्सा प्रशिक्षक थिए । उनलाई प्रयास सबैले इल लोको भनेर बोलाउँथे किनकी उनी निकै व्यावसायिक थिए र धेरै गम्भीर पनि थिए । जब उनले पहिलो पटक खेलाडीहरूलाई सम्बोधन गरेँ । यतिबेला उनी एक पटक पनि हाँसेनन् । तर जब उनले रणनीति सुनाउन थाले । त्यतिबेला पागलजस्तै देखिथे । उनीमा प्यासन थियो । उनी फुटबलका लागि बाँच्छन् । 

उनीबाट मैले धेरै सिकेँ । पहिले म अल्छी थिएँ । भिडियो हेर्दा पनि ध्यानपूर्वक हेर्ने बानी थिएन । भिडियो सेसनमा म निदाउने गर्थें । तर उनी बसिरहेका हुन्थे र भन्थे, ‘तिमीलाई कहिले इच्छा लाग्छ भनेर म कुरर बसेको छु ।’ उनको सहयोगले बिस्तारै मलाई अरूले खेलेको हेर्ने बानी पर्न थाल्यो । रणनीति र भिडियोमा मलाई इच्छा लाग्न थाल्यो । म सधैँ भन्छु, ‘सुतिरहेको मलाई विल्साले नै जगाएका हुन् ।’

मार्सेलीका समर्थकहरूलाई सोध्नुभयो भने पनि उनीहरूले त्यही भन्नेछन्, विल्साले नै क्लबलाई जगाएका हुन् । उनी निकै चर्चित थिए । तर सडकमा लखरलखर हिँड्न उनलाई अफ्ठ्योरो थिएन । कति सामान्य थिए भन्ने यहीँबाट अनुमान गर्न सक्नुहुन्छ । सबैलाई के लाग्थ्यो भने विल्सा मार्सेली परिवारकै हुन् । 

मलाई मार्सेली छाड्नुपर्दा निकै गाह्रो भएको थियो । यस सहर, विल्सा र टोलीका साथीहरूसँगको सम्बन्धका कारण । धेरैले के अपेक्षा गरेका थिए भने म इङ्ल्यान्ड जानेछु । तर मेरो एजेन्टले मोनाकोले नै इच्छा देखाएको बताए । म लिग वानमै प्रतिस्पर्धा गर्ने भएँ । मार्सेलीको प्रतिद्वन्द्वी क्लबमा रहेर । म चाहन्थेँ, लिग वानको उपाधि जितेपछि मात्रै अन्य देशमा लिग खेल्न परोस् । यस्तै भयो । 

मोनाको आएको पहिलो सिजन अर्थात सन् २०१७ मा यस क्लबले लिग उपाधि जित्यो । यही वर्र्ष च्याम्पियन्स लिगको सेमिफाइनल पनि पुग्यो । यो सबैका लागि आश्चर्य थियो । तर हाम्रा लागि थिएन किनकि हाम्रो युवा टोलीले निकै उत्कृष्ट खेलेको थियो । 

यहाँ जर्डिन प्रशिक्षक थिए र उनी विल्साभन्दा फरक थिए । सफलता हासिल गर्नका लागि हरेक प्रशिक्षकका फरक रणनीति हुन्छन् भन्ने मैले उनको प्रशिक्षण दिने कला हेरेर बुझेँ । हामी सबै युवा थियौँ । छोटो समय एकसाथ थियौँ । सिल्भा, डिरार, जर्माइन, लेमार, सिडिबे, बाकायोको, एमबाप्पेलगायतका खेलाडीहरूले मिलेर कडा परिश्रम गर्नेे गरेका थियौँ । आफ्ना गल्ती कसरी सुधार्ने भनेर हामी लामो छलफल गथ्र्यांै । हामीले हाम्रो ह्वाट्स एप ग्रुुपकै नाम ‘च्याम्पियन’ भनेर राखेका थियौँ । 

सिजन सकिएपछि हामी सबै क्लबमै फर्कन्छौँ भन्ने पक्का थिएन । तर टोलीका खेलाडीले क्लब फेर्न लागेको खडमा पत्रपत्रिकामा समाचार छापिनुअघि एक अर्कालाई जानकारी गराउने सहमति गरेका थियौं । एक दिन बर्नार्डोले मलाई म्यानचेस्टर सिटीको ज्याकेट लगाएको फोटो म्यासेन्जरमा पठाए । 

‘तिमीले कुन पसलबाट यस्तो ज्याकेट किनेको ?’ मैले सोधेँ । उनले म्यानचेस्टर सिटीमा आबद्ध हुन लागेको बताए । त्यसपछि टिमोसँग कुरा गरेँ । उनले चेल्सीमा कुराकानी भइरहेको बताए । मैले एमबाप्पेसँग कुरा गरेँ । ‘मलाई थाहा छैन । तर मैले बुझेअनुसार धेरैले क्लब छाड्दैछन्,’ उनले भने । 

छोटो समयमै मैले पनि बर्नार्डोलाई म्यानचेस्टर सिटीको ज्याकेट लगाएको फोटो पठाएँ । मोनाको छाड्नुपर्दा हामी दुःखी थिएनौँ किनकि हामीले जेजस्तो सफलता हासिल गरेका थियौँ । यसैमा सबैले गर्व गरिरहेका थिए । 

म अहिले पनि च्याम्पियन्स ग्रुपमा भएका कुराकानी सम्झेर बेला–बेलामा हाँस्छु । मेरो खेलमा प्रशिक्षकहरूको ठूलो भूमिका छ । मैले विश्वका उत्कृष्ट प्रशिक्षकहरूसँग प्रशिक्षण गर्न पाएको छु । यसलाई भाग्य मान्नुपर्छ । मैले म्यानचेस्ट सिटीमा पेप गार्डीओला र राष्ट्रिय टिममा डिडियर डेसच्याम्पसँग प्रशिक्षण गर्न पाएको छु ।  

गत नोभेम्बरमा घाइते हुँदा म निराश थिएँ । मैले अपेक्षा गार्डिओला यस्तो अवस्थामा मसँग निरन्तर सम्पर्कमा रहन्छन् भनेर अपेक्षा गरेको थिइनँ । तर उनले मलाई बिर्सिएनन् र यो मेरा लागि ठूलो थियो । निरन्तर हौसला दिइरहे । 

गत नोभेम्बरमा रहिम स्ट्रलिङले साउथह्याम्पटक विरुद्ध गोल गर्दा त्यसको खुसीयाली मनाउन मलाई रोक थियो । मैदानमा कुद्न रोक थियो किनकि म पूर्ण ठीक भइसकेको थिइनँ । के यो खतरा थियो । 
हुनसक्छ र नहुन पनि सक्छ तर खेलपछि पेप यही कुरा सम्झिएर मुस्कुराइरहेका थिए । पुराना खेलाडीहरू ठीक थिए ।  उनीहरू भन्थे, हामीले रुँदै र लड्दै सफलता खोसेका हौँ । 

मलाई थाहा छ, जसले विश्वकप खेल्दैछ ऊ एक्लो हुनेछैन । रुसमा पहिलो पटक विश्वकप खेल्न आउँदाको अनुभव म तपार्इंसँग कसरी साटौँ ? शब्दमा वर्णन गर्न गाह्रो हुन्छ । अनुभव मात्रै साट्न सकिन्छ । 

अहिले त्यस्तै भावना उर्लिएको छ जस्तो म १२ वर्षको हुँदा थियो । सन् २००६ को विश्वकपमा फ्रान्स र स्पेनबीचको खेल थियो । मेरो बस्तीका सयौँ मानिस सडकमा निस्किएर फुटबल हेरिरहेका थिए । डेभिड भियाले पेनाल्टीमा गोल गर्दै स्पेनलाई अग्रता दिलाए । त्यसपछि धेरै पीडा भयो । तर हाफटाइम हुनै लाग्दा पेट्रिक भियाराले मिडफिल्डबाट बल उपलब्ध गराए । रिबेरीले कुद्दै ड्रिब्लिङ गरेर खेल बराबरीमा ल्याए । हाम्रो छिमेकमा सबैजना उफ्रँदै र नाच्दै थिए । त्यसपछि भियरा र जिदानले गोल गरे । नतिजा ३–१ भयो । खासमा, रिबेरीको पहिलो गोल नै सबैथोक थियो । 

खेललगत्तै ममा संसारकै शक्तिशाली भावना पलाएकको थियो । म बाहिर निस्कन चाहन्थेँ र तत्काल फुटबल खेल्न चाहन्थेँ । त्योभन्दा महत्वपूर्ण केही थिएन । म र मेरो साथीले सडकमा राति अबेरसमम फुटबल खेल्यौँ । सपना पूरा भएको छ भन्ने लाग्थ्यो । 

फ्रान्सको जर्सी लगाउँदा हरेक पटक ममा यस्तै भावना आउँछ । सपना पूरा भएको छ । सपना पूरा हुँदैछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप