पार्टी मिले पनि नेकपामा किन मिलेको छैन मन ?
काठमाडौँ– देशभर आफ्नै पार्टीका धेरै नेता–कार्यकर्तालाई आश्चर्यमा पार्दै तत्कालीन एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डले जेठ ३ गते पार्टी एकता गरे । कैयौँ नेताको असन्तुष्टिबीच जब ओली र प्रचण्डले दुई पार्टीलाई एकतामा धकेले, त्यसबेला बहस भएको थियो– पार्टी एकता त भयो, अब तत्कालीन एमाले र माओवादीका नेता–कार्यकर्ताको मन चाहिँ कहिले मिल्छ ?
पार्टी एकताका दुई महिना पुग्न थालेको छ । एकता गर्दा तीन महिनाभित्र सबै तहका सङ्गठनको एकता गर्ने नेकपाको कार्यसूची थियो । यसका लागि विभिन्न कार्यदल पनि बनेका छन् । यद्यपि आजसम्म केन्द्रमा बाहेक अन्य कुनै पनि कमिटीको एकता चाहिँ भएको छैन ।
पार्टी सङ्गठनभित्र एकताका लागि भैरहेको यो ढिलाइले साङ्गठनिक एकता त्यति सहज छैन भन्ने त बुझिन्छ नै, यसबाहेक दुवै पार्टीका नेता–कार्यकर्ताको मन अझै मिलेको छैन भन्ने सङ्केत पनि पाइन्छ ।
दुई पार्टीका नेता–कार्यकर्ताको विगतले उनीहरूको मन सजिलै मिल्दैन भन्न सक्ने ठाउँ पनि दिएको छ । कुनै बेला एकले अर्कालाई समाप्त पार्दा मात्र आफ्नो राजनीतिक भविष्य सुरक्षित ठान्ने तत्कालीन एमाले र माओवादीका नेता कायकर्ताबीच राजनीतिक–वैचारिक मात्रै होइन धेरै पटक सङ्गठनात्मक तनाव पनि भएको थियो ।
एमाले र माओवादी कार्यकर्तावीच कहीँ न कहीँ भावनात्मक एकतामा समस्या छ भन्ने उदाहरण असार ९ गते ४ नम्बर प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको अभिव्यक्तिमा झल्कन्थ्यो । नेपाल कम्युनिस्ट पार्टी नेकपा लमजुङको पार्टी कार्यालय उद्घाटन गर्दै नेता गुरुङले पार्टीको साङ्गठनिक एकतासँगै वैचारिक र भावनात्मक एकता हुन नसके एकीकरण उपलब्धिमूलक नहुने बताएका थिए ।
‘हिंसात्मक सङ्घर्षबाट माओवादी आएको छ, शान्तिपूर्ण आन्दोलनबाट एमाले आएको छ । अब पार्टी सङ्गठन एउटै भयो । दुवै पक्षका कम्युनिस्टले विचारलाई पनि एउटै बनाउनुपर्छ । पार्टीको साङ्गठनिक एकतासँगै वैचारिक र भावनात्मक एकता हुन नसके एकीकरण उपलब्धिमूलक हुँदैन ।’ मुख्यमन्त्री गुरुङले दुवैपक्षका नेता–कार्यकर्ताका बीच भनेका थिए ।
हुन त कतिपय नेता एमाले–माओवादीबीचको एकतालाई भावनात्मक एकताकै उपज पनि ठान्छन् । बामगठबन्धन भएपछि धेरैजसो नेताहरूले चुनावमा एकअर्का पार्टीका कार्यकर्तालाई विश्वासमा ल्याउन र भोट तान्न आफूहरूबीच भावनात्मक एकता भैसकेको पनि बताएका थिए । यद्यपि यस्तो अभिव्यक्ति उनीहरूका लागि चुनाव जित्ने एउटा ‘हतियार’ थियो ।
उता नेकपाका महासचिव विष्णु पौडेल एकीकृत पार्टीका तत्कालीन एमाले र माओवादीका नेता–कार्यकर्ताको मन मिलाउने प्रश्न जटिल र कठिन विषय भएको मान्छन् । तर उनी गठबन्धन निर्माणदेखि चुनावसम्म आउँदा भावनात्मकपक्ष मिलेपछि एकताको बाटो खुला भएको ठान्छन् ।
महासचिव पौडेल भन्छन्, ‘निःसन्देह मन मिलाउने प्रश्न जटिल र कठिन विषय नै हो । खासगरी असोज १७ गतेपछि हामी जसरी राष्ट्रिय राजनीतिमा प्रस्तुत भयौँ । साझा चुनाव चिन्ह, साझा घोषणा पत्र र साझा उम्मेदवार लिएर जनताका माझमा जाने हामीले जुन अभ्यास ग¥यौँ, त्यसदेखि यता हाम्राबीचमा मन मिलाउनका लागि त्यति धेरै कठिनाइ उत्पन्न भएन ।’
स्थानीय तहमा भएका निषेधपूर्ण गतिविधि र कतिपय अवस्थामा उत्पन्न हिंसापूर्ण तनावले तत्कालीन एमाले र माओवादीका कार्यकर्ताबीच मन मिलाउन समय पनि लाग्न सक्छ । यद्यपि राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र हुँदैन भन्ने सैद्धान्तिकपक्षलाई आधार मान्ने हो भने सबै तहका सङ्गठनात्मक एकतासँग नेकपा नेता–कार्यकर्ताको मनको पनि एकता हुनेछ । तत्काल चुनाव पनि छैन र लाभको पद लिने धेरै अवसर पनि नभएकाले अहिले ठूलो बहस नहुन पनि सक्छ । यो नेपकाका लागि सकरात्मक पक्ष हुन सक्छ ।
नेकपाका स्थायी समिति सदस्य अग्नि सापकोटा आश्र्चयजनक ढङ्गले भावनात्मक एकताको विकास भएको बताउँछन् । ‘हिजो एकअर्कालाई निषेध नै गर्नेगरी बहसमा उत्रेका दुई ठूला पार्टीमा अहिले नै पूरै तुष समाप्त भइसक्यो भनेर त म भन्दिनँ । तर आश्र्चयजनक ढङ्गले भावनात्मक एकताको विकास भएको छ । चाहे त्यो नेताकार्यकर्तामा, चाहे त्यो हाम्रा समर्थक शुभचिन्तकमा होस् ।’ सापकोटा भन्छन्, ‘बरु सबैले तल्लो तहका कमिटीको एकीकरण किन ढिला भैरहेको छ भनेर प्रश्न पनि उठाइरहेका छन् । सबैतिर उत्साहको वातावरण छ । सबै तहका एकीकरण तीव्र गतिमा जाओस् भन्ने आम चाहना छ । छिटफुट कहीँकतै तित्तता देखिनु त त्यो अस्वभाविक होइन । सबैको मन भावना ग्यारेन्टी मिल्छ । पुराना कुरामा कोही अल्झिँदैन ।’
नेकपाका केन्द्रीय सदस्य आनन्दप्रसाद पोखरेल नेताहरूबीच खुबै मन मिलेको बताउँछन् । उनी भन्छन्, ‘केन्द्रमा सबै नेताहरूको ट्याप्प मन मिलेको छ । अहिले कतै कुनै नेताहरूमा मनमुटाव छैन । सबै नेताबाट एउटै आवाज आएको छ । तल्ला कमिटीमा अहिले मन नमिले पनि एकीकरण भएपछि सबैको मन मिल्छ र एक ढिक्का भएर अघि बढ्छन् ।’
जब–जब तल्ला कमिटीको एकता प्रक्रिया अगाडि बढ्छ, आकाङ्क्षीको सङ्ख्या बढ्दै जान्छ । त्यस्तो बेला भावनात्मक चोट पुग्ने गतिविधि र अभिव्यक्ति आउन सक्ने खतरा पनि उत्तिकै छ । तत्कालीन एमाले बागलुङका जिल्ला सचिवालय सदस्य सञ्जय श्रेष्ठ यसको सङ्केत गर्छन् । श्रेष्ठका अनुसार विगतमा जस्तो मनमुटाव छैन ।
पार्टी एकतापछि जिल्लामा भएका कार्यक्रम संयुक्त हुने गरेका छन् । तर अहिलेसम्म सङ्गठन एकीकरण नहुँदा भने अन्योलता कायमै छ । दुवै तर्फका नेताहरू आ–आफ्नो ठाउँमा नेतृत्वको दाबी गरिरहेका छन् । श्रेष्ठ भन्छन्, ‘कुनै औपचारिक निर्णय भैसकेको छैन । दुवैतर्फका नेताहरू आफ्नो भागमा कुन पद पर्छ भन्ने पर्खाइमा छन् । एकीकरणको प्रक्रियामा गएपछि भने केही मनमुटाव आउन पनि सक्ला ।’
जहाँ उब्जिन्छन् आशङ्का
केही घटनाक्रमहरू यस्ता देखिन्छन्, जसले नेकपाका नेता–कार्यकर्ताको भावनात्मक एकता अझै भएकोे छैन जस्तो देखिन्छ, जसले पूर्णरूपमा आपसी विश्वासको वातवरण बनाउन सकेको छैन । कहिलेकाहीँ त आन्तरिक साधुरा भेटघाटमा ‘ब्याक वाइटिङ’को संस्कृति पनि देखिने गरेको नेकपाका एक सांसद बताउँछन् ।
नेताहरूले नेता कार्यकर्ताहरूमा भावनात्मक एकता बनेको दाबी गरे पनि व्यवहारमा केही फरक देखिने गरेको अनौपचारिक कुराकानीमा नेताहरू नै स्वीकार गर्छन् ।
नेकपाका एक स्थायी समिति सदस्य भन्छन्, ‘पार्टी एकता भए पनि दुवैतर्फका मध्यम तहका नेता कार्यकर्ताहरूको मनोविज्ञान फरक छ । नेताहरू भाषणमा सबै कुरा मिलेको दाबी गर्छन् तर व्यवहारमा विल्कुल फरक छ ।’
ती नेताका अनुसार ‘आफ्नै तहका नेताहरूमा पनि एकअर्कामा विश्वास छैन । नेकपाका केन्द्रीय सदस्यहरूबीच पुरानै पार्टीको कित्ता छुट्टिने गरेको छ । भेटघाट र काममा पनि त्यस्तो देखिने गरेको छ ।’
दुवै पार्टीका मध्यम तहका नेताहरूमा को कसको मातहतमा हो भन्ने बुझाइ आ–आफ्नो छ । तत्कालीन एमालेका एक नेताका अनुसार पार्टी एकताबाट दुवैतर्फका केही नेता सन्तुष्ट छैनन् । तर उनीहरू पार्टी एकताको विरोध गर्न पनि सकेका छैनन् । प्रदेश र जिल्ला तहको एकीकरण सुरु हुदाँ केही विवाद सिर्जना हुने उनको बुझाइ छ । पार्टीएकता भए पनि भावनात्मक एकता हुन समय लाग्ने उनी बताउँछन् ।
तत्कालीन माओवादी केन्द्रका एक नेता भन्छन्, ‘एमालेका केही नेताबाट हेपाह व्यवहार भएको छ । त्यस्तै व्यवहार भैरहे भोलि अफ्ठ्यारो आउन सक्छ ।
उदाहरण १– प्रधानमन्त्री, मन्त्रीका सचिवालय टिम पुरानै पार्टीका
तत्कालीन दुई पार्टीको तर्फबाट प्रधानमन्त्री बनेका केपी शर्मा ओलीको सचिवालय टिममा तत्कालीन एमाले समर्थक नेता कार्यकर्ता मात्रै छन् । केही समयअघि प्रचण्डले प्रधानमन्त्री कार्यालयमा सल्लाहकार राख्दा तत्कालीन माओवादीका केही व्यक्ति राख्न आग्रह गरेका थिए । त्यसो गर्दा भावनात्मक एकतालाई बल पुग्ने प्रचण्डको तर्क थियो । त्यो एकतापूर्वकै कुरा थियो । तर प्रधानमन्त्री ओलीले मानेनन् ।
पार्टी एकता भएको भन्डै दुई महिना पुग्न लाग्दा पनि प्रधानमन्त्री कार्यालयदेखि सबै मन्त्रालयमा विगतकै टिम छन् । अर्थात तत्कालीन एमालेका मन्त्रीले एमालेकै कार्यकर्ताको टिम बनाएका छन्, माओवादीका मन्त्रीले माओवादीकै कार्यकर्ताको टिम । पार्टी एकतापछि पनि उनीहरूले हेरफेर गरेनन् । दुवै पक्षले टिमफेरबदल गर्ने सोचेका छैनन् । यसबाट पनि पार्टी एकता भए पनि दुवै नेता कार्यकर्ता बीचमा भावनात्मक एकता र विश्वास अझै कायम नभएजस्तो देखिन्छ ।
नेकपाले सरकार चलाउँछ कि सरकारले नेकपा ?
१७ असोजमा प्रदेश र सङ्घीय चुनावका लागि बामगठबन्धन बनाएपछि तत्कालीन एमाले र माओवादी कार्यकर्ताबीच निकटता सुरु भएको थियो । त्यसपछि उनीहरू एकअर्काका पार्टीका गतिविधिसँग नजिक भएर ‘भावना’ जोड्ने काम थालेका थिए । चुनावमा बामगठबन्धनलाई सफलता मिलेपछि जेठ ३ मा पार्टी एकता गरेका थिए, जुन घटना कतिपयका लागि कल्पनाभन्दा बाहिरको थियो ।
कार्यकर्ता तहमा मात्र किन ? नेकपाका हालका दुई अध्यक्ष ओली र प्रचण्डबीचको विगत पनि त्यति समुधर सम्बन्धले भरिपूर्ण होइन् । बरु, उनीहरूको विगतको सम्बन्धमा मिठाभन्दा तीता अनुभव धेरै छन् । तर अहिले यी दुई नेताबीचको सम्बन्ध हालसम्मकै सुमधुर रहेको निकट नेताहरू बताउँदै आएका छन् । विगतमा पार्टीभित्र एकल नेतृत्व गर्ने शैली बनाएका ओली र प्रचण्डले संयुक्त नेतृत्व कसरी दिन्छन् ? यो चाहिँ निरन्तर उठिरहने प्रश्न हुन सक्छ ।
उदाहरण २– पार्टी कार्यालयमा आवत जावत पातलो
३० असारमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवम् पूर्व स्वास्थ्य राज्यमन्त्री मोहम्मद मुस्ताक आलमलाई प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तिम श्रद्धाञ्जलि दिए । नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा दिवंगत नेता आलमको पार्थिव शरीरमा उहाँहरूले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गरेका थिए । श्रद्धाञ्जलिका लागि नेता आलमको पार्थिव शरीरलाई शनिबार बिहान पार्टी केन्द्रीय कार्यालयमा राखिएको थियो । नेता आलमलाई अन्तिम श्रद्धाञ्जलि दिन नेकपाका नेता तथा कार्यकर्ता पार्टी केन्द्रीय कार्यालय धुम्बाराही पुगेका थिए ।
पार्टी एकतापछि यति धेरै नेता–कार्यकर्ता पार्टी कार्यालय पुगेको पहिलो पटक हो । तर अरू समयमा नेकपाको मुख्यालय रहने भनिएको तत्कालीन एमालेको धुम्बाराहीमा रहेको पार्टी कार्यालय सुनसान जस्तै हुन्छ । त्यस्तै तत्कालीन मओवादीको पार्टी कार्यालय भएको पेरिसडाँडा पनि सुनसान नै छ । तत्कालीन पार्टीका दुवै कार्यालयलाई नेकपाको कार्यालय बनाइएको छ । विगतमा आ–आफ्ना पार्टीका कार्यालयमा जाने गरेका नेताकार्यकर्ता अहिले पनि त्यसैलाई निरन्तरता दिएका छन् ।
विपक्षीका ‘पपुलिस्ट’ मुद्दा : काङ्ग्रेसलाई फाइदा होला त ?
दुवैतर्फका सचिवालयका अनुसार तत्कालीन एमालेको कार्यालयमा एमालेका मात्रै नेता कार्यकर्ता जाने गरेका छन् । त्यस्तै माओवादीको कार्यालयमा माओवादीका नेता कार्यकर्ता मात्रै जाने गरेका छन् । तर जसका केही वैठकहरू भने दुवै कार्यालयमा भए । अहिलेसम्म नेकपाले पार्टी वैठक दुवै कार्यालयमा गरेको छैन ।
एकतापछि पार्टीका ठूला कार्यक्रम भएका छैनन् । पेरिसडाँडा पार्टी कार्यालयका मुख्य सचिव प्रल्लाद बुढाथोकीका अनुसार अध्यक्ष ओली एक पटक पेरिसडाँडा पुगेका छन् । अन्य नेताहरूमा माधवकुमार नेपाल र विष्णु पौडेल भने दुई तीन पटक कार्यालय पुगेका छन् ।
दुवैतर्फका कार्यालयमा अध्यक्ष महासचिवका कार्यकक्ष छन् । मुख्य नेताहरू नै कार्यालय नपुग्दा अन्य कार्यकर्ता पनि नआउने गरेको बुढाथोकी बताउँछन् । धुम्बाराही पार्टी कार्यालयमा पनि तत्कालीन माओवादीका नेताहरू कमै जाने गरेका छन् ।
नेकपा राजनीतिक पार्टी कि ‘कम्पनी’ ?
अहिले मुख्य कामहरू धुम्बाराहीबाट हुने गरेका छन् । नेकपाका चिठीपत्र धुम्बाराही पार्टी कार्यालयबाट तयार भए पनि तत्कालीन माओवादी सर्कलका नेताहरू लागि वितरण गर्ने जिम्मा पेरिसडाँडाको भागमा पर्छ । एमाले सर्कलका नेताहरूको जिम्मा धुम्बाराही आफैँ गर्ने गर्छ ।
उदाहरण ३– संसदीय दलको कार्यालयमा नाम नेकपा तर काम पुरानै पार्टीका
तत्कालीन पार्टी हँुदा जहाँ–जहाँ संददीय दलको कार्यालय थिए, अहिले पनि त्यही छन् । ती कार्यालयमा नाम मात्र परिवतर्नन भएको छ । कर्मचारी पुरानै छन् । काम पनि पहिलाकै जस्तै छ । तत्कालीन माओवादीको संसदीय दलको कार्यलयकामा रहेका शाखा अधिकृत सिंहराज रुम्बाका अनुुसार दुवै पाटीका सांसदहरू कार्यालयमा आउने गरेका छन् । तर कार्यालयमा रहने अन्य कर्मचारीका अनुसार माओवादीका सांसदहरू मात्र आउने गरेका छन् । कहिलेकाहीँ संयुक्त बैठक भने त्यहाँ हुने गरेको छ । तत्कालीन एमालेको संसदीय दलको कार्यालयमा पनि एमालेका सांसदहरू मात्र पुग्ने गरेका छन् । सासंदहरूलाई भेट्न आउने कायकर्ता तत्कालीन आ–आफ्ना कार्यालयमा आउने गरेका छन् ।
यी पाँच घटना जसले सरकारको छवि धमिल्यायो
के भन्छन् नेता ?
राष्ट्रिय सभागृहमा पार्टी एकताको घोषणा चलिरहँदाभित्र र बाहिर कार्यकर्ताको उपस्थिति बाक्लो थियो । उपस्थित कार्यकर्ता उत्साहित थिए । तर विगतका दुई फरक स्कुलिङबाट आएका कार्यकर्ताबीच भावनात्मक एकताका लागि केही समय लाग्न सक्छ । तर, नेताहरू भावनात्मक एकता भैसकेको दाबी गर्छन् । तर नेताका भाषण र व्यवहार भने अलि फरक देखिन्छन् ।
नेकपाका केन्द्रीय सदस्य आनन्दप्रसाद पोखरेल भन्छन्– सबैको मन ट्याप्प मिलेको छ
हाम्रो पार्टी मिल्यो । त्यसपछि केन्द्रमा ३ तहका कमिटीहरू बनेका छन् । त्यहाँ कतै विवाद भएन । तलका कमिटीको एकीकरणमा गएका छैनाँै । त्यो भएर मन नमिलेको जस्तो देखिएको हो । जब सबै तहका कमिटी एकीकरण हुन्छन्, अनि सबैका मन मिल्छन् । केन्द्रमा सबै नेताहरूको ट्याप्प मन मिलेको छ । तपाईंहरू देखिरहनुभएको छ । अहिले कतै कुनै नेताहरूमा मनमुटाव छैन । सबै नेताबाट एउटै आवाज आएको छ । कुनै नेताको फरक छैन । सबै नेता एक साथ हिँड्नु भएको छ । सायदै यो कम्युनिस्ट आन्दोलनको ठूलो उपलब्धि हो । तल्ला कमिटीमा अहिले मन नमिले पनि एकीकरण भएपछि सबैको मन मिल्छ र एक ढिक्का भएर अघि बढ्छन् ।
नेकपाका स्थायी कमिटी सदस्य, अग्निप्रसाद सापकोटा भन्छन्– आश्र्चयजनक ढङ्गले भावनात्मक एकताको विकास भएको छ
यो जटिल पनि हो । संवेदनशील पनि हो । यो महत्वपूर्ण कुरा पनि हो । राजनीतिक ढङ्गले सोच्दा यो कुरा सहज ढङ्गले भावनात्मक एकतामा परिणत भइहाल्छ र भएको पनि छ । हामीले केही महिनाअघि बामगठबन्धन बनायौँ । एकता संयोजन समिति बनाएर चुनावमा गयौँ । लगत्तै हाम्रो भावनात्मक एकता सृदृढ भयो । कतिपयले सकारात्मक ढङ्गले पनि के आशङ्का गरेका थिए भने यिनीहरू एकअर्काको मन मिलेर अघि जालान् ? एकअर्कालाई कसरी भोट हाल्लान् भनेर पनि शङ्का गरेका थिए ।
भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठका यस्ता छन् ५ ‘विवाद’!
हाम्रा विरोधीहरूलाई यिनीहरू मिल्दैनन् भन्ने नै थियो । तर यति राम्रो भावनात्मक एकता भयो । वास्तवमा भन्ने हो भने नेपाली जनताले यो देशमा राजनीतिक स्थायित्व, समृद्धि, विकास चाहेका रहेछन् भन्ने पुष्टि भयो । जनताले जुन जनादेश दिए, त्यो स्थायी सरकारका लागि त थियो नै अझै पार्टी एकता गरून् भनेर दिएको जनादेश हो । दुवैतिरका कार्यकर्ता चुनावमा सबै एकैसाथ खटे । जसले गर्दा भावनात्मक एकताको आधारभूत जग खडा भयो ।
हिजो एकअर्कालाई निषेध नै गर्नेगरी बहसमा उत्रेका दुई ठूला पार्टीमा अहिले नै पूरै तुष समाप्त भइसक्यो भनेर त म भन्दिनँ । तर आश्र्चयजनक ढङ्गले भावनात्मक एकताको विकास भएको छ । चाहे त्यो नेताकार्यकर्तामा, चाहे त्यो हाम्रा समर्थक शुभचिन्तकमा होस् । बरु सबैले तल्लो तहका कमिटीको एकीकरण किन ढिला भैरहेको छ भनेर प्रश्न पनि उठाइरहेका छन् । सबैतिर उत्साहको वातावरण छ । सबै तहका एकीकरण तीव्र गतिमा जाओस् भन्ने आम चाहना छ । छिटफुट कहीँकतै तित्तता देखिनु त त्यो अस्वभाविक होइन । सबैको मन भावना ग्यारेन्टी मिल्छ । पुराना कुरामा कोही अल्झिँदैन ।
नेकपाका महासचिव विष्णु पौडेल भन्छन्– मन मिलाउने प्रश्न जटिल र कठिन विषय नै हो
निःसन्देह मन मिलाउने प्रश्न जटिल र कठिन विषय नै हो । तर कस्तो हुँदो रहेछभन्दा मन फाट्दै गएको बेला आशङ्का अविश्वास गर्न नपर्ने विषयहरूमा पनि आशङ्का र अविश्वास सिर्जना हुन्छ । जतिबेला मन मिल्दै जान्छ त्यतिबेला चाहिँ अविश्वासका आधारहरू पनि कमजोर हुँदै जाँदा रहेछन् । खासगरी असोज १७ गतेपछि हामी जसरी राष्ट्रिय राजनीतिमा प्रस्तुत भयौँ । साझा चुनाव चिन्ह, साझा घोषणापत्र र साझा उम्मेदवार लिएर जनताका माझमा जाने हामीले जुन अभ्यास ग¥यौं, त्यसदेखि यता हाम्राबीचमा मन मिलाउनका लागि त्यति धेरै कठिनाइ उत्पन्न भएन ।