बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कथा : जडवत औंलाहरू

शनिबार, ३० असार २०७५, ११ : ०८
शनिबार, ३० असार २०७५

गोली हान्नका लागि बन्दुक ताक्दै गर्दा ‘कुनै पनि बहानामा हिंसा गर्नु पाप हो’ भन्ने आवाजले उसको ध्यानमात्र होइन, हात पनि आफूतर्फ खिच्यो । उफ ! लामो सास फेरेर फेरि उसले आँखा चिम्म गरी । आँखा चिम्लिनासाथ अगाडि उभिएर स्टिभले भन्यो, ‘सिल्भिया, तिमी मलाई मार्न पनि सक्छ्यौ ?’ जवाफमा उसले तिमीले त मेरो हत्या दुई वर्षअघि नै गरिसकेका हौ, मेरो मनमा आउने सबै भावहरू तिमी र त्यो महिलाले खाइदिइसक्यौ, म बाँच्न चाहन्छु स्टिभ भनी र त्यहाँबाट हिँडी ।

माथि डाँडामा भएको सुन्दर बगैंचामा मन बिसाउन जाँदै गर्दा भेटिएका एक जोडीले फेरि उसलाई विगतमा पुर्याए । युरोपको सानो मुलुक स्लोभेनियाको त्यो बगैंचामा स्टिभले सिल्भिया....भनेर चिच्याउँदा कसरी ऊ लपक्कै टाँसिएकी थिई भन्ने सम्झिएर मन विचलित भयो । कुनै बेला स्टिभले आफूमाथि त्यति ठूलो घात गर्ला भनेर सोचेकी पनि थिइनँ । तर नसोचेको त्यही कुरा जब उसको जीवनमा भयो, त्यसपछि जीवन डिस्टर्ब डिस्टर्ब भएर ऊ डिप्रेसनमा गई । 

भाइ क्रिस्टोफर क्रोएसियामा थिए । दिदी बिरामी भएको खबरले हेर्न आए । आमासँग सम्बन्धविच्छेद गरेको बाबुको उनीहरूलाई सम्झना छैन । आफू सानै छँदा आमाको मृत्यु भएपछि त्यही दिदीले उसलाई हुर्काएकी थिई । दिदीको अस्वाभाविक व्यवहारपछि उसले मानसिक उपचार गरायो, औषधि खाएपछि केही फरक भएकी उसले अकस्मात् नेपाल आउने निर्णय गरी । नेपाल जहाँ गोरखा र काठमाडांै गरेर उसले जिन्दगीका पाँच वर्ष बिताएकी थिई । गोरखामा बस्दा उसका मिल्ने साथीहरूले विपश्यनाको बारेमा चर्चा गर्दा जान पाए हुन्थ्योजस्तो लागेको हो । तर, आउने जाने दुई दिन र बस्ने दस दिन गरी १२ दिन कसरी जुटाउने भनेर जान सकिनँ । अकस्मात् अहिले उसलाई विपश्यना जाउँजस्तो लाग्यो । त्यसो त, विपश्यना केन्द्रहरू अरू मुलुकमा नभएका होइनन् तर नेपाल उसको मन पर्ने ठाउँ भएकाले अन्त जान सकिन । 
अनलाइन फर्म भरेर समय मिलाउँदा धेरै पछि मन रोमाञ्चकझैं भयो । सम्झी, गोरखाको गाउँमा भेटिएका एक ज्योतिषीले स्टिभको हात हेर्दै कसरी केटीहरूबाट जोगिनुपर्छ है भनेका थिए । त्यतिबेला उसले त्यो कुरालाई गम्भीरतापूर्वक लिइन । लिनुपर्ने अवस्था पनि थिएन । स्टिभ र उसको सम्बन्ध कसैले छुटाउने प्रकारको थियो जस्तो उसलाई लाग्दैन । एकार्काप्रतिको आदरसहितको आफन्त र साथीहरूनै छक्क पर्नेखालको गज्जबको सम्बन्ध थियो । नेपालमा बिताएका क्षणहरू सम्झिदै फर्म भर्दै गर्दा उसले ‘केही परे आफू निकटको व्यक्ति’ भन्ने लेखिएको ठाउँमा अनायासै स्टिभको नाम र फोन नम्बर लेखी, जुन कुरा उसलाई अनलाइन फर्म पोस्ट गरिसकेपछि मात्र थाहा भयो । कहिलेकाहीं उसलाई स्टिफले आफूलाई धोखा दिएर अर्कै केटी साथीसँग बसेकोमा खुसी पनि लाग्छ, कम्तीमा आफूलाई चिन्ने मौका पाई । नत्र त विगत धेरै वर्षदेखि ऊ हावामा उडिरहेकी थिई । 

दुइ वर्षअघि स्लोभेनियाको गाउँमा गएको ठूलो हुरीपछि जुन प्राकृतिक विपत् आइलाग्यो, त्यसले धेरैलाई बेघरबार बनायो । त्यसबीचमा अर्को गाउँमा रहेको स्टिभसँग उसको फोनमा कुराकानीमात्र भयो । पानीसहित आएको विनाशकारी हुरीले घरहरू भूकम्पले झैं जरैबाट उप्काएर लडाएपछि मानिस पालमा बसेका थिए । यातायात अवरुद्ध भएको थियो । आपतविपतका बेला उसले सम्झिने स्टिभबाहेक खासै कोही थिएन । बेलाबेलामा फोन गर्थी, उसले पनि गथ्र्यो । केही समयपछि फोनमा संवाद कम हुँदै गयो । उसको घर भत्किएको थियो । सोची, घर मर्मतमा लाग्यो होला । पालमा बसेर चिया खाँदादेखि राति सुत्दासम्म ऊ स्टिभसँग मनमा कुरा गरिरहेकी हुन्थी । नजिकिएको दस वर्ष भइसक्दा पनि सँगै बस्न नपाएकाले त्यसबीचमा ऊ अबचाहिँ सँगै बस्नुपर्छ भन्ने निष्कर्षमा पुगी । स्टिभकी एउटी छोरी थिई, श्रीमतीसँग डिभोर्स भएको केही महिनामै उनीहरूको भेट भएको थियो । छोरीसँग पनि उसको सम्बन्ध राम्रै थियो । दिन बित्दै जाँदा स्टिभको फोन कम आउन थाल्यो । विपत्तिबाट समान्य अवस्थामा पुगेपछिको भेट उसलाई केही फरकझैं लाग्यो । त्यसबीचमा उसले आफू बिरामी भएको र विनाशकारी हुरीका कारण मनस्थिति अझै ठीक नभएको बतायो । सिल्भिया उसको मनस्थिति कसरी ठीक गर्ने होला भन्ने सोच्दै आफ्नो काममा लागी । ऊ वन्यजन्तु संरक्षणमा काम गर्थी । कन्सल्टेन्सी गर्ने भएकाले नियमित काम थिएन । कहिले महिनौंसम्म फिल्डमा बस्नु पथ्र्यो, कहिले राजधानी लुब्जियानामा ।

ऊ काम गर्ने संस्थाको मुख्य कार्यालय लुब्जियानामा थियो । त्यहाँ बस्दा प्रायः ऊ स्टिभसँगै हुन्थी । समयक्रममा उसले थाहा पाई हुरीपछि पालको बसाइमा उसको एउटी केटीसँग सम्बन्ध गाँसिएछ र उनीहरू केही महिना सँगै बसेछन् । उसका साथीहरूको सम्बन्ध टुटेपछि पूरै टुट्थ्यो, अल्झिएर बसेको थाहा छैन तर उसले सम्बन्ध टुटेको घोषणा नगरी अर्की महिलासँग बसेको घटनाले सिल्भिया मानसिक रोगीझैं भई । सो महिलाको बारेमा सोध्दा उसले हो या होइन केही भनेन । प्रायः जवाफमा उसले त्यस्तो होइन, परिस्थिति त्यस्तो बनेकोमात्रै हो भन्ने गथ्र्यो । सो महिलालाई भेट्टाइदेऊ न त भनेर उसले धेरैपटक भनी तर उसले भेटाएन । त्यसबीचमा सिल्भियाले आफूलाई यति असुरक्षित महसुस गर्न थालेकी थिई कि एक दिन उसको अपार्टमेन्टमा गएर ‘स्टिभ तिमीलाई नेपालका ज्योतिषीले हात हेरेर अरू केटीसँग टाढा रहनुपर्छ भनेका थिए, तिमीलाई सम्झना छ ?’ भनी । यसो भन्दा उसका साथीहरू पनि थिए । स्टिभले ठूलो घृणायुक्त स्वर र लवजमा ‘हो, नेपालका ज्योतिषीले तिमीजस्ता केटीसँग टाढा हौ भनेको हो मलाई’ भन्यो । त्यसै दिन देखि उसको मानसिक विक्षिप्तता बढेको थियो । 

उसले धेरै कोसिस गरी तर स्टिभलाई बिर्सन सकिन । जति बिर्सन खोज्यो ऊ त्यति आँखावरिपरि आउँथ्यो । दस वर्ष प्रेममा हुँदाका कुरा भन्दा धोखापछिका कुराहरूले मनमा बढी ठाउँ लिन्थे । विपद्का बेला आफूले त्यत्रो चिन्ता गरें, आखिर ऊ अर्कै केटीसँगको घनघोर प्रेममा रहेछ भन्ने लाग्यो । फोनमा उसले बोलेका नाटकीय शब्दहरूले उसलाई थप दुःखी बनायो । लुब्जियानाको नदीकिनारमा बसेर एकपछि अर्को चुरोट सल्काएर बेहोशझैं हुन्थी ऊ । साँझको हावाले चिसो बनाएपछि बासस्थानतिर लाग्थी । जिन्दगी अति नै खस्किँदै गएपछि उसले काठमाडौं गएर शिवपुरीस्थित विपश्यना जाने निधो गरेकी थिई । 
काठमाडौं उसका लागि नयाँ थिएन । चार वर्षपछि नेपालको राजधानीमा पाइला टेक्दा उसलाई आफू नजिकको ठाउँ आएझैं लाग्यो । भूकम्पपछि काठमाडौं ध्वस्त भएको सुनेकी थिई तर हेर्दा खासै त्यस्तो लागेन । पुगेकै साँझ ठमेलमा घुम्दै गर्दा दौरासुरुवाल टोपी लगाएर पारिपट्टि उभिएको एउटा मान्छे देखेको, चिनेकोझैं लाग्यो । मनी एक्सचेन्ज नजिकै ऊ हात हल्लाइहल्लाइ कसैसँग कुरा गर्दै थियो । ऊ नजिकै गई, आँखा जुध्नासाथ उसैले बोलायो, सिल्भा नानी...तपैं यतै हो ? यत्तिका वर्षपछि भेट्दा पनि उसले नामै लिएर बोलाउँदा आँखा आँसुले भरिए । भनी, बाजे नमस्ते, कस्तो हुनुहुन्छ ? उनी उही गोरखाका ज्योतिषी थिए । उनले भूकम्पपछि आफ्नो घर भत्किएकाले अहिले छोराबुहारीसँग काठमाडौंको बानेश्वरमा बसिरहेको बताए । उसले फोन नम्बर लिई र विपश्यनाबाट फर्किएर आफूले भेट्ने बताएपछि उनीहरू छुट्टिए । त्यस रात आफ्नो गोरखा बसाइलाई सम्झँदै ऊ निदाई । 

शिवपुरी पुग्दा दिनको चार बजेको थियो । वरिपरिको वातावरण सन्नाटाले भरिएको थियो । साथीहरू र आफन्तसँग खुलेर हाँस्नुपर्ने, नयाँ वर्ष, क्रिसमसलगायतका चाडबाड र अवसरलाई रमाइलो गरेर मनाउनुपर्ने, सधैं टिपटप परेर हिँड्नुपर्ने उसको हुलिया उसका पुराना साथीहरूले चिन्नेखालको थिएन । उदास उदास ऊ ओइलिएको फूलझैं भएकी थिई । विपश्यनाका सबै नियमहरू थाहा पाएर त्यहाँ पुगेकी उसलाई टेलिफोन र इन्टरनेटबाट टाढा रहन पाउँदा आनन्दझैं लाग्यो । हिँड्ने बेलामा स्टिभसँग कुरा भएको थियो, विपश्यना जान लागेको बताउँदा उसले त्यहाँ त इन्टरनेट पनि हँुदैन भनेको थियो । ‘कुरा नै किन गर्नु प¥यो र ?’ आफूले आफंैसँग प्रश्न गरी । साँझको छोटो मेडिटेसनले आनन्द दियो । तर, भोलिपल्टदेखि चार दिनसम्म ऊ यति डिस्टर्ब भई कि उसलाई स्टिभ काण्डबाट जिन्दगीमा मुक्ति पाउँछु भन्ने कुरामा पूरै हरेस खाएझैं भयो । आँखा चिम्लियो कि स्टिभ र त्यो केटी अगाडि आउँथे । कहिले सँगै, कहिले छुट्टाछुट्टै । सहयोगीका रूपमा चिनाइएकी त्यो केटीसँग उसलाई कुनै गुनासो थिएन । आफ्नै मान्छेले धोखा दिएपछि अरूको के दोष ? जस्तो लाग्थ्यो । तर, आँखाहरूले केटीको पनि पिछा छोडेनन् । आँखा चिम्लिएपछि दस वर्षसम्मका अनेक उतारचढावहरू सचित्र आँखावरिपरि आए । ध्यानका क्रममा नाकले सास फेरिरहेको कुरालाई महसुस गर्नका लागि निर्देशन दिइएको थियो । तर, सासबाहेक ध्यान अन्य धेरै कुरामा गयो, विशेषगरी स्टिभले दिएको धोखामै अल्झियो । 

घृणा गर्ने भनेको माया गरेका मानिसलाई नै रहेछ । उसको माया चित्त दुखाई हुँदै घृणामा परिणत भएको थियो । बिहान साढे चार बजेदेखि बेलुका ९ बजेसम्म ती दुईजनाले यति दुःख दिएकि उसलाई बेकार यो ठाउँमा आएछु जस्तो लाग्यो । जिन्दगी सहज बाँच्ने आशामा त्यति टाढादेखि आएकी उसले जीवन झन्झन् जटिल हुँदै गएको पाई । विपत्का नाममा सम्बन्ध जोड्न आइपुगेकी त्यो महिलालाई उसले जम्मा एकपटक देखेकी थिई । जति बेला पनि आँखाअगाडि आएर ध्यानलाई डिस्टर्ब गरेपछि उसले त्यसलाई हटाउन धेरै कोसिस गरी । नसकेपछि उसको मृत्युको कल्पना गरी र दाहसंस्कारको प्रक्रिया अगाडि बढेपछि केही सहजझैं महसुस भयो । कसैको मृत्युमा जीवन त्यति हलुका हुन्छ भन्ने यसअघि उसले कहिल्यै सोचेकी थिइन । उसलाई पन्छाएपछि केटा आफैं हटेर जान्छ भन्ने ठानेकी थिई तर त्यस्तो भएन । केटाको मृत्युको परिकल्पना उसका लागि टाढाको कुरा थियो । कुनै बेला आफूले त्यति धेरै माया गरेको मानिसको मृत्युको परिकल्पना कसरी गर्नु ? सम्झिई, आफूमाथि धोखाको महसुस भएपछि स्टिभसँग सोही विषयमा कुरा गर्दै जाँदा हातका औंलाहरू कसरी थरथरी काँपेका थिए । रातभरि नसुत्ने, दिनभरि विक्षिप्त रूपमा कहिले कता, कहिले कता पुग्ने उसको मानिसिक हालत दिनप्रतिदिन खस्किँदै गएको थियो । त्यस्तो बेलामा उसले भनेकी थिई, ‘स्टिभ म तिमीलाई कति माया गर्छु भनेर म भन्दिनँ तर छोड्न नसक्ने रहेछु । तिमीले भनेंझैं ऊ तिम्री सहयोगीमात्रै हो भने तिमी उसलाई हटाएर अरू कोही मान्छे राख्न सक्छौ ? यसो भन्दै गर्दा उसको सास बढेको थियो र हातका औंलाहरू थरथरी काँपेका थिए । त्यस्तो शारीरिक र मानसिक अवस्था देख्दा पनि उसले कुनै जवाफ नदिई चुपचाप बसको सम्झिएर त्यतिबेला भन्दा अहिले उसलाई बढी दुःख लाग्यो । र, त्यो पीडा घृणामा बदलियो । उसले आफूलाई दह्रो बनाई, उसको मृत्युको कल्पना गर्ने निर्णय गरी र गोली चलाई । जानी–जानी निशाना चुकाएर अलि पर रहेको रूखमा गोली गाडियो । कल्पनामै उसले भन्यो, सिल्भिया तिमी मलाई मार्न सक्छ्यौ ? उसले सक्दिन भनिन् तर सक्ने अवस्थामा ऊ थिइन । दिउँसोको खाना खाने घण्टी लाग्दा ऊ ठूलो समस्यामा थिई, अब म के गरौं ?

दिन बित्दै जाँदा बिस्तारै–बिस्तारै उसले आफूबाट उसलाई हटाउँदै लगी । आफूबाहेकको ऊ बाँचिरहोस्जस्तो लाग्यो । आममान्छेका रूपमा उसको छवि आँखाअगाडि आएपछि बल्ल उसले ध्यानमा ध्यान लाउन सकी । त्यसपछिको ध्यानमग्न अवस्था बडो आनन्ददायी भयो । घरीघरी आँखा खोलेर अरूलाई हेर्थी, सबैजना आँखा चिम्लिएर ध्यानमग्न देखिन्थे । यी सबै ध्यानमै होलान् त ? उसलाई शंका लाग्यो । सोची, यीमध्ये कतिको मनमा डरलाग्दो आँधीबेहरी चलिरहेको होला... आखिर यी सबै मान्छे नै त हुन् । सपना, कल्पना कतै पनि ऊ आउन छोडेपछि संसार पीडारहित लाग्न थाल्यो । बिस्तारै–बिस्तारै अब म एक्लै बाँच्न सक्छु भन्ने विश्वास पलाउन थाल्यो । जिन्दगीमा आत्मविश्वास धेरै ठूलो कुरा रहेछ, स्टिभ र त्यो महिलाले ढुंगाजस्तो उसको आत्मविश्वासलाई पूरै गिराइदिएका थिए । आफूमा आएको परिवर्तनसँगै बिहान, दिउँसो र साँझ विगतका भन्दा धेरै फरक लाग्न थाल्यो । दुई वर्षपछि उसलाई फूल र जून देखेर रमाइलो लाग्यो । अब के गर्ने ? आफ्नो बारेमा सोच्न थाली । देश फर्कनुअघि एकपटक गोरखा जान पाए हुन्थ्योजस्तो लाग्यो । तर, धेरै भएको थियो राम्ररी काम नगरेको पैसा पनि खासै थिएन । भइहाल्यो भन्दै अर्को पल्ट जाने योजना बनाई । साँझको प्रवचन र ध्यानले उसलाई यसरी खिच्न थाल्यो कि संसार बिर्सिएझैं भयो । स्टिभलाई प्रेमीबाट आममानिसमा परिणत गरेपछि उसलाई केटीहरू कति स–साना कुरामा अल्झिएर जिन्दगी बर्बाद पार्छन्जस्तो लाग्यो । अरूको हातमा आफ्नो खुसी निर्भर रहुन्जेल मानिस भावनाको दास बन्छ भन्ने कुरा कसरी बताउने होला भन्ने कुराले निकै बेरसम्म मनमा ठाउँ लिइरह्यो । 

विपश्यना सकेपछि ठमेलको होटलमा फर्किएर भाइबर अन गर्दा मोबाइल नै पड्केलाझैं गरी भरररर म्यासेजको चाङ लाग्यो । मन झसंग भयो, भाइलाई पो केही भयो कि ? यति धेरै म्यासेज गर्ने अब मलाई को छ र ? एकछिन म्यासेज हेर्न डर लाग्यो । दिनको पाँचवटाका दरले लेखिएका पचासवटा म्यासेज सबै स्टिभका थिए । धेरैजसो म्यासेजमा ‘चाँडै आऊ’ भन्ने लेखिएको थियो । एउटा लामो म्यासेज थियो, ‘तिमीविना म एक्लो भएको छु । मलाई माफ गर सिल्भिया, तिमीविना स्लोभेनिया खाली–खालीझैं भएको छ । तिमी आएपछि विवाह गर्नका लागि मैले आवश्यक सामान सबै किनिसकें ।’ ल हेर सामानहरू भनेर औंठी र सेतो गाउनको फोटो पनि थियो । छक्क परेर म्यासेजहरू हेर्दै गर्दा फोन आयो, तिमी कुनै प्रकारको सम्पर्कमा नहुँदा मैले तिमीलाई भेट्न, देख्न, बोल्न नपाए पनि महसुसमात्र गर्न सकें र धेरै गरें सिल्भिया, मिल्छ भने आजै टिकट लिएर आऊ । जवाफमा ऊ निःशब्द भई । दस दिनसम्म नबोली बस्दा तिमीलाई कस्तो भयो होला, म अनुमान गर्न सक्छु भन्दै उसले आफूले भोगको एक्लोपनको व्याख्या ग-यो । 

फोनमा व्यक्त उसका शब्द र म्यासेजहरू पढिसकेपछि थकित–थकितझैं बनेकी उसले साँझको मधुरो प्रकाशमा जूनलाई हेर्दै भनी, ‘स्टिभ, जतिबेला मैले तिमीले देखाएजस्ता कपडा र औंठी लाउने परिकल्पना गरें, तिमीले हाम्रो सम्बन्धलाई नै हो कि होइनझैं दोधारको अवस्थामा पु¥यायौ । विश्वास र भावनाको मृत्युपछि तिम्रो औंठी छिर्नै नसक्नेगरी मेरा औंलाहरू जडवत भएका छन् । खुसी हौ, जसलाई जतिबेला पनि बाँड्न सक्ने तिम्रो मन र बाटाहरू अब स्वतन्त्र छन् । 

[email protected]

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप