बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

कथाः त्रिशूलीसँगै बगेका सपना

शनिबार, ३० असार २०७५, ०९ : ४३
शनिबार, ३० असार २०७५

-दीपक वाग्ले  

कहिलेकाहीँ लाग्छ, यो जीवन पनि यौटा सपना भइदिएको भए वा सपनाहरू सपना नबन्दै टुटेर गएको भए । तर अफसोच जिन्दगी यौटा विपनामा परिणत भएर कहिल्यै निको नहुने गहिरो घाउ बनेर बल्झिरह्यो । जब बिहानीको किरणहरूसँगै ताराहरू जस्तै सपनाहरू पनि टुटेर गए तबदेखि जिन्दगी नै बोझ लाग्न थाल्यो । सही के हो थाहा थिएन । केवल यति थाहा थियो, अब कसैको यादहरूको भ्रममा बाँच्नु, यादहरूको पर्खाइमा बाच्नु गलत हो । मनमा चोटहरूको पहाड बोकेर एकपल पनि जिउनु यति कठिन भइदिन्छ तर मानिसहरू सयाँै जुनी जिउने भ्रम किन राख्छन् । यो भन्ने र सुन्नेहरूको कलोकल्पित भावना मात्र होला सायद । भोग्नेहरूको यथार्थ बाहिरी दुनियाँको सोचभन्दा बिलकुल फरक हुँदो रहेछ । दुनियाँ बाहिरी चोट मात्र देख्छन्, अनि त्यही चोटहरूप्रति सहानुभ‘ति राख्नेहरूलाई सायद कहिल्यै थाहा नहुन सक्छ । हृदयभित्रका अदृश्य चोटहरूसँगै बाँच्न खोज्ने ती म‘र्छित आत्माहरू कुनै दिन रुँदारुँदै आँशुहरूसँगै हराइदिन्छन् । तिम्रो गुमनाम सहरको अन्जान गल्लीहरू माझ ।

अनायासै प‘र्णिमाको रातले पनि मलाई औँशीको अन्धकारतर्फ धकेल्न खोजिरहेको थियो । जिन्दगी जस्तै राजमार्ग पनि प‘रै सुनसान थियो । त्यो एक्लो सुनसान रातमा मलाई डाको छोडेर रुने मन भयो । सायद अबदेखि आँशुहरू पनि झरेर जाने छैनन् । त्रिश‘लीको बहावभित्र मेरा आँशुहरू मेरो प्राणसँगै बगेर जानेछ । मलाई बर्खायामको त्रिश‘ली र उसैसँग समाहित भएको त्यो डरलाग्दो भेलले बारम्बार आकर्षित गरिरहेको भान हुन्थ्यो । मानाँै मलाई उसले प्रतीक्षा गरिरहेको होस् ऊसँगै समाहित हुन् । तर म उनको जिन्दगीमा कहिल्यै पनि समाहित हुन सकिनँ । पर किनारामा कुनै माझीले बाँधिछाडेको डुङ्गा र डुङ्गामाथिको बहाना जस्तै मेरो जिन्दगीबाट बहाना बनाएर गएकि थिई ऊ ।

सडक किनाराको प्रतीक्षालयमा बस्दै म सोचमग्न भए । सायद म नभए पनि अब यहाँ कसलाई के फरक पर्छ र ? म उकाली ओराली गर्ने ती गोरेटोहरूमा जब सन्नाटा छाउँछ तब केही दिन कोही कसैलाई मेरो याद आउँदो हो । त्यसपछि विस्तारै झझल्कोबाट विलिन भएर जानेछु । मेरा नजिकका आफन्तहरू र मित्रहरूले मेरो पार्थिव शरीरलाई समसान घाटमा जलाएपश्चात विस्तारै मेरो नाम विर्सनेछन् र नामसँगै धुमिल आकृतिहरूमा परिणत हँुदै स‘र्यास्तको किरणहरूसँगै ढलेका ती अभिषप्त रातहरूमा खस्दै गरेको तारा जस्तै म सधैँसधैँको निम्ति तिम्रो स्मृतिबाट हराएर जानेछु  । 

रहरमा चल्दो रहेछ दुनिया । म बाँचेर पनि रहरमा प्रत्येक दिन कैयौँ मृत्यृ मरिरहेछु । अब अन्तिम मृत्युको रहरमा मेरो अन्तरआत्मा छटपटाउन थालिसकेको थियो । जिउँदो लास बनेर जिउनु व्यर्थ हो । अन्तिम घुट्को लगाएँ । एकचोटि आँखा चिम्लिएर व्यथित विगतलाई सम्झिँदै बरबराउन थाले । ‘मैले वाचा गरेको थिए, कुनै दिन तिमीसँग कि तिमीविना बाँच्न सक्दिनँ भनेर । त्यसैले आज बाचा प‘रा गर्न जाँदैछु । तिमी पराइ भयौ । तिमीसँगै तिम्रो हाँसो पराइ भयो । तिम्रो सिउँदो अनि सिउँदोमा रङ्गिएको सिन्द‘र पराइ भयो । मेहेन्दीको रङले हातभरी कोरिएको चित्रहरू पराइ भए अनि फ‘लका गुच्छाजस्ता तिम्रा हातहरूमा चुराहरूबाट बज्ने छनछन आवाजहरू पनि पराइ भए । पराइको हाँसोसँगै तिमीले हाँस्न सिकिसकेकी छौँ । तिम्रो हाँसो मेरा लागि आँशु बन्नु हुँदैन । त्यसैले माफ गर । मलाई जिन्दगीसँग हारेको नसम्झिनु । अब मभित्र जित्ने कुनै चाहना नै छैन । अधुरा चाहनाहरू मसँगै मरेर जानेछन् । उर्ली जाने त्रिश‘लीहरूसँगै स्मृतिहरू सङ्गम बनेर कुनै दोभानमा तिम्रा यादहरूलाई किनारा लगाउँदै, किनारासँगै बिलिन भएर जानेछन् ।’

समय हेरेँ, रातको १० बजिसकेको थियो । निकैबेर प्रतीक्षा गरेँ ऊ आइन । सायद ऊ आउदिनँ पनि होला । सोचे के सम्बन्ध छ र अब हामीहरू बीच । म र म हिँड्ने गल्लीहरू उनका लागि अन्जान भइसके । यति सोच्दै म प्रतीक्षालयबाट निस्कँदै थिएँ । पर कुनै आकृति देखापर्न थाल्यो । सायद उही होली । म दोधारमा परेँ । ऊ नजिकै आई । ‘किन बोलायौ यति राति । के भयो ? केही काम थियो कि ? छिटो भन मलाई हतार छ ।’ ‘हा.. हा.. हतार त आज मलाई पनि छ ।’ तत्क्षण मैले आफ्नो हातमा रहेको औँठी निकालेर उसको हातमा थमाइदिएँ । सायद उसले दिएको त्यही औँठी उसको अन्तिम चिनो थियो मसँग ।
‘किन फिर्ता गर्दैछौ । यो तिमीले नै राख्न‘ । म नभए पनि मेरो याद तिमीसँगै रहनेछ ।’

‘के अर्थ अब तिम्रो याद आउनु र नआउनुमा । कहिलेकाहीँ फ‘लहरूले पनि चोट दिने गर्छन् र त्यही चोटबाट घाइते भमरालाई बगैँचाको कुनै अर्थ रहँदैन । ऊ उडेर पर गइदिन्छ, त्यो फ‘लबारीबाट र फ‘लहरूबाट । ऊ वसन्तमा बसन्त देख्दैन । केवल वचनजस्तै घोच्ने काडाहरू मात्र देख्छ होला सायद । तिमीलाई पहिल्यै भुल्नु पथ्र्यो मैले तर सकिनँ । तिम्रो यादहरू गृष्मकालीन झरीहरूसँगै आँखाबाट आशु बनेर फर्किएर आएँ ।’ केहीबेर सन्नाटा छायो । 

लामो मौनतालाई चिर्दै ऊ बोल्न थाली ‘कहाँ जान्छौ अब ?’ ‘अब कुनै गन्तव्य छैन मेरो । यो यात्रालाई सदाका लागि टुङ्ग्याइदिन चाहन्छु । आखिर जिम्मेवारविहीन भएर कहिलेसम्म भौँतारिँदै हिँडौँ ?  थाहा छैन । यसरी भौँतारिँदै हिँड्नुमा जिम्मेवारको थियो । तिमी ? म ? या समय ? थाहा छैन । मेरो मायालाई बुझिनौँ वा बुझ्न चाहिनौँ त्यो पनि थाहा छैन । केवल यति थाहा छ कि सायद म तिम्रा लागि लायक कहिल्यै पनि थिइनँ होला । तिमीले पराइ सम्झेर किनारा लगाए पछि छरपस्ट छरिएका ती माया, वाचा, कसम, समर्पण, त्याग  भावना र कल्पना जस्ता पवित्र वस्तुहरू मरेर टाढा गइसके । तिमीविनाको संसार अब मेरा लागि व्यर्थ छ । हृदयभरि तिमीले प्रत्येक पलहरूमा दिएका चोटहरू बोकेर म केही पलहरूपश्चात सदाका लागि बिदा भएर धेरै टाढा जान चाहन्छु । तिमीदेखि अनि तिम्रो यो स्वार्थी दुनियादेखि ।’

‘जहाँ हुन्छौ खुसी हुनू । बाध्यताले हो, हामीलाई टाढा बनाइदिएको । तिमी किन बुझ्दैनौँ यी कुरा । अब चाहेर पनि त म फर्कन सक्दिनँ । मेरो आफ्नै दुनियाँ छ । मेरो आफ्नै संसार छ । म त्यहाँ संसारप्रति समर्पित भइसकेको छु । तिमी बुझ्ने कोसिस गर, तिमीले देखेका ती सपनाहरू सबै नाजायज थिए । अब म तिम्रो हुन कदापि सक्दिन । सबै कुरा बितिसक्यो । समयसँगै तिम्रो भ्रमहरू पनि बितेर जाओस् । जान्छु अब रात धेरै छिप्पिसक्यो । राम्ररी बस्नु । सायद हाम्रो भेट अवश्य हुनेछ ।’ 

ऊ फनक्क फर्किई र हात हल्लाउँदै अबोध मुहारमा अधुरो मुस्कान फिँजाएर पाइलाहरू चाल्न थाली । अनि म साउनको उर्लंदो भेलभित्र बगिरहेको त्रिशूली र त्रिशूली किनारका छालसँगै समाप्त हुन अघि बढ्नै लाग्दा फर्किएर उसलाई अन्तिम पटक बोलाउन मन लाग्यो । फेरि सोचँे के फरक पर्छ होला र उसलाई अब । म बोले पनि नबोले पनि ।

-सिन्धुली

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप