बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

कथाः उही ‘म’

शनिबार, ३० असार २०७५, ०९ : ३३
शनिबार, ३० असार २०७५

-ईश्वरदेव खनाल  

हुस्सुले ढाकेको काठमाडौँ सहर । माघको महिना, यसै चिसो । मैलो, झुत्रो कपडा लगाएको एक युवक, एक हातमा सानो टिनको बाकस बोकेर, अनि अर्को हात खल्तीमा हालेर एकाबिहानै आफ्नो लक्ष्यहीन यात्रालाई खाली खुट्टाको भरमा अघि बढाइरहेको छ ।

सहिद गेट पुगेको त्यो युवकलाई आफू अगाडि अलि पर रहेको धरहराले आफूलाई गिज्याइरहेझैँ लाग्छ । ऊ लाजले शिर झुकाउँछ । अचानक पछाडिबाट आएको आवाजले उसलाई त्यसतर्पm आकर्षित गर्छ । फर्केर हेर्छ । लाग्छ, शान्त सडकमा, सहिद गेटमा रहेका सहिदका प्रतिमाहरूले उसको खिल्ली उडाइरहेका छन् । 

ऊ मनम नै चिच्याउँछ । आक्रोशित भएको छ उसको अहम् । घृणा गर्छ ऊ आफैलाई । थाकेको छ ऊ आफ्नै जीवनसँग, यो स्वार्थी दुनियासँग  । जिन्दगीसँग वाक्क भएको छ । मृत्युबाहेक उसले आफ्नो कुनै गन्तव्य देखेको छैन । 

रानीपोखरीको पानीमा एकटकसँग हेरेर आफूलाई त्यससँगै समाहित गर्न चाहेको उसलाई पछाडिबाट कसैले समात्छ । फर्केर हेर्छ । एक अपरिचित व्यक्तिले आफूलाई प्रश्नयुक्त आँखाले हेरिरहेको हुन्छ । 
“किन मर्न खोजेको ? जीवनदेखि हार खाएर हुन्छ ? उमेर भएको मान्छे, केही गर्नुपर्छ,” युवक एकोहोरो हेरिरहन्छ । 
“घर कहाँ हो ?” 
“विराटनगर ।” 
“अनि आत्महत्या किन नि ?” युवक मौन रहन्छ । 
“हिँड मेरो घर ।”

रमेश त्यस व्यक्ति (डाक्टर)को घरमा काम सघाउन बस्छ । भोलि बिहानै सबैजनालाई कोठा कोठामै चिया दिन्छ । 
“रश्मी उठी ?” डाक्टरले रमेशलाई देख्ने बित्तिकै सोधे । 
“उठ्नुभा’ छैन ।”
केहीबेरमै भान्सा कोठामा काम गरिरहेको रमेश एक्कासि एक युवतीको आवाज सुनेर झस्कन्छ । “ए, जा त पसलमा गएर पत्रिका लिएर आइज” । ऊ उही डाक्टरकी छोरी रश्मी हुन्छे । रमेश पत्रिका लिएर आउँछ । 
“मै’साप, पत्रिका ।”
“ए, तँलाई अरूको कोठा पस्नुअघि ढोका ढक्ढक्याउनुपर्छ भन्ने थाहा छैन ? कस्तो सोमत नभएको मान्छे,” रश्मीको यस्तै तीता नमीठा वचन सुन्दै रमेशका दिन बित्छन् ।

रातको ११ बजे । रमेशको कोठामा बत्ती निभेको छैन । “एई आज सुत्ने विचार छैन ? स्विच अफ द लाइट,” ढोका बाहिरबाट रश्मीको तिखो आवाज आउँछ । बत्ती निभाएर रमेश सिरकभित्र गुट्मुटिन्छ, तर उसलाई निद्रा लाग्दैन । उठेर एउटा सानो मैनबत्ती बालेर ऊ आफ्नो सिरानी नजिकैको टिनको बाकस खोल्छ । 

दुई दिनपछि रश्मीको जन्मदिन भएकाले घरमा सरसफाइ र तयारी धुमधामले चलिरहेको छ । रमेश कफी लिएर रश्मीको कोठामा पस्छ । पत्रिका पढ्नमा मग्न रश्मी रमेश छिरेको समेत थाहा पाउँदिन । उसको आँखाबाट आँसु झरिरहेको हुन्छ । “के अचम्म देख्नुप¥यो आज”, ऊ मनमनै भन्छ । गाली सुन्नुपर्ला भनेर केही नबोली ऊ बाहिर निस्कन्छ । 
रश्मी प्रत्येक आइतबार पत्रिकामा छापिने “म” भन्ने लेख नछुटाई पढ्छे । झन्डै ६ महिनादेखिको उसको यो प्रत्येक आइतबारको दिनचर्या भएको छ । यो लेख दोहर्याएर, तेहर्याएर जति पढे पनि धित मर्दैन उसको । बेनामी रचनाकारको यस रचनामा उसलाई केही पाए जस्तो अनुभूति हुन्छ । उनलाई आफ्ना सबै भावनाहरू उक्त लेखकसँग पोख्न पाए हुन्थ्यो जस्तो लाग्छ ! तर के गर्ने ?

आज रश्मीको जन्मदिन । घरमा रमाइलो वातावरण छ । घरका सबै व्यक्तिहरू खुसी र व्यस्त छन् । व्यस्तताका बीच पनि उल्लासमय वातावरणमा रमेशलाई आज किन हो किन रमाइलो लागिरहेको छ । उसलाई धक फुकाएर गाउन र नाच्न मन लागेको छ । उसले पनि त रश्मीका लागि जन्मदिनको उपहार ल्याएको छ । सङ्गीतको मधुर धुनमा मनमनै गाउँदै ऊ रश्मीको कोठामा जान्छ । “मै’साप, यो सानो उपहार हजुरलाई, जन्मदिनको शुभकामना ।”
“ह्वाट नन्सेन्स, हाउ डेयर यु । तेरो उपहार चाहिँदैन मलाई । गेट लस्ट । मुड खराब गरिदियो,” रश्मीको यस्तो गाली सुनेपछि ऊ एकाएक कमजोर बन्छ । उसका खुट्टा काँप्न थाल्छन् । महिनौँपछि पलाएको उसको खुशी फेरि खोसिन्छ । उसले ल्याएको उपहार भुइँमा खस्छ । ऊ केही नबोली बाहिर निस्कन्छ । 
रमेश बाहिर निस्कन नपाउँदै उसका केही साथीहरू कोठामा पस्छन्, “ह्याप्पी बर्थ डे रश्मी ।”
“के भयो किन मुडअफ भएकी ?”
“के हुनु नि, घरमा काम गर्ने मान्छेले मुड अफ गरिदियो ।”
यत्तिकैमा रमेशले भुइँमा खसालेको उपहारतर्फ एउटी साथीको आँखा पर्छ । 
“के हो यो ?” 

त्यसलाई उसले खोल्छे । सबैका आँखा त्यसमा पर्छन् । कोठामा अचम्मको मौनता छाउँछ । उपहार स्वरूप ल्याइएका केही कागजका पानाहरूमध्ये एउटा रश्मीलाई सम्बोधन गरेर लेखिएको पत्र थियो ः
“मै’साप, जन्मदिनको शुभकामना । हुन त एउटा नोकरको हैसियत के नै हुन्छ र ? यद्यपि यी कविता र रचनाहरू यहाँको जन्मदिनमा उपहार दिँदैछु । यसबाहेक दिन सक्ने क्षमता म गरिबको केही छैन । संसारलाई चिन्न नसकेको मैले आफैलाई चिन्न सकेको रहेनछु । को हुँ ‘म’, के हुँ ‘म’, यो ‘म’ कस्तो हुन्छ र कसरी बिलाउँछ, बुभ्mन नसकिने रहेछ । – उही ‘म’ ।

रश्मीका आँखा आँशुले टलपल हुन्छन् र बग्नथाल्छन् । आँशुले लतपतिएका ती कागजका अक्षरहरूलाई पटक पटक पढिसकेपछि उनका आँखा एक टक लाएर ढोकातर्फ सोझिन्छन्, जहाँबाट एकछिन पहिले रमेश निस्किएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप