बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कविताः पुरस्कारको पसल

शनिबार, ३० असार २०७५, ०९ : २०
शनिबार, ३० असार २०७५

-लक्ष्मण सिटौला  
            
मसँग एउटा पुरस्कारको पसल छ
मेरो पसलमा कसैले छापा मार्दैन
किनभने पुरस्कारको डेट एक्स्पाएर हुँदैन 
यो एउटा राम्रो भ्रमको व्यापार हो
फूलको ब्यापार जस्तो यो कहिले बासी हुँदैन 
मासुको ब्यापार जस्तो यसमा कहिले औस्या किरा पर्दैन
पीठोको व्यापार जस्तो यसमा कहिले चिल्ना पनि पर्दैन
तरकारीको ब्यापार जस्तो यो कहिले कुहिँदैन
तेलको व्यापार जस्तो यस्मा मिसावट गर्नुपर्दैन 
मसँग पुरस्कारको पसल छ
किन्ने मान्छेको भीड लाग्छ 
म सधैँ नाफामा हुन्छु

मान्छे सदैव पुरस्कारको भोको हुन्छ
मान्छे सदैव सम्मानको भोको हुन्छ
मान्छे सदैव प्रेमको भोको हुन्छ
सम्मान र मान किनबेच हुन्छ आजकल
प्रसंशाको ब्यापार शत प्रतिशत फाइदामा चल्छ
मानको ब्यापार आलु जस्तो कुहिएर गन्हाउँदैन
तँ दिए जस्तो गर, म लिए जस्तो गर्छु
तेरो एक लाखको पुरस्कारलाई म दुई लाख दिन्छु
पुरस्कारको लिलाम हुन्छ यहाँ 
मेरो पुरस्कारको पसल सधैँ नाफामा चल्छ ।

समाजसेवी, साहित्यकार, गायक, नायक
राजनीतिज्ञ, लेखक, पत्रकार,  किसान, गजलकार
कलाकार, शिल्पकार, शिक्षक, विद्यार्थी, मोडल 
हामी सबैलाई मेडल चाहिएको छ,
त्यसैले 
पुरस्कार उत्पादन गर्ने मेरो दोकान व्यस्त छ
पुरस्कार कसले पाएको छैन ?
पुरस्कार नलिनेलाई चैँ पुरस्कृत गर्नुपर्ला जस्तो छ

आलु र प्याज जस्तो धार्नीमा जोखेर लैजान्छन्
ढलोटका ढ्याकहरू र बिक्री गर्छन् 
यो समाजका रोल मोडलहरूलाई
यही समाचार बन्छ यहाँ 
हिरोनीलाई पाखाला चलेको न्युज बन्छ यहाँ 
हिरोहरूलाई ज्वरो आको हेडिङ बन्छ यहाँ 
तुइनबाट झरेर मरेकी माझीको छोरी बेखबर बन्छे यहाँ 
न्युड सुन्दरीलाई टाटा कम्पनीको कार मनपरेको 
सरकारी पत्रिकामा समाचार बन्छ यहाँ 
यहाँ समाचारको सधैं साउने झरी छ
आधाजसो पत्रिका पुरस्कारको न्युजले ढाकिएको हुन्छ

चोर जेलबाट बाहिर निस्कँदा खादाको माला
बलात्कारी जेलमुक्त हुँदा सिन्दुरे जात्रा 
ज्यानमारा नक्खुबाट बाहिरिँदा
पार्टीका नेता र फूलमालाले स्वागत
बैङ्क लुटहरूलाइ मेयरको टिकट 
पुरस्कार यही हो हाम्रो समाजमा बिक्री भइरहेको
घाटबाट मुर्दा जलाएर आउनेलाई
खादा ओढाउन बाँकी छ
भोजपुरको भैसीपन्खामा बस लुटनेहरुलाई
मेडल दिन बाँकी छ
खुल्लै छ मेरो पुरस्करको पसल
आए हुन्छ बरु कमिसन पनि दिउँला
एक पाइला घाम नडुब्दै क्षितिजको बाटो भएर
आउनुहोस् मेरो पुरस्कारको दोकानमा
सटर नलाग्दै जोखेर लानुहोस् मेडल
र पुरस्कृत गर्नुहोस् उसलाई
कोही भट्टीमा मात्तिँदै होला यतिखेर ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप