शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कविताः आमाको बोली

शनिबार, ३० असार २०७५, ०९ : १९
शनिबार, ३० असार २०७५

-निर्मला न्यौपाने  

धुँवा पुत्यायो, हावा चल्यो
ऊ आएन, मध्यान्हको वनमा कुन्नि केले छल्यो
फू... गरेँ, फूङ्ग खरानी उड्यो
अपर्झट ऊ आयो, आगो बल्यो ।
भाँडावर्तन र चामल तिहुनको जोहो गरियो
धमनीमा उमङ्ग भरियो
उतुङ्ग, हिमाल, ताल
नदी, वन, चरा फूल
संसार रमणीय लाग्यो ।
“छोरी, बिहे गर्न अलि हतार गरिस्”
धरक्क मन धर्काएर आमा तरक्क रुनुभो
म हाँसे
यन्त्रवत जडिएका, अडानमा अडिएका
बुढी माउलाई प्रेमको प्राप्ति के थाहा ?
‘आमा रुनु पर्दैन’ मैले हाँसेरै सम्झाएँ ।
ढुङ्गाको चुलोमा वनको हावा चल्दा
काँचा दाउरा पनि बलेका थिए
मनमा असङ्ख्य दीप जलेका थिए
त्यो वन मनोहारी थियो
त्यो मन उघारो थियो
अहिले सहरको कहरमा छु
कुन्नि त्यो वन कस्तो भयो होला
यो मन अमिलो भा’छ
भविष्य धमिलो लाग्दैछ
वनमा दाउरा टिप्न उत्ताउलिने उसले 
सहरमा ग्यास खोज्ने जाँगर गरेन
खाने बेलामा आँ गर्यो
छोरी प्रायः भोकै परी ।
मुनामदन पढ्छु...
‘यो मेरो मुटु हजारचोटि
धड्कन्छ पलामा’
आमा, आमाको बोली बारम्बार
अड्कन्छ गलामा
फेरि पनि आमाकै 
आशीर्वादमा उठ्छु
आफै आगो बाल्न जुट्छु ।

-पोखरा 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप