शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

निबन्धः असारे विकास  माहात्म्य

शनिबार, ३० असार २०७५, ०९ : ०६
शनिबार, ३० असार २०७५

-रमण नेपाल  

आषाढको महिना । कालीदासका यक्षले आपूm विदेशमा रहँदा स्वदेशमा प्रतीक्षारत आफ्नी प्रेयसीलाई झल्झली सम्झेको महिना । मुक्त आकाशमा मनोरम हात्ती बनेर मेघले क्रीडा गरेको महिना । यक्षले त्यसै मेघलाई विश्वस्त दूत बनाएर आफ्नी प्रेयसीसमक्ष पठाएको महिना । एक काव्यमय महिना । 

हिमालको काखमा खेल्ने सुन्दरतम प्रकृति भएको देश नेपाल । नेपालको द्रुततर विकासमा आषाढ महिनाको छुट्टै महिमा छ । छुट्टै भूमिका छ । यो महिना प्रकृति स्वयम् सृजनशील बन्छिन् । सर्जकहरूमा गीत फुर्छ । कविता फुर्छ । दोहोरी फुर्छ । आषाढमा खेत रोपाइँ, किसान समुदायका लागि भव्य सौन्दर्यको समुच्चय नै हो । ठीक यही महिना हाम्रो मुलुकमा द्रुततर विकास र समृद्धिकोे राजकीय भ्रमण हुने महिना पनि हो । कालीदासका यक्षले प्रेयसी सम्झेजस्तै यो महिना हाम्रा नेपालका विकासे कर्मचारी र विकासे राजनेताहरू देशको विकास निर्माण सम्झन्छन् । अघिल्ला एघार महिनासम्म भुसुक्कै बिर्सेका विकास निर्माणका योजनाहरू सम्झन्छन् । 

क्या प्रिय र मनोरम हुन्छन् ती योजनाहरू ! प्रेमले रन्थनिँदै हाम्रा विकासका अभियन्ताहरू  सडक गल्लीमा ओर्लेर रातारात उपभोक्ता समिति कन्याउन पुग्छन् । उपभोक्ता त जनता हुनुपर्ने हो तर उपभोक्ता समिति जनताभन्दा माथि केही हुन्छ । त्यसमा पदाधिकारीहरू हुन्छन् । विकासभोजी उपभोक्ता समितिहरूलाई पनि असार त चाहिएकै हुन्छ । ती पनि प्रतीक्षामै हुन्छन्, प्रिय असारको । धान रोप्न होइन, तत्काल खल्ती खल्तीमा उम्रने फल्ने विकास रोप्न । 

असारमा विकास र समृद्धिको राजकीय भ्रमण मुहूर्त जुराउने संस्कृति नेपालमा यद्यपि नयाँ होइन । धेरै पुरानो पनि होइन । अहिले नयाँ र उर्वर वातावरण पाएर यो संस्कृति विशेष मौलाएको छ । विशेष झाँगिएको छ । संस्कृतिको बीज नै भाले जातको भएका कारण विकासका यी बोटहरूमा फूल भने फुल्दैन । फल पनि लाग्दैन । दिनभरी निर्माण रातभरी विनिर्माण । दिनभरी विकास रातभरी निकास । झण्डै सिसिफसको अभियानजस्तो । यस्तो हुनु यसको विशेषता नै हो । आषाढभरी विकासको रमझम चल्छ । साउन लाग्दा नलाग्दै निर्मूल बन्छ । भत्कनुबिग्रनुका सारा दोष बर्सातले बोक्छ । त्यही आगन्तुक असारले बोक्छ । सर्वम् पदम् हस्तिपदे निमग्नम् । असार एउटा हात्तीको पाइला हो । यसले सबै जीवजन्तुका पाइला छोप्छ । ढाक्छ । 

पहिले पहिले असारमा विकासको मूल मात्र फुट्थ्यो । हिजोआज विकासको मूल होइन बाढी नै फुट्छ । काठमाडौँ उपत्यका नै डुबाउने गरी बाढी फुट्छ । यस्तै हो भने भक्तपुरसम्म त समृद्धिको पानीजहाज नै पनि आउला कि ? हिजोआज नेपालका मूलहरूबाट आउने मामुली पानीले बाढीलाई बाटो छोडिसकेको अवस्था पनि छ । यता विकासका खहरेहरूमा बाढी आउँने सर्वोत्तम महिना बनेको छ आषाढ । सहरमा विकासको बाढी कालोपत्रे बनेर सडक गल्लीहरूमा ओर्लंदाओर्लंदै स्वागतमा धमिलो पानीको अर्को बाढी आइपुग्छ ।  आषाढमै यस्तो छ । साउनमा मनसुनका पानीको बाढी आएपछि असारे विकासका बाढी सबै पुरिन्छन् र नयाँ नयाँ विकास निर्माणका लागि अर्को वर्षको असार कुर्न थाल्छन्, विकासका अभियन्ताहरू । 

राजनीतिक व्यवस्थाको नाम जति पविर्तन होस् । जुनसुकै दलको जस्तोसुकै सरकार बनोस् । जुनसुकै दलपति प्रधानमन्त्री बनुन् आषाढमा विकासको बाढी दगुराउने यो प्रथा जानेवाला छैन । घोडेजात्रा जाला, असारे जात्रा जाँदैन । क्रिश्चियनले क्रिस्मस छोड्लान् । हिन्दुले दशैं छोड्लान् । लामाहरूले गुम्बा छोड्लान् । नेपालका कर्मचारीले असारे विकासको शुभलाभ संस्कृति छोड्दैनन् । मुलुककमा यो संस्कृति छ र नै कुर्सीमा कर्मचारीहरू छन् । जङ्गलमा काफल पाक्छ र नै चरी कराउँछ । मन्दिरमा भक्तजन आउँछन् र नै बाँदरहरू मोटाएर बस्छन् । प्रतिवर्ष नेपालमा विकासे असार आउँछ र नै यहाँका नेता कार्यकर्ताहरूको राजनीति चलेको छ । कर्मचारीहरू हट्टाकट्टा छन् । एकट्ठा छन् । उपभोक्ता समितिका व्यक्तित्वहरू सदाबहार छन् । यत्रतत्र बाँसघारीहरूमा सुखसमृद्धिका कोपिला लागेका छन् ।

असारमा विकास निर्माण रोप्न सजिलो छ । जसरी हिलोमा धान रोप्न सजिलो छ । जसरी असारे दबदबे हिलोमा धानका बीउ बेर्नाहरू मुन्टो मात्र देखिनेगरी गाडिन्छन्, त्यसैगरी असारे विकासमा उपभोक्ताहरू गाडिन्छन् । हामीले राजधानीका सडमा यसरी गाडीहरू र पदयात्रीहरू गाडिएका दृश्य देखेका छौँ । विकासका अन्यान्य क्षेत्रहरूमा पनि प्रकारान्तरले उपभोक्ताहरू गाडिएका देखेका छौँ । यसैले विकासको मर्म नबुझेकाहरू कति त असारे विकासलाई गाडेविकास पनि भन्छन् । पश्चिम नेपालमा गाडको अर्को अर्थ खोलानाला पनि हो । असारमा खोलानाला बढ्छन् ।

दिनभरी खनेको बाटो राति पहिरोले पुर्छ । दिउँसो गरेको कालोपत्रे रातभरीको पानीले हिलोमा परिणत गरिदिन्छ । दिनभरि ठड्याएको पर्खाल राति गर्लम्म ढल्छ । यसै भएर ठेकेदारका मर्का बुझेका समझदार सरकारी  इन्जिनियरहरू पहिरो र हिलो हेरेरै विकास निर्माणको जाँचपास गरिदिन्छन् । ठेकेदारले समयमा भुक्तानी पाउँछ । कर्मचारीले नोटतानी पाउँछ । उपभोक्ता समितिका व्यक्तित्वहरूले मेजमानी पाउँछन् । यसरी रातारात सबैको भलो गर्दै असारे विकासको वार्षिक एक  अध्याय टुङ्गिन्छ । अर्को अध्यायमा कुमारजी फेरि आज्ञा गर्नुहुन्छ । अर्को अध्यायमा फेरि सतीदेवीको अर्को अङ्ग पतन हुन्छ ।

यसरी हाम्रो असारे विकासको कथा पनि एउटा नयाँ स्वस्थानी व्रतकथा हो । स्वस्थानी कथाका केही अवशेष भेटिएलान्, असारे विकासका अवशेष भेटिँदैनन् । 

हाम्रो असारे विकासका कथाबाट अनेकौं विनिर्माणकाव्यहरू बन्न सक्छन् । वियोगान्त नाटकहरू बन्न सक्छन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप