शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘नर्सहरू किन यति राम्रा हुन्छन् ?’

शनिबार, ३० असार २०७५, ०९ : ०१
शनिबार, ३० असार २०७५

-सूचना तिमल्सिना  

मारिण गाउँपालिकाको भवनको सिँढी चढ्दैछु ।  मन भारी छ ।  मन जतिकै भारी झोला छ ।  शोभा गाउँपालिकाको अध्यक्ष कोठा खोज्दै छे ।  उसले पत्ता पाइछे र बोलाउँदै छे ।  कोठाभित्र छिर्छु ।  नमस्कार साट्छु ।  परिचय साट्छु ।  शोभा हाम्रो उद्देश्यबारे बताउँछे ।  अल्कोहोलिज्म बारे रिसर्च गर्न आएको ।  म भने अध्यक्षलाई हेर्छु ।  शोभालाई हेर्छु ।  अफिसको भित्ता चाहर्छु ।  भर्खर आइपुगेको एक केटा र केटीलाई हेर्छु ।  त्यो केटाले देखाएको चासोलाई हेर्छु ।  केटोलाई सोझो केटोसँग दाज्छु  र उसैको यादमा हराउँछु ।  

हरिहरपुरगढी गाउँपालिकाबाट मारिण गाउँपालिका आउनुथियो ।  वर्षामा गाडी नचल्ने रहेछ ।  त्यसैले शोभाले दुईवटा बाइक खोजिछ ।  बाइक चढ्ने बेला शोभाले सोधी ।  कुन बाइकमा चढ्ने ? सोझो केटोको बाइकमा कि मुस्कान मीठो भएको केटाको बाइकमा ? मलाई शोभाले दिएको नाम सोझो केटो मन पर्छ ।  त्यसैले सोझो केटो मेरो रोजाइमा पर्छ ।  

गर्मीमा बहेको चिसो हावादेखि रमाउँछु ।  खोलाको सङ्ग्लोपन हेरेर रमाउँछु ।  बाटो वरिपरिको बस्तीदेखि रमाउँछु ।  रमाउँदा रमाउँदै दिक्क मान्छु ।  किनकि सोझो केटो बोल्दैन ।  के ऊ साँच्चिकै सोझो छ ? मलाई खुल्दुली चल्छ । ‘गीत गाउन आउछ ?’ उसँग जवाफ खोज्छु ।  “आउँदैन बरु तपाईंकै स्वर राम्रो छ जस्तो छ ।” ऊ बोल्दो रहेछ ।  त्यसमै सन्तुष्ट लाग्छ ।  म गफको मेसो निकाल्छु ।  ऊ बोल्दै जान्छ ।  ऊ मलाई फुक्र्याउँछ । ‘नर्सहरू किन यति राम्रा हुन्छन् ।” 

अब म नबोले पनि ऊ बोल्छ ।  हाँस्न नखोजे पनि हसाउँछ ।  फेरि म अघिको एकान्त खोज्दैछु ।  प्रकृतिसँगको सन्निध्या खोज्दैछु ।  घचमच गरी हिँडेको बाइकको गतिमा सीमितता खोज्दैछु ।  उफ ! मानिस जे गरे पनि असन्तुष्टि ।  ऊ बन्दै गरेको पुल देखाउँदै भन्छ ।  उसले मलाई व्यङ्ग्य गरेजस्तो लाग्छ ।  असन्तुष्टि किन ? सोध्नुपर्ने प्रश्न थियो ।  सोध्दिनँ । बरु ऊ आफै कुरा मोड्छ । “के पहिलो भेटमा माया बस्न सक्छ ?”

शोभा मेरो ध्यान भङ्ग गर्छे ।  मैले ल्याएको चिठ्ठी अध्यक्षलाई साइन गराउन लाउँछे । थेसिस् कि केस स्टडी अघिदेखि चासो बोकेको केटो प्रश्न तेर्साउँछ ।   रिसर्च मात्र शोभा उत्तर फर्काउँछे ।  शोभाले आफन्त भेट्छे ।  आफन्तसँगको बातचितमा स्वर सानो पर्छे ।  पर सर्छे ।  त्यसपछि हराउँछे ।  म अलमलमा पर्छु ।  किताब पढ्न खोज्छु ।  कपाल मिलाउँछु ।  ध्यान कतै अडिन सक्दैन  ।  झ्यालबाट बाहिर हेर्छु ।  गाउँपालिकाबाट देखिने दृश्यमा हराउँछु ।  

सुपारीको अग्लो रूख ।  झुत्ता परेर फलेको आँप ।  स्वास्थ्य संस्थामा फ्यान चलाएर बसेका मानिस ।  चराहरूको  चिरबिर आवाज ।  चर्को घाम, चिसो बतास ।  परालको कुन्यु ।  सोलारको बत्ति ।  तल तल पक्की घर, माथि गएपछि काठको घर, टायलको छानो ।  बस्ती माथिको जङ्गल ।  जङ्गलमा मौलाएको सालको बोट ।  ठूलो उपत्यका ।  मकै बारी ।  खेतका फाँट ।  फाँटमा चरिरहेको गाईवस्तु ।  वरिपरिका होचा डाँडा ।  हेर्छु, हेरिरहन्छु ।  अरू काम पनि त छैन मसँग ।  हेर्दाहेर्दै सोचाइमा अल्झिन्छु ।  उही सोझो केटोमा पुग्छु । 

माया कसरी बस्छ, म वकालत गर्ने मानिस होइन ।  फेरि माया यसरी बस्छ भनेर भन्न सकिने कुरा पनि त होइन ।  म उसलाई भन्न खोज्छु । तर बीचमा अड्कन्छु ।  किनकि उसले खोजेको उत्तर त्यो होइन ।  त्यसैले भनिदिन्छु । “सायद पहिलो भेटमा माया बस्न पनि त सक्छ !” ऊ खुशी हुन्छ ।  सुसेल्दै बाइक चलाउन थाल्छ ।  शोभा चढेको बाइकलाई उछिन्छ ।  

ऊ मरिण खोला बारे बताउँछ ।  मरिणको बस्ती बारे बताउँछ । “धरान चताराको बाटो यहीबाट बन्दैछ ।  बाटो बनेपछि बस्ती स्वर्ग बन्छ ।  त्यसपछि तपाई फेरी आउनु होला ।  हामी घुम्नु पर्छ ।  चिल्लो बाटोमा ।  अनि साथमा ।” ऊ सपना बुन्न थाल्छ ।  म एक यात्री ।  ऊ एकछिनको सहयात्री ।  उसको सपना र आशामा भाँजो हाल्न मन लाग्दैन ।  त्यसैले उसलाई काल्पनिकताको मिठासमा छोडिदिन्छु । 

शोभा बाइक रोकेर बसेकी रहिछे ।  बाइक अप्ठ्यारो भएको गुनासो गर्छे ।  ऊ सोझो केटोको बाइकमा चढ्न खोज्छे ।  म नचढ् भन्न सक्दिन ।  फेरि चढोस् भन्ने चाहन्न ।   सोझो केटो मपट्टि हेर्छ ।  मुस्काउँछ ।  के गरुँझैँ अनुहार लाउँछ ।  मूक हुन्छ ।  एकछिनपछि बोल्छ ।  बाइक नै साटौँ न त ।  शोभा सहमत हुन्छे ।   समस्याको समाधान हुन्छ । 

“अघि तपाईं मेरै बाइकमा बस्न चाहनुहुन्थ्यो, होइन ?” ऊ मलाई पक्रिन्छ ।  म प्रत्युत्तर फर्काउँदिनँ ।  फर्काउन पर्ने आवश्यकता पनि देख्दिनँ ।  अपरिचित बनेर यात्रा टुङ्ग्याउनुछ ।  छिट्टै छुटिनु छ ।  किन उत्साहमा रुमलिनु छ र ! त्यसपछि वार्तालाप लम्बिँदैन ।  बाइक खोल्सा तर्दै हिलो बाटो हुँदै, एकहोरो गुडिरहन्छ ।  म बाइकको गतिमा तल माथि उफ्रिँदै, थकित भएको भान गर्दै समयसँग चिप्लिरहन्छु ।  ऊ शान्त वातावरणमा खलल मच्चाउछ ।  “तपाईंको ब्याइफ्रेन्ड छ ?”

शोभा आइपुग्छे ।  मरिणमा आफन्तहरू धेरै भएको जिकिर गर्छे । आफन्तको घर जान प्रस्ताव राख्छे । म मान्दिन । मरिण बजार घुम्छु ।  उसलाई यस्तै भनिदिन्छु ।  समीको रुखबाट मोडिएर तल झर्छु । सानो खोल्सो तरेर चौतारामा पुग्छु ।  सोध्छु– यो ठाउँ कुन हो ? मानिसहरू बजार भनी परिचय दिन्छन् ।  भीमफेदी बजारको  ढाँचामा रहेको बजार स्तरीकरण गरिँदै रहेछ ।  

चिया खान मन लाग्छ ।  चिया पसल जान्छु ।  वरिपरिका मानिस नियाल्छु ।  सबैका नजर मैमा परेको देख्छु ।  बोलुँलाझैँ हेरेको नजरलाई एक एक गर्दै टहल्छु । बोल्न मन छ भने बोल न त किन हेरिरहन्छौ भन्ने सोच्दै चिया मगाउँछु ।  मोबाइल चलाउँछु ।  उनीहरू फेरि चिया गफमा मस्त हुन्छन् ।  चिया आइपुग्छ ।  बाड्दै जाँदा मेरो भाग अन्तिममा पर्छ ।  चस्मा लाएका, हेर्दा बुद्धिजीवी देखिने एक मानिस प्वाक्क बोल्छन् ।  “जे गर्दा नि महिला त पछाडि नै !”

अर्को मानिस उनको कुरा काट्छन् ।  कार्यपालिका सदस्य पञ्चमाया घिसिङको उदाहरण दिन्छन् ।  जसले बाह्र तेह्र वर्ष लगातार हलो जोतिन् ।  पुरुष जस्तै काम गर्छिन् ।  आजकाल महिलाको अवस्था पहिले जस्तो छैन ।  अब त उनीहरू पछाडि छैनन् ।  कति त पुरुषकै जतिकै छन् ।  नभएका पनि छिटै पुरुषकै दाँजोमा  आइपुग्नेछन् ।  उनीहरू मपट्टि हेर्दै राय प्रकट गर्छन् । 

सुनिदिन्छु, हेरिदिन्छु, हाँसी दिए जस्तो गर्छु ।  उनीहरू नै बहस् निकाल्छन् ।  उनीहरू नै फैसला गर्छन् ।  मैले चिन्ता लिनुपर्ने देख्दिनँ ।  वकालत गर्नुपर्ने भेट्दिनँ ।  फेरि म बहसका लागि तयारी पनि त छैन ।  जेसुकै हुन्छ हँुदै जाओस् ।  म त सोझो केटोको फैसलामा छु । सोझो केटोसम्बन्धी वैचारिक द्वन्द्वमा छु । 

“मैले ब्याइफ्रेन्ड छ भन्नुपर्यो कि छैन भन्नुप¥यो ।” म सोझो केटोलाई पेच पार्दै बोल्छु ।  ऊ मेरो उत्तरले फरक नपर्ने बताउँछ ।  “किन ?” उससँग स्पष्टीकरण माग्छु । “किनकि हाम्रो सम्बन्ध सुरुवात भइसक्यो ।” म चकित बन्दै सोध्छु– कहिलेदेखि ? “मेरो बाइक रोजेदेखि, मेरो साथ गुमाउन नचाहेको पलदेखि ।” 

अब मलाई ऊ खतरा बम जस्तै लाग्छ ।  जो सानो बहसमा पनि जुनसुकै बेला पड्किन सक्छ ।  त्यसैले चुपचाप बस्छु ।  तर मुस्कुराउन छाड्दिनँ ।  ऊ मरिण गाउँपालिका आइपुग्न लागेको बताउँछ ।  बाइक विस्तारै चलाउँछ ।  विस्तार गतिमा मेरो गुनासो रहँदैन ।  आउँदै जाँदै गरेको भावनाको स्पष्ट स्वरूप पाउँदिनँ । फेरि भावनालाई अलमल बनाउन चाहदिनँ ।  

चन्दुली खोला, धमिले खोला, धमिले बजार, गन्तव्य आइपुग्छ ।  ऊ बाइक रोक्छ ।  म ओर्लन्छु ।  उसलाइ हेर्छु ।  बिदाइको हात हल्लाउँछु ।  शोभालाई ओर्लन मद्दत गर्छु । होटलभित्र लाग्छु ।  कोठामा पुग्छु ।  ब्याग बिसाउँछु ।   झ्याल खोल्छु ।  तल हेर्छु ।  सोझो केटो गएको रैनछ ।  खुशी हुँदै लामो सास फेर्छु ।  अनि फेरि तल ओर्लन्छु । 

बिदाइ गर्न कुनै शब्द पाउँदिनँ ।  चुपचाप हाँस्दै बाइबाई गर्छु ।  ऊ पनि हाँसिरहन्छ ।  हात हल्लाइरहन्छ ।  अनि छुटिन तयारी पर्छ ।  छुटिँदा छुटिँदै बोल्छ ।  “यात्रा अविष्मरणीय रह्यो ।  अबको भेटमा हाम्रो सम्बन्ध के हुन्छ ?” 

लगातार तीन दिन काम गर्छु ।  माझीहरू भेट्छु ।  रसाइलीहरू भेट्छु ।  थापाहरू भेट्छु ।  बम्जनहरू, घिसिङहरू भेट्छु ।  भुजेल, कार्की, श्रेष्ठ, राई, सुयाल थुप्रै थरी भेट्छु ।  जात जाति भेट्छु ।  गफ गर्छु ।  प्रश्न सोध्छु ।  उनीहरूको विचार सुन्छु ।  मदिरा सेवनसम्बन्धी संकृति र विकृतिबारे छलफल गर्छु ।  

मुस्कान मीठो भएको केटो बाइक यताउता लिएर हिँडेको भेटिन्छ ।  तर सोझो केटो देखिँदैन ।  भेटिँदैन ।  “के ऊ भेटिँनै पर्ने हो र ?” आफ्नो प्रश्न आफैलाई भारी लाग्छ ।  फेरि ऊ भेटियोस् भन्ने तर्कना हट्दैन । “भेटेर के हुन्छ त ?” ऊ भेटिएपछिको कहानीका लागि व्यग्र छु ।  ऊ भेटिएपछि उसले देखाउने व्यवहारका लागि उत्साहित छु ।  

पाँच दिन सकियो ।  रिसर्चको काम भ्याइयो ।  अब मिलाउन पर्ने कागजात बाँकी छ ।  थन्क्याउन पर्ने सोझो केटोको कहानी बाँकी छ ।  गाउँपालिका जान्छु ।  स्वास्थ्य संयोजकलाई भेट्छु ।  फर्कनका लागि तयारी हुन्छु ।  साँझमा शोभा र म टहल्न निस्कन्छौँ ।  अँध्यारो भएपछि फर्कन्छौँ ।  बाटामा केही बाइकको आवाज र हल्ला सुनिन्छ ।  

चार पाँचवटा बाइक रोकिएको भेटिन्छ ।  छ सात जना केटाहरू झुम्मिएको देखिन्छ ।  एक बाइक लडेको देखिन्छ ।  अलि पर एक केटा रक्तामे भेटिन्छ ।  हतारिँदै हेर्छौं ।  ऊ त सोझो केटो पो रहेछ ।  म पछाडि हच्किन्छु ।  अबको भेटमा हाम्रो सम्बन्ध के हुन्छ ? उसले भनेको सम्झन्छु ।  उसलाई स्वास्थ्य संस्था लगिन्छ ।  

उसको होस् खुल्छ ।  मेरो रसिल आँखासँग उसको आँखा जुध्छ ।  उसले चिन्यो चिनेन सोध्न सक्दिनँ ।  उसलाई पर्खिरहेको थिएँ भन्न सक्दिनँ ।  
हाम्रो सम्बन्ध बारे सोध्न मन लाग्छ ।  तर ऊ एकहोरो मलाई बचाइदिनुहोस भन्दै कराइरहन्छ ।  मलाई पहिलो पटक डाक्टर नपढेको पछुतो हुन्छ ।   स्वास्थ्य संस्थाबाट कमालामाई लाने तयारी हुन्छ र लगिन्छ ।   दुर्घटना हुँदा साथ भएको केटो दुर्घटना बारे बयान गर्छ ।  

सोझो केटो र उसका साथीहरू जन्मदिनको पार्टी मनाएका थिए ।  पार्टी बियर र रक्सीको थियो ।  सोझो केटोले निकै पिएको थियो ।  साथीहरूले बाइक नचला भन्दाभन्दै नमानी चलायो र बाटोमा दुर्घटना भयो । शोभा मेरो कानमा फुसफुसाउँछे ।  धन्न तँ चढेको बेला दुर्घटना भएन ।  म अभिव्यक्त गर्ने शब्द भेट्दिनँ ।  अरू मानिस कमसे कम पिएको बेलामा बाइक चलाउन नहुने भन्दै टिप्पणी गर्छन् ।  कोहि कोही भने दिन नै आइपुगेको भन्दै अत्याउँछन् ।  

बेलुका खबर आइपुग्छ ।  सोझो केटो अस्पताल पुग्न पाएन ।  अब ऊ धर्तीमा रहेन ।  ऊ आफैले निम्त्याएको  अधुरो जीवनदेखि माया लागेर आउँछ ।  बन्न खोज्दा खोज्दै नबनी टुक्रिएको सम्बन्धदेखि पीडा हुन्छ ।  शोभाबाट पर भाग्छु ।  धोको फुकाएर रुन्छु ।  आँशुसँगै हाम्रो कहानी पखालिएको देख्छु ।  

शोभा यो घटनालाई चिन्ताको विषय बनाउन नहुने बताउँछे ।  अब नर्स बनेपछि यस्ता थुप्रै घटनाको सामना गर्नुपर्ने सम्झाउँछे ।  उसले भन्न खोजेको कुरा नबुझेको होइन । चिनेको मानिस, जानेको मानिस, आफ्नो ठान्न खोजेको मानिस गुमाउँदा चित्त दुख्दो रहेछ । 

बिहान फर्कंदा धरान चताराको बाटो बनिरहेको देख्छु ।  सोझो केटोले पालेको सपना सम्झन्छु ।  मरिणका बस्ती फेरिऊन् भन्ने चाहन्छु ।  तीव्र गतिमा बनिरहेको बाटो छिट्टै सकियोस् भन्ने चाहन्छु ।  सोझो केटोलाई सम्झन्छु ।  उसको व्यवहारलाई सम्झन्छु ।  वास्तवमा, सोझो केटो सोझो थिएन ।  सोझो केटो सोझो रहेन ।  खसेको आँशुलाई पुस्छु र एक नमिठो यात्रालाई टुङ्ग्याउँछु । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप