शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कविता: भानु

शनिबार, ३० असार २०७५, ०७ : ५८
शनिबार, ३० असार २०७५

-रिमा केसी  

हे ! भानु
आज दुनियाँ तिमीलाई पुजिरहेछ
तिम्रो कवितालाई मुखले गुनिरहेछ
म पनि सम्झिरहेछु तिमीलाई मनदेखि
र आफूलाई आफ्नै मनले ठुङ्गिरहेछु
संसारमा कुनै पनि घाँसीको घाँस
यति धेरै बिकेन होला
जति 
तिम्रो चेतनाको दैलो खोल्ने घाँसीको बिक्यो
त्यसपछि तिमीले मनको खेतमा
कविताको बाली लगायौ अनि
इतिहासमा नमेटिने सुनौला गाथा फलायौ
सायद इतिहासको बजारमा
तिम्रो चर्चाको धान जति अरु कसैको बिकेन
हो , म पनि 
मभित्रको भानुलाई जगाउन चाहन्थें
सिर्जनाको बागमा सेवाको सुन्दर फूल फुलाउन चाहन्थें
तर 
दुर्भाग्य त यो छ कि
यहाँ अचेल कुटिल रुप बिक्छ
यौवनताको धूप बिक्छ
झूटो विश्वास बिक्छ
नाटक अनि जालझेल बिक्छ
तर चोखो मन कहीँ कसैको नजरमा पर्दैन 
न त मन भित्रका निश्चल भावना देखा पर्छन
आँसुहरुको त कुनै मूल्य नै हुँदैन 
यहाँ दृष्टिहरु नै खुनी भएपछि
अब तिमी नै भन भानू
म कुन पवित्रताको रामायण लेखूँ ?
रामहरुले नै रावणलाई 
बदनियतको माथ खुवाएपछि
अब कुन सच्चरित्रताको भजन गाऊँ ??
यहाँ लाचार सीताहरु
उत्पीडनको सिस्नोले पोलिएर
खारानी हुँदै
तिरस्कारको आँसु पिउँदै
चरम उपेक्षाको अग्निपरीक्षा सहन नसकी 
इजरायल र कुवेततिर भासिएपछि
त्यो कालो धनका लागि
त्यो पापी भोक अनि 
कलिला रहरहरुको मिठो सपनाका लागि
तिमी नै भन भानु
म कुन स्वाभिमानको गाथा रचूँ ?
प्रत्येक दिन कति विवश रामहरु
समस्यारुपि कैकेयीको जालझेलमा परेर
स्वघोषित वनवासतिर प्रस्थान गर्छन्
जहाँ निर्दोष भावनाको कौडी जत्ति मूल्य हुँदैन 
यस्तोमा म कुन स्वदेशप्रेमको गीत गाऊँ ??
भन, तिमी नै भन, भानु 
म तिम्रो  जन्म जयन्ती गीत कसरी गाउं ???
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप