बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘यावत् जीवेत सुखम् जीवेत् ऋणम् कृत्वा घृतम पीवेत्’ भन्ने चिन्तनले भष्ट्राचार बढायोः  प्रधानमन्त्री ओली

शुक्रबार, २९ असार २०७५, १७ : ५३
शुक्रबार, २९ असार २०७५

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कला, साहित्य र संस्कृतिको संरक्षणका लागि आफु भरपर्दो रुपमा लागिपर्ने बताएका छन् । काठमाडौंमा शुक्रबारदेखि शुरु भएको ३ दिने हिमवत खण्ड कला साहित्य सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देशमा कला साहित्य संस्कृतिको विकासका लागि आफ्नो बलियो भरपर्दो सहयोग हुने उल्लेख गरे ।

मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको सो साहित्य सम्मेलनमा बोल्दै उनले हिमवत खण्डको हाम्रो सभ्यता संस्कृति, सांस्कृतिक सम्पन्नता वा ऐतिहासिक गौरब अन्त कतै नभएको उल्लेख गरे । उनले आधा विश्वमा अँध्यारो छाइरहेका बेला हिमवत् खण्डमा ज्ञानको ज्योती बलिरहेको भन्दै ज्ञान, विज्ञान, गणित दर्शनका क्षेत्रमा विश्वका अन्य भूभागको तुलनामा यो क्षेत्र अगाडि रहेको उल्लेख गरे । 

प्रधानमन्त्री ओलीले हामी ऋषिमुनी तथा ज्ञानीहरुको सन्तान भएको बताउँदै उनीहरुको चिन्तनको सही सदुपयोग हुन नसकेको बताए । उनले भने– ‘हामीले उनीहरुको ज्ञानको चिन्तनको पेटेन्ट राइट पनि लिन सकेनौँ । जतिबेला आधा विश्व अँध्यारोमा थियो, यहाँ ज्ञानको ज्योती बलिरहेको थियो, बाँकी दुनियाँ अँध्यारो हुँदा यहाँ दर्शनका बारेमा ज्ञानका बारेमा, सृष्टीका बारे, जीवनका बारे,ज्ञानका विभिन्न क्षेत्रहरुका बारे, गणित, खगोलका बारे हाम्रा पुर्खाहरुले आविष्कार गरेका थिए । यथार्थ दर्शन, जनदर्शन हाम्रा पुर्खाहरुले सिर्जना गरेका हुन् ।’

पूर्वीय चिन्तकका भनाईको मर्मलाई केही पाखण्ड निस्किएर अर्कैै गराएको पनि उनले चर्चा गरे । पूर्वीय दार्शनिक चार्वकको खरानी बन्ने देह जहाँबाट आएको हो त्यही जान्छ भन्ने चिन्तन भौतिकवादी भएको बताउँदै उनले चार्वककै अर्को भनाईको पनि स्मरण गरे । ‘यावत् जीवेत सुखम् जीवेत् ऋणम् कृत्वा घृतम पीवेत्’ अर्थात मरेर जानु केही छैन, ऋण गर्दै घिउ खाँदै गर, मोजमस्ती गर, बाँचुञ्जेल पाकपुक गरेर जसरी नै खाउ भन्दै त्यसको अपब्याख्या गरेर भष्ट्राचार बढेको उनले बताए । उनले पूर्वीय दर्शनमा औषधी विज्ञान र विभिन्न उपचार पद्धति सुरु भएको उल्लेख गर्दैैै पुराना मूल्य मान्यताको जर्गेना गर्नुपर्नेमा जोड दिए । 

उनले जिडिपी र व्यक्तिको आयस्तर बृद्धि सरकारको लक्ष्य रहेको त्यहीअनुसार अघि बढेको बताए । प्रधानमन्त्री ओलीले भने– ‘निरपेक्ष गरिबीको रेखामुनी मानवजाती हुन हुँदैन, खाना नपाउने मानव जाती हुनुहुँदैन, माटो छ ढुङ्गा छ, बाँस छ, काठ छ, फलाम छ सबैचिज छ धर्तीमा तर घर छैन । जैविक र न्यूनतम मानवीय आवश्यकता पहिलो कुरा हो । यसको न्यायोचित व्यवस्था पहिलो कुरा हो ।’

सैद्धान्तिक अधिकारको मात्र कुरा गरेर नहुने भन्दै उनले मानवीय र जैविक आवश्यकता पूरा गर्दै अवसरहरुको सिर्जना गर्नुपर्ने उल्लेख गरे ।  एक छाक समेत खान नसक्ने अवस्थामा राखेर अधिकार मात्र दिई गरिबीमा राख्न नहुने बताए । अबको राज्य आंशिक लोकतन्त्रको मात्र हुन सक्दैन, समाजिक न्याय र समानता सहितको लोकतन्त्र चाहिने बताए । गरिबलाई उकास्न धनीको खोसेर गरिबलाई दिने भनिएको हैन, गरिबलाई पनि धनि बन्ने बाटो खुला गर्ने अवसरहरुको सिर्जना गर्ने उनले बताए । 

सामाजिक विभेद, असमानता हटाउनु मुख्य उद्धेश्य भएको बताउँदै उनले विभेद हटाउन सकिने भएपनि असमानता हटाउन कठिन रहेको उल्लेख गरे । अहिलेको सरकारले न्याय र समानता सहितको लोकतन्त्र स्थापना गर्न खोजेको उनले उल्लेख गरे । 

विश्वमा जहाँ विविधता देखिन्छ, जहाँ भिन्नता देखिन्छ, त्यस ठाँउलाई रातारात उछालेर त्यहाँ घृणा पैदा गरिदिने विद्धेष पैदा गरेर त्यसलाई द्धन्द्धमा परिणत गरिदिने र त्यो द्धन्द्ध फैलिइसकेपछि त्यहाँ शान्तिका नाममा पेट्रोल खन्याउँदै जाने र त्यसपछि द्धन्द्ध व्यवस्थापनको बिजनेस गर्ने प्रयासहरु थालनी भइरहेका छन् । 

उनले नेपालको विविधता, नेपालको संस्कृति हाम्रो समृद्धि भएको भन्दै यसमा सहिष्णुता रहेको उल्लेख गरे । यसलाई एउटै मेल्टिङमा पटमा राखेर नभई आफ्ना आफ्नै ठाँउमा तिनको समृद्धि र विकास गरिने बताउँदै उनले नेपालभित्र यसको प्रयास थालिने बताए । 

३१ अगष्टमा बिमेस्टेक बैठक गर्न लागेको बताउँदै उनले यस्ता संगठनहरुले क्षेत्रीय स्तरमा गरिबी कसरी नियन्त्रण गर्न सकिन्छ, संयुक्त राष्ट्रसंघले राखेका उद्धेश्यहरुलाई कसरी पूरा गर्न सकिन्छ, यी कुरा कठिन भएपनि नेपालले हस्ताक्षर गर्ने राष्ट्रको तर्फबाट प्रतिबद्धता जनाएको उल्लेख गरे ।

उनले विभिन्न देशबाट आएका साहित्यकाहरुलाई कला साहित्य संरक्षणका लागि सहकार्य गरेर अघि बढ्न पनि आग्रह गरे ।  ३ दिने सम्मेलनका लागि नेपाल,भारत,चीन,बंगलादेश,म्यानमार,थाइल्याण्ड, अमेरिका,बेलायत लगायत १३ देशका ४३ प्रतिनिधि नेपाल आएका छन् ।

भानुभक्त आचार्यको २ सय ५ औं जन्मोत्सवका अवसरमा आयोजना गरिएको हिमवत खण्ड साहित्य सम्मेलनमा भोली रुसी सांस्कृतिक केन्द्रमा बहुभाषिक कवि गोष्ठी र हास्यव्यङ्ग्य साँझ र असार ३१ गते आइतबार चन्द्रागिरीमा कवितावाचन कार्यक्रम राखिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप