शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

झापामा २१ झोलुङ्गे पुल निर्माण

शुक्रबार, २९ असार २०७५, १४ : ०४
शुक्रबार, २९ असार २०७५

–सुरेन्द्र भण्डारी 
सुरुङ्गा– झापामा पछिल्लो पाँच वर्षमा २१ वटा झोलुङ्गे पुल निर्माण भएका छन् ।  ग्रामीण क्षेत्रका सर्वसाधारणको सामाजिक तथा आर्थिक स्रोेत एवं अवसरहरुमा पहुँच बढाउँदै गरिबी निवारणमा टेवा पुर्याउने उद्देश्यले झापाका विभिन्न खोलामा झोलुङ्गे पुल बनाइएको जिल्ला प्राविधिक कार्यालय झापाका प्रमुख इञ्जिनियर सुशील श्रेष्ठले बताए । 

सात करोड ७७ लाख ९२ हजार २ सय ७३ रुपैयाँको लागतमा निर्माण गरिएको झोलुङ्गे पुलका कारण तीस हजार जनसंख्या प्रत्यक्ष लाभान्वित भएको प्रमुख इञ्जिनियर श्रेष्ठले बताए ।  नेपाल सरकारको क्षेत्रगत कार्यक्रम स्वाप अन्तर्गतको केन्द्रीय अनुदान ९२ प्रतिशत, तत्कालीन जिल्ला विकास समितिको ३ प्रतिशत, गाविसको ३ प्रतिशत र उपभोक्ताको २ प्रतिशत गरी शतप्रतिशत लागतमा झोलुङ्गे पुल निर्माण भएको सहारा नेपालका सामुदायिक झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमका निर्देशक लीलाप्रसाद नेपालले बताए । 

कहाँ–कहाँ बने ? 

आर्थिक वर्ष २०७०/७१ मा हल्दिबारी–१ गोल्धाप र बाह्रदशी–५ चकचकीमा अधेरे खोलामा फोक्लेण्ड टापू ट्रष्ट ब्रीज निर्माण भएको छ । कुल ३२ मिटर लम्बाइको सो झोलुङ्गे पुल निर्माणसँगै ८३ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् जसको लागत रु १७ लाख १६ हजार रहेको छ ।

 एक सय ९० घरधुरी लाभान्वित हुने गरी अन्धुवा खोलामा सतानुबाडी ट्रष्ट ब्रीज निर्माण भएको छ । कुल मिटर लम्बाइको यो पुल रु १२ लाख ७१ हजारमा निर्माण सम्पन्न भएको हो । बिर्तामोड–१० र गरामनी–१० जोड्ने धरधरे खोलामा १६ मिटर लम्बाइको धरधरे ट्रष्ट ब्रीज निर्माण भएको छ जसका कारण १३५ परिवार प्रत्यक्ष लाभान्वित भएका छन् । यो पुल रु १० लाख १५ हजारको लागतमा निर्माण गरिएको हो ।

 त्यस्तै, मेचीनगरको धाइजनमा ढाक्रे खोलामा पनि बाँसबारी ट्रष्ट ब्रीज निर्माण भएको छ । कुल २८ मिटर लम्बाइको सो पुल बनाउन रु १५ लाख ६२ हजार खर्च लागेको बताइएको छ । यसबाट २६७ परिवार लाभान्वित भएका छन् । 

विसं २०७०/७१ मा निर्माण गरिएका झोलुङ्गे पुलबाट ६७५ घरपरिवार प्रत्यक्ष लाभान्वित बनेको र तीन हजार ३३८ जना लाभान्वित संख्या रहेको बताइएको छ । चारवटा पुल निर्माणमा रु ५५ लाख २९ हजार खर्च भएको सहारा नेपालका सामुदायिक झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमका निर्देशक नेपालले बताए ।

 आर्थिक वर्ष २०७१÷७२ मा चारवटा पुल निर्माण भएका छन् । पुल निर्माणसँगै ७९८ घरपरिवार प्रत्यक्ष लाभान्वित भएको बताइएको छ । कुल रु ७७ लाख ५७ हजारको लागतमा निर्माण गरिएको चारवटा पुलबाट तीन हजार ८५२ घरपरिवार लाभान्वित भएको बताइएको छ ।

वि.सं २०७१/७२ मा पथरी–८ र केचना–९ मा पर्ने अमलपुट्टा खोलामाथि २० मिटर लामो झोलुङ्गे पुल निर्माण गरिएको छ । कुल रु १२ लाख ४८ हजारको लागतमा निर्माण गरिएको सो पुलले २३७ घरपरिवार प्रत्यक्ष लाभान्वित भएको बताइन्छ । पुलको नाम आदर्श टोल ब्रीज ट्रष्ट राखिएको छ । बुधबारे–१ तामाखोलामा दामातार ट्रेल ब्रीज निर्माण गरिएको छ । कुल ७५ मिटर लामो सो पुलबाट २०१ घरपरिवार लाभान्वित भएका छन् जसको लागत २८ लाख १६ हजार दुई सय ९३ रुपैयाँ रहेको छ । 

सतासी खोलामा पनि मैनाचुली टे«ल ब्रीज निर्माण गरिएको छ । सतासीधाम–९ मा पर्ने सतासी खोलको पुलको लम्बाइ ४५ मिटर रहेको छ । पुल निर्माणसँगै त्यस क्षेत्रका १४७ परिवार लाभान्वित भएका छन् । पुल निर्माणका लागि रु १९ लाख ५९ हजार खर्च भएको छ ।

 यता, तोपगाछी–९ र तोपगाछी–२ जोड्ने ढ्यांग्री खोलमा २८ मिटर लामो झोलुङ्गे पुल बनाइएको छ । कुल रु १७ लाख ३३ हजारको लागतमा निर्माण गरिएको ढ्यांग्री ट्रष्ट ब्रीजबाट २१३ घरपरिवार प्रत्यक्ष लाभान्वित भएका छन् । 

वि.सं २०७२/७३ मा पनि चार वटा झोलुङ्ग पुल निर्माण भएका छन् । ज्यामिरगढी–४ र दुहागढी–८ मा ११७.४ मिटर लामो धगेरे भंगोला टे«ल ब्रिज निर्माण भएको छ । कुल रु ६५ लाख १८ हजारको लागतमा निर्माण भएको झोलुङ्गे पुलबाट ५५० परिवार लाभान्वित भएका छन् ।

 जलथल–३ को काजली खोलामा समेत पुल निर्माण भएको छ । कुल १०७ मिटर लामो पुलका कारण १५० परिवार लाभान्वित भएका छन् । रु ५७ लाख ९३ हजारको लागतमा सो पुल निर्माण भएको हो जसको नाम चौकीविरान टे«ल ब्रीज राखिएको छ । 

देउनीया खोलामा पनि मसानघाट ट्रेल ब्रीज निर्माण भएको छ । भद्रपुर–१४ र गरामनी–२ जोड्ने १०६ मिटर लामो पुलका कारण एक सय ९६ परिवार लाभान्वित भएका छन् । यसको लागत रु ४८ लाख ३२ हजार रहेको छ । 

यता अर्जुनधारा नगरपालिकाको रेखा खोलामा पनि सुखानी टे«ल ब्रीज निर्माण भएको छ । कुल रु ४२ लाख ९१ हजारको लागतमा सुखानी टे«ल ब्रीज निर्माण भएको हो । वि.सं २०७३/७४ मा घाग्राखोलमा सिमलचोक  ट्रेल  ब्रीज निर्माण भएको छ । डाँगीबारी–७ मा पर्ने घाग्राखोलमा निर्माण गरिएको पुलको लम्बाइ ६९।४ मिटर रहेको छ । कुल रु ४० लाख ३१ हजारमा निर्माण गरिएको पुलबाट त्यस क्षेत्रका पाँच सय १५ घरपरिवार प्रत्यक्ष लाभान्वित तथ्याँक छ । 

वि.सं २०७४/७५ मा झापाका आठ स्थानमा झोलुङ्गे पुल निर्माण गरिएको छ । कुल रु चार करोड ३८ लाखको लागतमा निर्माण भएका ती झोलुङ्गे पुलबाट तीन हजार ५२० घरपरिवार प्रत्यक्ष लाभान्वित भएका छन् । झापा गाउँपालिका–१ को सानोमाईसहित हल्दिबारी–१ र बाह्रदशी–५ को अन्धुवा खोला सापडिग्री खोलामा ९६ मिटर लामो मुक्तिघाट मल्टीट्रष्ट ब्रीज निर्माण गरिएको छ । यसको लागत रु ९७ लाख ६९ हजार रहेको छ । सो पुलका कारण एक हजार १२० परिवार प्रत्यक्ष लाभान्वित हुने भएका छन् । 

गौरीगञ्ज गाउँपालिकाको महाभारा र बैगुन्धुरा जोड्ने कमल खोलामा पनि चाँदनी–कुञ्जीबारी ट्रष्ट ब्रीज निर्माण भएको छ । कुल ३२ मिटर लामो ट्रष्ट ब्रीज निर्माणका लागि रु ३७ लाख ४१ हजार खर्च भएको बताइएको छ । सो पुलका कारण चार सय ६० परिवार लाभान्वित भएका छन् । 

कमल गाउँपालिकाको तोपगाछीको भुत्लुङ्ग खोलामा ३२ फिट लामो ज्योति भुत्लुङ्ग ट्रष्ट ब्रीज निर्माण भएको छ । कुल रु २८ लाख १३ हजारको लागतमा निर्माण गरिएको पुलका कारण ३०० परिवार लाभान्वित हुने बताइएको छ ।

 अर्जुनधारा–२ को गोयाङ खोलामा ८८ मिटर लामो राते–गाँजाबारी झोलुङ्गे पुल निर्माण गरिएको छ । कुल रु ७७ लाख ५३ हजारको लागतमा निर्माण गरिएको झोलुङ्गे पुलले ३५० परिवार लाभान्वित हुने बताइएको छ । 

निन्दा खोलामा पनि मिनी माउन्टेन झोलुङ्गे पुल निर्माण भएको छ । कुल ८३ मिटर लामो झोलुङ्गे पुलले मनेपा बाहुनडाँगी र जिर्मले इलामलाई जोड्ने बताइएको छ जसको लागत रु ६७ लाख ५१ रहेको छ । यसबाट ४८० परिवार प्रत्यक्ष लाभान्वित हुने भएका छन् । 

हल्दिबारी–१ गोल्धापमा ॐकारेश्वर झोलुङ्गे पुल निर्माण भएको छ । कुल ३२ मिटर लामो झोलुङ्गे पुलका कारण ५३० परिवार प्रत्यक्ष लाभान्वित भएका छन् । यसका लागि रु ४४ लाख ६० हजार खर्च भएको बताइएको छ । 

त्यस्तै, सतासीधामको धरमपुरमा लेलिया खोलामा २० मिटर लामो प्रगति टोल ट्रष्ट ब्रीज निर्माण भएको छ जसका कारण २८० परिवार लाभान्वित भएका छन् । कुल रु २६ लाख १० हजारको लागतमा सो ट्रष्ट ब्रीज निर्माण भएको सहारा नेपालका सामुदायिक झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमका निर्देशक नेपालले बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप