शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

डुर्टेटे पथमा श्रीलंका : ४२ वर्षपछि लागुऔषध कारोबारीलाई मृत्युदण्ड

शुक्रबार, २९ असार २०७५, १३ : ३४
शुक्रबार, २९ असार २०७५

एजेन्सी । श्रीलङ्काले मृत्युदण्ड सजाय पुनर्स्थापना गर्दैछ । यो सजाय विशेष गरेर कैद भोगिरहेका तर जेल भित्रैबाट लागुऔषधको कारोबार सञ्चालन गर्नेहरुको लागि पुनर्स्थापना गर्ने भएको हो ।

श्रीलङ्काली सरकारले लागुऔषधविरुद्धको अभियानमा फिलिपिन्सको राष्ट्रपति रोद्रिगो दुतेर्तेले चालिरहेको हिंस्रक अभियानलाई पनि प्रेरणा मान्ने भएको छ ।

“अबका दिनमा हामी लागुऔषध कारोबारीहरुलाई तिनले पाएको मृत्युदण्डबाट उन्मुक्ति दिदैनौँ,” बुधबार सरकारका प्रवक्ता रजिथा सेनारत्नेले घोषणा गरे ।

मृत्युदण्डको सजायलाई सरकारले पहिलेदेखि कार्यन्वयन गर्न खोजिरहेको भए पनि यसलाई कार्यान्वयनमा लानको लागि राष्ट्रपतिको हस्ताक्षर चाहिने कानूनी व्यवस्था छ । अब आएर वर्तमान राष्ट्रपति मैथ्रीपाला श्रीसेना मृत्युदण्डको घोषणामा हस्ताक्षर गर्न तयार भएको सरकारका प्रवक्ताले बताए ।

श्रीलङ्कामा यस अघि सन् १९७६ मा अन्तिम पटक मृत्युदण्ड दिइएको थियो । त्यसपछि पनि मृत्युदण्ड दिइएका छन् तर ती सबै मृत्युदण्डका सजायहरुलाई जन्म–कैदमा बदलियो । 

यस अघिका राष्ट्रपतिहरुले मृत्युदण्डको वारेन्टमा हस्ताक्षेर गर्न अस्वीकार गरे पछि मृत्युदण्ड कार्यन्वयन हुन सकेको थिएन ।

सेनारत्नेका अनुसार हाल श्रीलङ्काको जेलमा १९ जना यस्ता ठूला लागुऔषधका कारोबारीहरु छन् जसले पहिले मृत्युदण्ड सजाय पाएका थिए र पछि उनीहरुको सजायलाई जन्मकैदमा बदलिएको छ । उनका अनुसार यी मध्य केहीले जेल भित्रैबाट लागुऔषध व्यापार सञ्चालन गरिरहेका छन् ।

यो हप्ताको शुरुमा एक जना कैद सजाय भोगिरहेका लागुऔषध व्यापारीले देशमा सय किलो हिरोइन तस्करी गरेको भेटिएको थियो ।

सरकारका प्रवक्ता सेनारत्नेले फिलिपिन्सको राष्ट्रपति रोद्रिगो दुतेत्रेले सञ्चालन गरेको सम्झौताविहीन संघर्ष श्रीलङ्काको लागि उदाहरण हुने बताए । 

“हामीलाई बताइए अनुसार फिलिपिन्सले लागुऔषध कारोबार नियन्त्रण गर्न सेना परिचालन गर्न सफल भयो । र उनीहरु यो समस्या समाधानतर्फ अघि बढीरहेका छन् । हामीहरु उनीहरुको सफलता अनुसरण गर्न प्रयास गर्न खोज्छौँ,” सेनारत्नेले एएफपीसँगको कुरामा भने ।

सन् २०१६ जुलाईदेखि शुरु भएको लागुऔषध कारोबारीहरु विरुद्धको अभियानमा फिलिपिन्समा ४२०० जना मारिसकेको सरकारी अधिकारीहरुले स्वीकारेका छन् । आलोचकहरुले भने यी हत्याहरु गैरन्यायिक भएको र मृतकको सङ्ख्या सरकारले भनेको भन्दा तीन गुणासम्म भएको बताएका छन् ।

एम्नेष्टि इन्टरनेशनलले श्रीलङ्का गलत बाटोतर्फ अघि बढेको प्रतिक्रिया दिएको छ । 

लागुऔषध विरुद्धको कारबाहीमा फिलिपिन्सलाई आदर्श मान्ने श्रीलङ्का एक्लो भने होइन । केही महिना अघिबाट फिलिपिन्सलाई नै प्रेरणा मानेर बङ्गलादेशले पनि लागुऔषध कारोबारीहरु विरुद्ध सेना परिचालन गरेको छ । कारबाहीमा छोटो समयमै दजनौं मानिसहरु मारिइसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप