बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सीटीईभीटीले बाँड्दैछ ५० करोडको छात्रवृत्ति, कसकसले पाउँछन् फाराम भर्न ?

शुक्रबार, २९ असार २०७५, ११ : ५२
शुक्रबार, २९ असार २०७५

काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले शैक्षिक वर्ष २०७५–२०७८ का लागि प्रमाणपत्र तहमा करिब ५० करोडको छात्रवृत्ति प्रदान गर्ने भएको छ । 

प्राविधिक शिक्षाको माध्यमबाट देशलाई आवश्यक मध्यम स्तरको प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले २०४५ सालमा स्थापना भएको सीटीईभीटीले शैक्षिक वर्ष २०७५/७६ मा भर्ना हुने विद्यार्थीलाई ३ वर्षका लागि ५० करोडभन्दा बढीको छात्रवृत्ति प्रदान गर्न लागेको हो । सीटीईभीटीले प्रमाण पत्र अर्थात् डिप्लोमा तहमा अध्ययन गर्न चाहने १ हजार ४ सय ५५ जना विद्यार्थीलाई छात्रवृत्तिमा अध्यापन गराउन लागेको हो । 

सीटीईभीटीका सदस्यसचिव पुष्परमण वाग्लेका अनुसार नर्सिङ, एचए, फार्मेसी, ल्याब असिस्टेन्ट, रेडियोग्राफी, कृषि, इन्जिनियरिङ, फरेस्ट्री आदि विषयमा छात्रवृत्तिका लागि आह्वान गरिएको छ । 

यस वर्षदेखि सीटीईभीटीले प्रदेशअनुसार नै कोटा छुट्याएर छात्रवृत्तिका लागि फारम वितरण गरिरहेको छ । सबैभन्दा बढी प्रदेश ३ मा ५ सय ८३ जनाले वर्गीकृत छात्रवृत्ति पाउँछन् भने सबैभन्दा कम प्रदेश नम्बर ६ मा २८ जनाले डिप्लोमा तहमा पढ्न छात्रवृत्ति पाउनेछन् । सम्बन्धित प्रदेशमा भएको कलेजको सङ्ख्याका आधारमा यो छात्रवृत्तिको कोटा निर्धारण गरिएको सदस्यसचिव वाग्लेले बताए । 

कुन विषयमा कति छन् छात्रवृत्ति ?

१. हेल्थ साइन्सतर्फ

क. नर्सिङ
सीटीईभीटीले यस वर्ष सबैभन्दा बढी प्रमाणपत्र तह नर्सिङ विषयमा छात्रवृत्ति प्रदान गर्दैछ । नर्सिङतर्फ यस वर्षको छात्रवृत्तिको सङ्ख्या २ सय ८२ जना रहेका छन् । नर्सिङतर्फ प्रदेश नम्बर १ मा २६ जना, प्रदेश नम्बर २ मा ४१ जना, प्रदेश नम्बर ३ मा १ सय २५ जना, प्रदेश नम्बर ४ मा १८ जना, प्रदेश नम्बर ५ मा ५६ जना, प्रदेश नम्बर ६ मा ३ जना र प्रदेश नम्बर ७ मा १३ जना रहेका छन् । प्रदेश नम्बर ३ मा नर्सिङ पढाउने कलेजको सङ्ख्या धेरै भएकाले धेरै र प्रदेश नम्बर ६ मा नर्सिङ पढाउने कलेजको सङ्ख्या एउटामात्रै भएकाले ३ जनाले मात्रै छात्रवृत्ति पाउने भएका हुन् । 

ख. सामान्य चिकित्सा (एचए)
नर्सिङपछि धेरै छात्रवृत्ति पाइने विषय सामान्य चिकित्सा अर्थात् एचए हो । हेल्थपोस्ट इन्चार्जसमेत भनिने एचए पढ्नका लागि सीटीईभीटीले यस वर्ष १ सय ९२ जनालाई छात्रवृत्ति दिँदै छ । सीटीईभीटीले प्रदेश नम्बर १ मा ३० जना, प्रदेश नम्बर २ मा ३९ जना, प्रदेश नम्बर ३ मा ७२ जना, प्रदेश नम्बर ४ मा ६ जना, प्रदेश नम्बर ५ मा ३० जना, प्रदेश नम्बर ६ मा ३ जना र प्रदेश नम्बर ७ मा १२ जनालाई  छात्रवृत्ति दिन लागेको हो ।

ग. मेडिकल ल्याब टेक्नोलोजी
सीटीईभीटीले यस वर्ष मेडिकल ल्याब टेक्नोलोजी पढ्न चाहने १ सय १८ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै छ । परिषद्ले प्रदेश नम्बर १ मा १० जना, प्रदेश नम्बर २ मा १६ जना, प्रदेश नम्बर ३ मा ५६ जना, प्रदेश नम्बर ४ मा ६ जना, प्रदेश नम्बर ५ मा २४ जना र प्रदेश नम्बर ७ मा ६ जनालाई  छात्रवृत्ति दिन लागेको हो । मेडिकल ल्याब टेक्नोलोजी पढाउने कलेज ६ नम्बर प्रदेशमा नभएकाले त्यहाँ भने छात्रवृत्तिको व्यवस्था गरिएको छैन ।

घ. फार्मेसी
डिप्लोमा इन फार्मेसी तहमा यस वर्ष सीटीईभीटीले १ सय १७ जनालाई छात्रवृत्ति दिन लागेको छ । विभिन्न ७ प्रदेशमा दिइने यो छात्रवृत्तिमध्ये प्रदेश नम्बर १ मा १५ जना, प्रदेश नम्बर २ मा ९ जना, प्रदेश नम्बर ३ मा ६६ जना, प्रदेश नम्बर ४ मा ६ जना, प्रदेश नम्बर १५ मा २४ जना र प्रदेश नम्बर ७ मा ६ जनालाई  छात्रवृत्ति दिन लागेको हो । प्रदेश नम्बर ६ मा फार्मेसी पढाउने कलेज नभएकाले त्यहाँ भने छात्रवृत्तिको व्यवस्था गरिएको छैन ।

हेल्थ साइन्सको अन्य विषयहरूमा पनि सीटीईभीटीले छात्रवृत्ति प्रदान गर्नेछ । अन्य विषयहरूमध्ये डेन्टल साइन्समा ३० जना, डायग्नोस्टिक रेडियोग्राफीमा ४८ जना, आयुर्वेदिक चिकित्सामा ६ जना, अप्थाल्मिक साइन्समा २१ जना, अकुपञ्चरमा ३ जना र फिजियोथेरापीमा २ जनालाई छात्रवृत्ति प्रदान गर्ने सीटीईभीटीका सदस्यसचिव वाग्लेले बताएका छन् । 

२. इन्जिनियरिङतर्फ
इन्जिनियरिङतर्फ पनि सीटीईभीटीले यस वर्ष ४ सय ३० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नेछ । विभिन्न प्रदेशहरूमा गरी सीटीईभीटीले वर्गीकृत छात्रवृत्ति अन्तर्गत सित्तँैमा ४ सय ३० विद्यार्थीलाई सित्तैँमा पढाउन लागेको हो । 

क. सिभिल इन्जिनियरिङ 
इन्जिनियरिङतर्फ सीटीईभीटीले सबैभन्दा बढी सिभिल इन्जिनियरिङमा छात्रवृत्ति प्रदान गर्न लागेको हो । जुनियर इन्जिनियरसमेत भनेर यो अध्ययनमा सीटीईभीटीले यस वर्ष २ सय १६ जनालाई छात्रवृत्ति प्रदान गर्दैछ । सिभिल इन्जिनियरिङतर्फ प्रदेश नम्बर १ मा ३२ जना, प्रदेश नम्बर २ मा २४ जना, प्रदेश नम्बर ३ मा ७२ जना, प्रदेश नम्बर ४ मा १२ जना, प्रदेश नम्बर ५ मा ५६ जना, प्रदेश नम्बर ६ मा ४ जना र प्रदेश नम्बर ७ मा १६ जनालाई  छात्रवृत्ति प्रदान गर्न लागिएको छ ।

ख. कम्प्युटर इन्जिनियरिङ 
इन्जिनियरिङतर्फ धेरै छात्रवृत्ति भएको अर्को विषय हो, डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ । कम्प्युटर इन्जिनियरिङतर्फ सीटीईभीटीले यस वर्ष विभिन्न प्रदेशमा गरी ९९ जनालाई छात्रवृत्ति प्रदान गर्न लागेको छ । यस विषयमा अध्यनका लागि सीटीईभीटीले यस वर्ष प्रदेश नम्बर १ मा २० जना, प्रदेश नम्बर २ मा १६ जना, प्रदेश नम्बर ३ मा २४ जना, प्रदेश नम्बर ४ मा ११ जना, प्रदेश नम्बर ५ मा २४ जना र प्रदेश नम्बर ७ मा ४ जनालाई यो छात्रवृत्ति प्रदान हुनेछ । कम्प्युटर इन्जिनियरिङतर्फको अध्यापन प्रदेश नम्बर ६ मा नभएकाले यो प्रदेशमा छात्रवृत्ति हुने छैन ।  

ग. इलेक्ट्रिकल इन्जिनियरिङ 
इन्जिनियरिङतर्फ धेरै चाख भएको विषय इलेक्ट्रिकल इन्जिनियरिङतर्फ पनि सीटीईभीटीले ६० जनालाई छात्रवृत्तिमा पढाउँदैछ । सीटीईभीटीले इलेक्ट्रिकल इन्जिनियरिङका लागि प्रदेश नम्बर १ मा ४ जना, प्रदेश नम्बर २ मा १६ जना, प्रदेश नम्बर ३ मा २४ जना, प्रदेश नम्बर ४ मा ४ जना, प्रदेश नम्बर ५ मा ८ जना र प्रदेश नम्बर ७ मा ४ जनालाई यो छात्रवृत्ति प्रदान गर्दैछ । प्रदेश नम्बर ६ मा इलेक्ट्रिकल इन्जिनियरिङ विषय अध्यापन गराउने कलेज नभएकाले त्यहाँ यो विषयमा छात्रवृत्ति पाइने छैन ।

घ. मेकानिकल इन्जिनियरिङ
मेकानिकल इन्जिनियरिङतर्फ सीटीईभीटीले विभिन्न प्रदेशमा गरी १६ जनालाई छात्रवृत्ति प्रदान गर्दै छ । यस विषय अध्ययनका लागि सीटीईभीटीले प्रदेश नम्बर १ मा ४ जना, प्रदेश नम्बर २ मा ४ जना, प्रदेश नम्बर ३ मा ४ जना र प्रदेश नम्बर ५ मा ४ जनालाई यो छात्रवृत्ति प्रदान गर्नेछ । प्रदेश नम्बर ४, ६ र ७ मा यस विषय अध्यापन गराउने कलेज नभएकाले त्यहाँ छात्रवृत्ति पाउन सकिने छैन । 

इन्जिनियरिङतर्फ अन्य विषयहरू इलेक्ट्रोनिक्स इन्जिनियरिङमा १६ जना, आर्किटेक्चर इन्जिनियरिङमा ८ जना, जिओमेटिक्स इन्जिनियरिङमा ७ जना, अटोमोबाइल इन्जिनियरिङमा ४ जना, इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङमा ४ जना र रेफ एन्ड एअर कन्डिसनिङ इन्जिनियरिङमा ४ जनाले छात्रवृत्ति पाउने छन् ।

३. कृषि तथा बाली विज्ञानतर्फ

विद्यार्थीहरूको धेरै रुचि भएको कृषि तथा बाली विज्ञानतर्फ पनि सीटीईभीटीले १ सय ७७ जनालाई छात्रवृत्ति प्रदान गर्दैछ । सीटीईभीटीले ७ वटै प्रदेशमा वर्गीकृत छात्रवृत्तिका रूपमा १ सय ७७ जना विद्यार्थीलाई यो छात्रवृत्ति प्रदान गर्न लागेको हो । 

क. बाली विज्ञान

डिप्लोमा इन एग्रिकल्चरअन्तर्गत बाली विज्ञान अध्ययनका लागि सीटीईभीटीले यस वर्ष १ सय २९ जनालाई छात्रवृत्ति प्रदान गर्न लागेको छ । सीटीईभीटीले प्रदेश नम्बर १ मा १८ जना, प्रदेश नम्बर २ मा १२ जना, प्रदेश नम्बर ३ मा २१ जना, प्रदेश नम्बर ४ मा १२ जना, प्रदेश नम्बर ५ मा २१ जना, प्रदेश नम्बर ६ मा १५ जना र प्रदेश नम्बर ७ मा ३० जनालाई बाली विज्ञान विषय अध्ययनका लागि छात्रवृत्ति दिन लागेको हो । 

ख. पशु विज्ञान

डिप्लोमा इन एग्रिकल्चर अन्तर्गतकै अर्को विषय पशु विज्ञान अध्ययनका लागि पनि सीटीईभीटीले यस वर्ष ४८ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दैछ । यसका लागि सीटीईभीटीले प्रदेश नम्बर १ मा ६ जना, प्रदेश नम्बर २ मा ३ जना, प्रदेश नम्बर ३ मा १५ जना, प्रदेश नम्बर ४ मा ६ जना, प्रदेश नम्बर ५ मा ९ जना, प्रदेश नम्बर ६ मा ३ जना र प्रदेश नम्बर ७ मा ६ जनालाई छात्रवृत्ति दिने घोषणा गरेको छ । 

त्यसैगरी सीटीईभीटीले अध्यापन गराइरहेका अन्य विषयहरू फुड एन्ड डेरी टेक्नोलोजीमा ७ जना, फरेस्ट्रीमा ९ जना, होटल म्यानेज्मेन्टमा ३ जना, सोसियल वर्कमा ३ जना र इन्टरप्रिनरसिप डेभलपमेन्टमा ३ जनालाई छात्रवृत्ति प्रदान गर्ने निर्णय भएको सदस्यसचिव पुष्परमण वाग्लेले बताएका छन् ।

छात्रवृत्ति कसरी वितरण गरिन्छ ?

सीटीईभीटीले प्रदान गर्ने यस छात्रवृत्ति प्राप्तिको पहिलो शर्त भनेको सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थी हुन् । सामुदायिक विद्यालयबाट एसईई उत्तीर्ण गरेका विद्यार्थीहरूले मात्रै यो छात्रवृत्ति कार्यक्रमका लागि सहभागी हुन सक्नेछन् । सामुदायिक विद्यालयबाट एसइई उत्तीर्ण गरेका विभिन्न वर्ग र समुदायका विद्यार्थीहरूले यो छात्रवृत्तिका लागि फारम भरी प्रवेश परीक्षा दिन पाउनेछन् । 

फारम कहाँ पाइन्छ ? कति लाग्छ ?

सीटीईभीटीले प्रदान गर्ने वर्गीकृत (साधारण र लक्षित वर्ग) छात्रवृत्ति प्राप्त गर्न पहिले फारम भरी प्रवेश परीक्षा दिनुपर्छ । त्यसपछि मेरिट लिस्ट (जसको धेरै प्राप्ताङ्क आउँछ त्यही व्यक्ति) का आधारमा विद्यार्थीहरूले छात्रवृत्तिमा अध्ययन गर्न पाउनेछन् । फारम सीटीईभीटीको आधिकारिक वेभसाइट तथा प्रदेश कार्यालयहरू, आङ्गिक तथा निजी शिक्षालयहरूबाट यो फारम वितरण गरिरहेको छ । आफूलाई पायक पर्ने स्थानमा वा पढ्न चाहेको शिक्षालयबाट फारम लिन सकिने छ । फारमका लागि १ हजार रुपियाँ शुल्क लाग्ने छ ?

म्याद साउन २ गतेसम्म मात्रै

छात्रवृत्तिमा अध्ययन गर्नका लागि फारम बुझाउने अन्तिम मिति २०७५ साल साउनको २ गतेसम्म मात्रै रहेको छ । यो मितिभित्र फारम बुझाउने विद्यार्थीहरूले मात्रै छात्रवृत्तिको प्रवेश परीक्षामा सहभागी हुन पाउनेछन् । छात्रवृत्तिका लागि प्रवेश परीक्षा भने साउन १२ गते बिहान ७ बजे हुनेछ ।

जुनसुकै प्रदेशबाट फारम भर्न सकिन्छ : सदस्यसचिव वाग्ले

सीटीईभीटीका सदस्यसचिव पुष्परमण वाग्लेका अनुसार सीटीईभीटीले प्रदान गर्ने छात्रवृत्तिका लागि जुनसुकै प्रदेशका विद्यार्थीले जुनसुकै प्रदेशमा गएर पनि फारम भर्न सक्नेछन् । जस्तो कि प्रदेश नम्बर ७ का विद्यार्थीले प्रदेश नम्बर ५ वा प्रदेश नम्बर १ मा आएर पनि फारम भर्न पाउनेछन् । तर एउटा प्रदेशमा फारम भरेको व्यक्तिले अर्को प्रदेशमा छात्रवृत्ति भने पाउने छैन । उदाहरणका लागि धेरै कोटा भएको आधारमा प्रदेश नम्बर ६ को विद्यार्थीले प्रदेश नम्बर ३ मा फारम भर्ने तर प्रदेश ३ मा मेरिटमा नाम नआए प्रदेश ६ को छात्रवृत्तिमा पढ्न पाउने छैन । तर फारम भरेको प्रदेशभित्र छात्रवृत्तिका लागि कोटा भएमा भने जुनसुकै जिल्ला वा शिक्षालयमा पनि छात्रवृत्तिको अवसर हुनेछ । 

कसकसले पाउँछन् छात्रवृत्ति ?

यस छात्रवृत्तिलाई साधारण र लक्षित गरी दुई भागमा विभाजन गरिएको छ । कुल कोटालाई ५० प्रतिशत साधारण र ५० प्रतिशत लक्षित वर्ग गरी छुट्याइएको छ । साधारणतर्फ नेपालका जुनसुकै सामुदायिक विद्यालयबाट एसइई वा टिएसएलसी पास गरेका विद्यार्थीले फारम भर्न पाउनेछन् भने लक्षिततर्फ कोटाका आधारमा मात्रै छात्रवृत्ति पाइने छ । लक्षिततर्फ महिला, आदिबासी, जनजाति, आर्थिक वा सामाजिक रूपमा विपन्न, दलित, पिछडिएको क्षेत्र, पूर्व कमैया÷हलिया र अपाङ्गले छात्रवृत्तिका लागि कोटामा लड्न पाउनेछन् ।

सीटीईभीटीले यस वर्ष डिप्लोमा तहको अध्ययनका लागि १ हजार ४ सय ५५ जनालाई छात्रवृत्ति प्रदान गर्न लागेको छ । नर्सिङदेखि इन्टरप्रिनरसिप डेभलेपमेन्टसम्मका यी विषय अध्ययनका लागि फरकफरक शुल्क लाग्छ । नर्सिङका लागि सीटीईभीटीले ४ लाख ७५ हजार तथा एचएका लागि ४ लाख ४ हजार लिने गरेको छ । त्यसैगरी फार्मेसीका लागि सीटीईभीटीले ३ लाख ३७ हजार ५ सय रुपियाँ शुल्क कायम गरेको छ । यो शुल्क ३ वर्षका लागि हो । सबै विषयको शुल्कमा औसतमा निकाल्ने हो भने प्रतिविषय ३ वर्षको करिब ३ लाख ३० हजार रहेको सीटीईभीटीले बताएको छ । यसरी औसत विषयको ३ लाख ३० हजार हुने र नर्सिङ तथा एच र फार्मेसीका विद्यार्थीले धेरै कोटा भएकाले १ हजार ४ सय ४४ विद्यार्थीले औसतमा ३ लाख ५० हजारको छात्रवृत्ति पाउनेछन् । यसको कुल छात्रवृत्ति हेर्दा ५० करोडभन्दा बढी शुल्कको हुन आउँछ । 

थप जानकारीको लागि सीटीईभीटीको यस सूचना हेर्नुहोस्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप