बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारी कार्यालयभित्रै छुवाछुत

शुक्रबार, २९ असार २०७५, ११ : १३
शुक्रबार, २९ असार २०७५

गुल्मी । स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरुबीच नै छुवाछुत र विभेद हुन्छ भने उनीहरुबाट दलित समुदायका विरामीले कस्तो सेवा पाउँलान ? गुल्मीको एक घट्नाले जो कसैलाई झस्काइदिएको छ ।

अस्लेवा स्वास्थ्य चौकी सत्यवती–१, अस्लेवामा कार्यरत रेखा घिमिरे बिश्वकर्मा समुदायकी  स्वास्थ्यकर्मी हुन् । उनलाई त्यही कार्यरत अर्की अनमी लक्ष्मी पाण्डेले छुवाछुतको व्यबहार गर्दै आईरहेकी छन् ।

अनमी घिमिरे भन्छिन् –‘६–७  जना स्टाफ छौं ।  अरु कसैले विभेद गर्नुहुन्न ।  लक्ष्मी म्याडमले मात्रै असाध्यै छुवाछुत र विभेद गर्नुहुन्छ ।  हामीसँगै उपचार गर्न पनि हिड्नुपर्छ । गाउँ–समाजमा जाँदा पनि मलाई उहाँले तल्ला जातकी हो भनेर भनि दिनुहुन्छ । सँगै कार्यालयमा काम गर्दा मैले छोएको चिया र पानी समेत खानुहुन्न । पेट दुखेको बाहना पार्नुहुन्छ  । सरकारी स्वास्थ्य संस्थामा नै यस्तो विभद हुन्छ भने सर्वसाधरणको अवस्था के होला ?’

यस सम्वन्धमा सत्यवती गाउँपालिका वडा नम्वर १ अस्लेवाका वडाध्यक्ष भीमप्रसाद पाण्डेको ध्यानकृष्ट गराउँदा उनले पनि अनमी घिमिरेवाट त्यस्तो गुनासो आएको बताए । उनले भने–‘ विभेद भएको सुनेपछि म गएर सम्झाएको छु, आगमी दिनमा त्यस्तो नगर्ने भएका छन् । ’

उक्त स्वास्थ्य चौकीका प्रमुख अहेव कृष्णप्रसाद पाण्डे र अनमी पाण्डे श्रीमान श्रीमति हुन् । उनीहरुको चौकी नजिकै पाण्डे मेडिकल क्लिनिक रहेको छ । स्वास्थ्य चौकी प्रमुख पाण्डेले भने – ‘विभेदका सम्वन्धमा वडाध्यक्षले आएर सम्झाउनुभएको छ तर, मलाई त्यस्तो लाग्दैन ।’

सरकारी कार्यालय मै छुवाछुत भएकोबारे जिल्ला जनस्वास्थ्य प्रमुख उत्तम कोइराला र प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालको समेत ध्यानकृष्ट गराइएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप