शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अवरुद्ध बेनी–जोमसोम सडक पुनः सञ्चालन

शुक्रबार, २९ असार २०७५, ०९ : ५१
शुक्रबार, २९ असार २०७५

बेनी, म्याग्दी - पहिराले अवरुद्ध मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक पुनः सञ्चालन भएको छ । 

अन्नपूर्ण गाउँपालिका–३ दाना, तितरमा मंगलबार राति सडकखण्डको माथिल्लो भागबाट खसेको पहिरो पन्छाइएपछि बिहीबार साँझदेखि सडक पुनःचलेकोशर्मा गजुरमुखीका प्रोजेक्टका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिए । उनका अनुसार सडक अवरुद्ध हुँदा बेनी हुँदै मुस्ताङ र मुस्ताङबाट फर्किने यात्रु अलपत्र परेका थिए । पहिरो पन्छाइएलगत्तै सीधा यातायात सञ्चालन भइरहेको छ । चीनको तिब्बत जोड्ने बेनी–जोमसोम–कोरला सडक आयोजना निर्माणको जिम्मा लिएको ठेकेदारलाई पहिरो पन्छाउन प्रयोग गरिएको उनले बताए ।। गण्डकी प्रदेशको बेनी–जोमसोम–कोरला सडक आयोजना गण्डकी प्रदेशकोे जीवनरेखा मानिएको छ । 

सडक विस्तारका क्रममा ठाउँठाउँमा पहिरोको त्रास छ । सडक अवरुद्ध भएमा तत्कालै खुलाउने गरी काम गर्न आयोजनालाई गाउँपालिकाले समन्वयसमेत गरेको छ । 
पाइप बगाउँदा खानेपानीको हाहाकार 

मंगला गाउँपालिका–५ अर्मनमा बाढीले पाइप बगाउँदा दुई बस्तीमा खानेपानीको हाहाकार मच्चिएको छ । सिरकुम–टिकावाङ सडक विस्तारका क्रममा क्रममा निस्किएको माटो सीधै खहरे खोलामा फाल्दा दिही–पुनगैरा खानेपानीको पाइप बगाएपछि करीब ३५ घरधुरीमा खानेपानीको समस्या भएको छ । 

सडक विस्तारका क्रममा मनपरी फालिएको माटाले पाइप बगाएपछि चार दिनदेखि खानेपानी आपूर्ति बन्द भएको स्थानीयवासी ताराबहादुर क्षेत्रीले बताए । “पटक पटक मर्मत गर्दा पनि बगाएको छ, धारामा पानी नआउँदा खोला र कुवाको पानी खानुपरेको छ”, उनले भने । पुनगैरामा १५ र दिही गाउँका २० घरधुरी प्रत्यक्ष प्रभावित भएका छन् । 

खानेपानीको पाइप बगाएपछि स्थानीयवासीले सफा पानीका लागि नयाँ मुहानको खोजी गर्नुपरेको स्थानीय बलबहादुर विकले बताए । “सडकले पानीको मुहानमै असर गरेको छ, बर्खाको समयमा धमिलो पानीको प्रयोग गर्न बाध्य छौँ” विकले भने । उनका अनुसार पटक पटक मर्मत गरिए पनि माथिल्लो क्षेत्रबाट आएको बाढीले पाइपमा क्षति पुगेको छ । 

हिउँदमा समेत मुहान सुक्दा समस्या भएकाले स्थानीयवासीले दीर्घकालीन योजनाको माग गरेका छन् । बाढीले पाइप बगाएपछि गाउँपालिकाले उपलब्ध गराएको २६५ मिटर पाइपसमेत बगाएको छ । 
दुई हजार घरधुरी जोखिममा 

कमजोर र भिरालो भूबनोट, छोटो समयमा हुने अधिक वर्षा र डोजरको प्रयोग गरी खनिएका मोटरबाटाका कारणले जिल्लामा दुई हजार १५० घरधुरी बाढीपहिराको जोखिममा रहेको तथ्यांक सार्वजनिक भएको छ । 


जिल्लामा प्रतिवर्ष ३७ लाख ४५ हजार ६९० घनमिटर मलिलो माटो बग्ने गरेका कारण शहर तथा ग्रामीण क्षेत्रमा ठूलो परिमाणमा भूक्षय र पहिरो जाने गरेको भूसंरक्षण कार्यालय म्याग्दीले जनाएको छ । 

जिल्लामा १८ भन्दा बढी ठूलो पहिरो र सयौँ मध्यम तथा साना पहिराले करीब ९०० र बाढीले एक हजार २५० घरधुरी जोखिममा परेको जिल्ला भूसंरक्षण कार्यालयले जनाएको छ । पहिराले एक हजार ३४।१ हेक्टर क्षेत्रफल ओगटेको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशका उपसचिव दिवाकर पौडेलका अनुसार जिल्लाका साविकका ४१ मध्ये ३७ गाविस बाढीपहिराको जोखिममा छन् । 

उहाँका अनुसार बेनी नगरपालिका तथा मंगला, मालिका, धौलागिरि, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका साना तथा ठूला बस्ती बढीपहिराको संवेदनशील क्षेत्रमा समावेश गरिएको छ । त्यस्तै कालीगण्डकी र म्याग्दी नदीको कटानले तटीय क्षेत्रका बस्ती जोखिममा छन् । जिल्लामा रहेका ठाडो तथा सहायक खोला राहुघाट खोला, घट्ठेखोला,फूलबारी रितुमखोल,घट्ठे खोलाको कटानले समेत जोखिम बढाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप