शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नुवाकोटको भैरवी मन्दिर जोखिममा

शुक्रबार, २९ असार २०७५, ०९ : ३१
शुक्रबार, २९ असार २०७५

त्रिशूली, नुवाकोट - अविरल वर्षाका कारण यहाँको प्रसिद्ध भैरवी मन्दिर र वरपरको बस्ती जोखिममा परेको छ । 

विदुर नगरपालिका–२, नुवाकोटस्थित पृथ्वीनारायण शाहकालीन भैरवी मन्दिर आसपासका क्षेत्रमा गए रातिको पानीले गएको पहिराको कारण सम्पदा र मानव बस्ती जोखिममा परेको हो । विदुर –२ धारापानी क्षेत्रमा बस्ती र नजिकै रहेको भैरवी मन्दिर र मन्दिरका पुजारी धामी हरिमानसिंह डंगोलको निवास क्षेत्रसमेत जोखिममा परेको नुवाकोट सम्पदा समाजका अध्यक्ष पुष्कर शर्मा रिमालले जानकारी दिए । 

विदुर–नुवाकोट–चोकदे सडकको स्तरोन्नतिका क्रममा सडकको भित्ता धेरै काटेर टेवा पर्खाल नलगाइएको कारण पहिरो गएर बस्ती र सम्पदा जोखिममा परेको हो । “मानव बस्ती अहिले नै जोखिममा परेको छ । यसलाई तत्काल नियन्त्रण नगरे नजीकै रहेको भैरवी मन्दिरसमेत पहिरोले बगाउने अवस्था आएको छ”, समाजका अध्यक्ष रिमालले भन्नुभयो, “सडक स्तरोन्नतिको क्रममा भित्ता कटिङ गर्दा सडकको भित्ता १०÷१२ मिटर अग्लो भएको छ तर टेवा पर्खाल भने दुई मिटर मात्र लगाइएको कारण पहिरो गएको हो ।” 

प्रहरीका अनुसार १४ घर पूर्णरुपमा जोखिममा परेको छ । प्रहरीले स्थलगत अध्ययनपछि जोखिममा परेकाहरुको विवरण सार्वजनिक गरेको हो । चौध घरलाई तत्काल सुरक्षित स्थानमा सार्ने तयारी थालिएको प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप