शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

थाइल्याण्डः गुफाभित्रको उद्धार अभियानसँग जोडिएका सात महत्वपूर्ण प्रश्न र जवाफ

शुक्रबार, २९ असार २०७५, ०९ : २०
शुक्रबार, २९ असार २०७५

बीबीसी

१८ दिपछि अन्ततः थाइल्याण्डको गुफाबाट १३ बालकसहित उनीहरुका प्रशिक्षकलाई सुरक्षित बाहिर निकालिएको छ ।

यो निकै खतरनाक र मुश्किल अभियानलाई थाइल्याण्ड र संसारका विभिन्न देशका गोताखोरको मद्दतले सफलतापूर्वक सम्पन्न गर्न सकिएको हो । थाइल्याण्डका स्वास्थ्य अधिकारीका अनुसार सबै बालकहरुको शारिरिक र मानसिक स्वास्थ्य ठिक छ ।

थाइल्याण्ड सरकारको जनसम्पर्क विभागले अस्पतालमा भर्ना भएका बच्चाहरुको केही तस्बिर जारी गरेको छ जसमा उनीहरु मास्क लगाइरहेको देखिएका छन् । हुन त स्थिती सामान्यमा फर्किसकेको छ तर विभिन्न महत्वपूर्ण प्रश्नहरुको जवाफ पाउन बाँकी नै छ ।

बीबीसी संवाददाता जोनाथन हेडले यस्ता विभिन्न प्रश्नको जवाफ दिने कोसिस गरेका छन् ।

१. बालकहरु गुफाको त्यति भित्र किन गए ?

यो प्र्रश्नको सही जवाफ हामीले बालकहरु वा उनीहरुका सहायक प्रशिक्षक एकापोलले आफैं भनेपछि मात्र थाहा पाउँछौ ।

बालकहरुका मुख्य प्रशिक्षक नोपराट कान्टावामंगका अनुसार शनिबार उनीहरुको एउटा म्याच थियो जुन पछि रद्द भएको थियो । म्याचको साटो उनीहरुको एउटा ट्रेनिङ सेसन हुने निश्चित भएको थियो ।

यी बालकहरुलाई साइकल चलाउन निकै मनपर्छ त्यसकारण प्रशिक्षक एकापोलले उनीहरुलाई साइकल चलाएर फुटबल मैदान पुग्न आग्रह गरे । यो कुराकानी एक फेसबुक च्याटमार्फत भएको थियो । कुराकानीमा गुफामा जाने बारे केही बताइएको थिएन ।

शनिबार राती यीमध्ये एक बालक (जसको नाम नाइट बताइएको छ) को जन्मदिन पनि थियो । एक स्थानीय पसलेका अनुसार बालकहरुले त्यसदिन जन्मदिन मनाउनका लागि करिब २२ डलरको खानेकुरा खरिद गरेका थिए ।  

अर्कातर्फ हेड कोच नोपराटका अनुसार सहायक प्रशिक्षक एकापोल बालकहरुका लागि निकै दयालु र समर्पित थिए । नोपराटलाई लाग्छ कि बालकहरुले नै उनलाई गुफामा जान मनाएका होलान् । यस गुफाबारे वरिपरिका बासिन्दालाई राम्रोसँग थाहा छ र बालकहरु पहिले नै त्यहाँ गइसकेका थिए ।

अहिले यो अनुमान गर्न सकिन्छ कि जब उनीहरु गुफामा छिरेका थिए तब सुख्खा थियो । जब वर्षा हुनथाल्यो र जलस्तर वृद्धि हुनथाल्यो तब उनीहरु गुफाको भित्रीभागतर्फ हिँडिरहे ।

२. बालकहरुलाई उनका आमा–बुवासँग किन भेट्न दिइएन ?

केही बालकहरुले आफ्ना आमाबुवालाई पक्कै देखेका छन् तर सिसा बाहिरबाट । अधिकारीहरुका अनुसार बालकहरुमा संक्रमणको आशंका छ र उनीहरु निकै कमजोर छन् । ठूलो चुनौतीको सामना गरेर उनीहरुको जीवन बचाइएको हो, त्यसकारण अधिकारी कुनै जोखिम लिन चाहँदैनन् ।

धेरैजसो बच्चाहरुका आमा–बुवा गरिब र प्रवासी समुदायका हुन् । त्यसकारण उनीहरु सरकारी अधिकारीको विरोध पनि गरिरहेका छैनन् ।

३. के प्रशिक्षकलाई कारवाही गरिनेछ ?

अहिलेका लागि यस्तो हुन मुश्किल छ । प्रशिक्षकले गुफाभित्र बाटै चिट्ठी लेखेर बच्चाका आमा–बुवासँग माफी मागेका थिए र अभिभावकले पनि उनलाई माफी दिइसकेको बताएका छन् ।

बालकहरुका आमा–बुवाले प्रशिक्षकले बालकहरुको मनोबल टुट्न नदिएको भन्दै आफूहरु उनीप्रति आभारी भएको बताएका छन् । प्रशिक्षकले बालकहरुलाई ध्यान गर्न सिकाए जसका कारण मुश्किल समयमा उनीहरुको हौसला कम भएन ।

हुनसक्छ प्रशिक्षकलाई केही समय टाढा गएर पश्चाताप गर्न भनिनेछ । थाइल्याण्डमा यस्तो प्रकारको सजायँ निकै प्रचलनमा छ । तर यहाँ ‘ब्लेम गेम’ अर्थात् दोस्रो व्यक्तिमाथि दोष थोपर्ने संस्कृति छैन ।

४. बालकहरुको यतिका दिनसम्म नखाँदा पनि तौल त्यति घटेन, कसरी ?

बालकहरु गुफाभित्र भएको कुरा ९ दिनपछि पत्ता लाग्यो । उनीहरुसँग निकै थोरै खाना भएको अनुमान गरिन्छ । यी सबैलाई फुटबल खेल्न निकै मनपर्छ र उनीहरु शारिरिक रुपमा निकै फिट छन् ।

हुनसक्छ उनीहरुको ‘खेल भावना’ ले उनीहरुलाई विषम परिस्थितीमा हिम्मत कायम गर्न सिकाएको हुनसक्छ । उनीहरुले गीत गाएर पनि एक–अर्काको मन बहलाएको हुनसक्छ ।

थाइल्याण्डको नौसेनाका अनुसार प्रशिक्षकले बालकहरुलाई ध्यान गर्न सिकाए । उनीहरुलाई आफ्नो खानासमेत दिए । साथै प्रशिक्षकले जमिनमा जम्मा भएको फोहोर पानीको साटो गुफाको चट्टानबाट चुहिएको पानी पिलाए ।

अन्तिम दिनहरुमा बालकहरुलाई हाई–प्रोटिन जेल र केही खानेकुरा दिइयो । यसकारण उनीहरुको तौल घट्न पाएन ।

५. के गुफाभित्र अँध्यारोमात्र थियो ?

हो, उनीहरु गुफाभित्र केही सस्ता टर्च लिएर गएका थिए जुन धेरै बेरसम्म टिकेन । त्यसकारण उनीहरुले गुफाभित्र लगभग सबै समय अँध्यारोमा नै बिताएका हुनसक्छन् ।

जब गुफाभित्र एक डाक्टर र तीन नौसेना टिकाउ टर्च लिएर पुगे तब ९ दिनपछि उनीहरुले केही प्रकाश देखे ।

यसै कारण उनीहरुलाई बाहिर निकालेपछि सनग्लास लगाउन दिइयो । किनभने यतिधेरै दिनसम्म अँध्यारोमा बसेपछि अचानक उज्यालोमा आउँदा आँखालाई क्षती पुग्न सक्छ ।

६. उद्धारकार्यको खर्च कसले व्यवहोर्यो ?

उद्धारकार्यको धेरैजसो खर्च थाइल्याण्ड सरकारले उठायो । थाइल्याण्डका विभिन्न व्यवसायीले पनि यसमा मद्दत गरे । थाई एयरवेज र बैंकक एयरवेजले विदेशी गोताखोरको आउनका लागि निःशुल्क फ्लाइटको अफर दियो ।

यो अभियानमा संलग्न अन्य देशले पनि खर्च व्यवहोरे । उदाहरणका लागि अमेरिकी एयरफोर्सका ३० जवान यो अभियानमा संलग्न थिए । उनीहरुको खर्च अमेरिकी सरकारले आफैं उठायो ।

७. के थाइल्याण्डले यो एक्लै गर्न सक्थ्यो ?

पक्कै सक्दैनथ्यो । संसारका निकै कम देशले मात्र यस्तो अभियान एक्लै गर्ने क्षमता राख्छन् । गुफाभित्रको यस्तो अभियान एउटा स्पेशलाइज्ड स्किल हो । यतिमात्र होइन यो स्किलमा विशेषज्ञको निकै कमी छ ।

यो अभियानमा अनुभवी ‘केभ डाइभर’ वेर्न अनस्वर्थको संलग्न रह्यो जसका कारण अभियान सफल भयो ।

बालकहरु गायब भएपछि उनी नै गुफाभित्र गएको र उनले सरकारलाई अभियानका लागि विदेशी विशेषज्ञ बोलाउनु पर्ने सल्लाह दिए ।

थाइ नौसेनाका डाइवर्सको सुरुवाती अवस्थामा ठूलै समस्याको सामना गर्नुपर्यो किनभने उनीहरु कम अनुभवी थिए र उनीहरुसँग उपकरणको पनि कमी थियो  । तर जब विदेशी गोताखोर आउन थाले तब उनीहरुले पानीको बढ्दो स्तरमा पनि पूरा अभियानलाई सफलतापूर्वक सम्पन्न गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप