केन्द्रीय संस्करण

सुरक्षा कोष र दुरसञ्चार कोषका अध्यक्षलाई अवकाश दिने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

person access_timeअसार २८, २०७५ chat_bubble_outline0

काठमाडौं– सर्वोच्च अदालतले निक्षेपकर्ता सुरक्षा कोषका कार्यकारी अध्यक्ष विष्णुबाबु मिश्र र नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झालाई अवकाश दिने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ ।  सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीको बिहिबार बसेको एकल ईजलासले मिश्र र झालाई अवकाश दिने नेपाल सरकारको मन्त्रिपरिषद बैठकको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो । 

मिश्रलाई अवकाश दिने निर्णय खारेज गर्न माग गर्दै दायर गरिएको रिटमा अन्तरिम आदेश दिने÷नदिने विषयमा सुनुवाई गर्न यही श्रावण २ गते र झाको रिटमा अन्तरिम आदेश दिने÷नदिने विषयमा सुनुवाई गर्न श्रावण ३ गतेको समय पनि आदेशमा तोकिएको सर्वोच्च अदालतका सहायक प्रवक्ता नगेन्द्रकुमार कालाखेतीले जानकारी दिए ।

त्यसैगरी सर्वोच्च अदालतले उच्च अदालतका न्यायाधिश नियुक्ति खारेज गर्न परेको रिटको सुनुवाई संवैधानिक इजलासबाट गर्ने ठहर पनि गरेको छ । न्यायाधीशत्रय ओमप्रकाश मिश्र, बमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको बिहिबार बसेको पूर्ण इजलासले सो सम्बन्धि नियुक्त खारेज गर्न दायर गरिएको रिटमा गम्भीर संवैधानिक व्याख्या जरुरी भएकाले संवैधानिक इजलासबाट सुनुवाई गर्ने ठहर गरेको हो ।

यसैबीच, सर्वोच्चमा घरेलु तथा साना उद्योग विकास समितिका कार्यकारी अध्यक्ष नविनकुमार झा, अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका निर्देशक नरेन्द्रराज बस्नेतले पनि विहिबार आफूलाई अवकाश दिने नेपाल सरकारको निर्णय खारेज गर्न माग गर्दै रिट दायर गरेका छन् । नेपाल सरकारको गत असार २० गते बसेको मन्त्रिपरिषद बैठकले अघिल्लो सरकारले गत भदौ १४ गतेयता गरेका सबै राजनीतिक नियुक्त खारेज गर्ने निर्णय गरेको थियो ।

 

 

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ