बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

गोरखा फुजेलका  छबिलाल पौडेलेको गिरफ्तारीबारे बोले प्रचण्ड

बिहीबार, २८ असार २०७५, १८ : ४१
बिहीबार, २८ असार २०७५

चितवन– नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले गोरखाको फुजेल घटनामा अदालतले गर्ने निर्णयको सम्मान गर्ने बताएका छन् ।  आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले समाजमा सकारात्मक वातावरण बनाउनका निम्ति समझदारी र जिम्मेवारीका साथ छविलाल पौडेल अहिले कारागारमा रहेको बताए । 

मुद्दाको अर्को पक्षले के गर्छ भन्ने उनीहरुकै कुरा भएको भन्दै उनले भने, ‘योभन्दा बढी टिप्पणी गर्नु अहिले उचित ठान्दिनँ ।’  गोरखा फुजेलका पौडेललाई नन्दप्रसाद अधिकारी र गंगामाया अधिकारीका छोरा कृष्णप्रसाद अधिकारीको हत्या गरेको आरोपमा केही दिनअघि जेल चलान गरिएको थियो । सर्वोच्च अदालतको निर्देशनमा राजधानीको डिल्लीबजारस्थित जेल चलान गरिएका उनको परिवारले भने अधिकारीको हत्यामा छबिलालको कुनै हात नरहेको दाबी गर्दै आएको छ । 

फरक प्रसंगमा उनले प्रदेशका राजधानी तोकिसकिएका ठाउँ नबदल्ने हो कि भन्ने तर्क आएको बताउँदै भने, ‘एक ठाउँमा प्रदेश राजधानी बदल्दा चारैतिर हावा चल्ने हो कि भन्ने चिन्ता राजनीतिक नेतृत्वमा देखापरेको छ ।’ प्रदेशको राजधानी तोक्ने जिम्मेवारी प्रदेशलाई नै भएको बताउँदै उनले प्रदेश नं ३ को राजधानीका विषयमा पार्टीले कुनै धारणा नबनाएको बताए । 

अर्को एक प्रसंगमा उनले डा.गोविन्द केसीको सम्बन्धमा चिकित्सक संघसँग छलफल भएको भन्दै डा.केसीलाई काठमाडौँमा ल्याएर उपचार गर्ने र वार्ता गर्ने विषयमा अविलम्ब पहल गर्न आफूले सुझाव दिएर आएको बताए ।  केसीका हुबहु माग सम्बोधन हुन नसक्ने भन्दै उनले अन्तिम फैसला गर्ने अधिकार संसद्लाई भएको बताए । केही दिन अघिदेखि डा. केसी चिकित्सा क्षेत्रको सुधारको माग राख्दै जुम्लामा अनसनरत रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप