शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बिरुवा मरे सय रुपैयाँ जरिवाना

बिहीबार, २८ असार २०७५, १५ : २१
बिहीबार, २८ असार २०७५

तुलसीपुर– तुलसीपुर उपमहानगरपालिकाअन्तर्गत कृषि विकास शाखा कार्यालयले यस महिनाको हालसम्ममा किसानलाई विभिन्न प्रजातिका १३ हजार ६०३ फलफूलका बिरुवा निःशुल्क रुपमा वितरण गरेको छ । 

कृषि विकास शाखा कार्यालय तुलसीपुरका प्रमुख तिलक केसीका अनुसार नगरपालिकाका १९ वडाका किसानलाई बिरुवा वितरण गरेको हो । 

अझै ११ हजार बिरुवा वितरणका लागि तयारी अवस्थामा छ । कार्यालयले किसानलाई लक्ष्य गरी बीस हेक्टर जमीनमा फलफूलका बिरुवा उत्पादन गरेको थियो । आफूले उत्पादन गरेका बिरुवा अपुग भएपछि कार्यालयले कृषि अनुसन्धान केन्द्र धनकुटा, सल्यान लगायतका जिल्लाबाट ल्याई वितरण गरिरहेको केसीले बताए । 

वडा कार्यालयबाट सिफारिश लिएर आउने किसानलाई प्रतिकिसान २५ वटा बिरुवाका दरले निःशुल्क रुपमा वितरण गरिँदै आएको छ । 

‘बिरुवा लगेर जोगाउनेलाई प्रतिबिरुवा रु एक सय दिएर प्रोत्साहन गर्छौं । यहाँबाट लगेको बिरुवा मरेमा प्रतिबिरुवा रु एक सयका दरले किसानलाई जरिवाना तिर्न लगाउँछौँ,’ उनले भने । 

वितरण गरिएका बिरुवामा सबैभन्दा बढी कागती, लिची, कटहर, अमला, लिची, अनार र अम्बा रहेका छन् । केराको बिरुवा ५० प्रतिशत अनुदानमा किसानलाई उपलब्ध गराउने कार्यालयले जनाएको छ । 

तुलसीपुर उपमहानगरपालिकाले नगर क्षेत्रमा फलफूल बगैँचा निर्माण गर्ने नीति नगरसभाबाट पारित गरेको छ । सोही सभाबाट बिरुवा जोगाउनेलाई प्रोत्साहन तथा बिरुवा मरेमा कारबाही गर्ने नीति पारित गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप