शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीले चीनलाई हस्तान्तरण गरे दुई गैंडा

बिहीबार, २८ असार २०७५, १३ : ५९
बिहीबार, २८ असार २०७५

काठमाडौं– सरकारले चीनलाई उपहार दिन लागेको दुर्लभ एक सिंगे गैंडाको जोडी बिहिबार हस्तान्तरण गरेको छ ।  प्रधानमन्त्री केपी ओलीले चिनियाँ राजदूत यू होङलाई राष्ट्रिय प्रकृति संरक्षण कोषमा एक समारोह आयोजना गरी एक जोडी गैंडा ‘भद्र्र’ र ‘रुपसी’ हस्तान्तरण गरेका हुन् । 

ओली नेतृत्वकै अघिल्लो सरकारले दुई वर्षअघि चीन सरकारलाई दुर्लभ एक सिंगे दुई जोडी गैंडा चीन सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार प्रधानमन्त्री ओलीले चिनियाँ राजदूत यूमार्फत् चीन सरकारलाई एक सिंगे गैंडा बिहिबार हस्तान्तरण गरेका हुन् । त्यसअवसरमा प्रधानमन्त्री ओलीले गैंडा हस्तान्तरण कार्यक्रमले पनि दुई देशबीचको मित्रतापूर्ण सम्बन्धमा अझै सुधार आउने विश्वास व्यक्त गरे । उनले दुवै गैंडाको चीन सरकारले उचित हेरचाह गर्ने विश्वास पनि व्यक्त गरेका छन् ।

गैंडाको रेखदेखबारे जानकारी दिन सरकारले चिनियाँ अधिकारीहरुलाई चितवन राष्ट्रिय निकुञ्जमै लगेर प्रशिक्षण दिएको थियो । बुधबार काठमाडौं ल्याइएको सो गैंडालाई चीनले विमानमा राखेर लैजानेछ । सरकारले अर्को एक जोडी गैंडा पनि छिट्टै चीन सरकारलाई हस्तान्तरण गर्नेछ । प्रधानमन्त्री ओलीले स्वास्थ्य परीक्षणसहित चीन सरकारलाई हस्तान्तरण गरिएको गैंडाको सु–स्वास्थ्यको पनि कामना गरे ।

नेपालले हालसम्म भारत, अमेरिका, जापान, थाईल्याण्ड, अष्ट्रियालगायत मुलुकलाई २६ वटा गैंडा उपहार दिइसकेको छ । विश्वमै दूर्लभ मानिने एक सिंगे गैंडा नेपालमा मात्रै पाईन्छ । नेपालमा हाल ६ सय ४५ वटा गैंडा रहेका छन । तीमध्ये ६ सय ५ वटा गंैडा चितवन राष्ट्रिय निकुञ्जमा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप